अविश्वास प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ छैनः सभामुख

डिसी नेपाल
१७ पुष २०७७ २२:०६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

यही पुस ५ गते ९० जना सांसदले सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उनले थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको उल्लेख गरेका छन् ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी प्रेस नोटमा भनिएको छ, “सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।”

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *