समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

डिसी नेपाल
१८ पुष २०७७ १०:४९

काठमाडाैं । विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ।

केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो। सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जाँदा तनाव बढेकाले समाजलाई आध्यात्मिकरुपमा डोर्‍याउन केन्द्रले नेतृत्वदायी भूमिका खेल्ने बताए।

व्यक्ति व्यक्तिका तनावले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने गरेकाले व्यक्तिलाई सकारात्मक बनाउन आध्यात्मिक शिक्षा, योग, ध्यानजस्ता गतिविधिलाई अघि बढाइनुपर्नेमा उनले जोड दिए। केन्द्रका अध्यक्ष ज्योत्स्ना राज्यलक्ष्मी थापाले समाजलाई आध्यात्मिकरुपमा डोर्‍याउन शिक्षा दिने उद्देश्यले धर्म, संस्कृति, अध्यात्मलगायत सकारात्मक भाव बोकेका पुस्तक राखेर पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिए। पुस्तकालयसँगै योग अभ्यास, प्राणायाम, ध्यान, भक्ति सङ्गीत लगायत गतिविधि गर्ने गरी साधारणसभाले नीति पारित गरेको पनि उनले बताए।

पुस्तकालय स्थापनाका लागि केन्द्रले आध्यात्मिकलगायत सकारात्मक सन्देश दिने पुस्तक सङ्कलनसमेत शुरु गरेको छ। २२ जना आजीवन सदस्य रहेको केन्द्रको उद्देश्य मन पर्नेका लागि आजीवन एवं साधारण सदस्यता खुला गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।

विसं २०३७ मा भारतस्थित ऋषिकेशका प्रसिद्ध आध्यात्मिक गुरु शिवानन्दले हाल केन्द्रीय कार्यालय रहेको स्थलमा नेपालेश्वर मन्दिर स्थापना गराउनुभएको थियो । मन्दिर स्थापना गराउन केन्द्रकी संस्थापक अध्यक्ष स्व भेष राज्यलक्ष्मी सिंहले शुरुमा १० आना जग्गा दान दिएका थिए। विसं २०३७ देखि नै नेपालेश्वरसहित राधाकृष्ण, हनुमानलगायत भगवानकाे मन्दिरमा पुजारी राखी नित्य पूजा आराधनासमेत हुँदै आएको छ।

विसं २०६८ मा संस्थापक अध्यक्ष सिंहले थप एक रोपनी जग्गा र त्यसमा बनेको साढे दुई तले घरसमेत केन्द्रका नाममा दान गर्नुभएको थियो । दाता सिंहले यहाँबाट आध्यात्मिक गतिविधि गरी समाजलाई अध्यात्म मार्गमा डोर्‍याउने उद्देश्यले घरजग्गा दान गर्नुभएकाले त्यसअनुरुपका गतिविधि गर्न लागिएको केन्द्रका सचिव फणिराज सिलवालले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *