झापाका कृषकले पाए एग्री सेन्टरद्वारा परिचयपत्र

डिसी नेपाल
२० पुष २०७७ ९:०१

झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ। झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो। किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो।

किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताए। उनका अनुसार सेन्टरले परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकता, नेपालमै स्थायी बसोवास, कृषिमा आत्मनिर्भर हुँदै आएको, घरमा विद्युतीय मिटर जडान गरेको, जग्गाको परिचय खुल्ने विवरण र फौजदारी अभियोग नलागेका व्यक्ति हुनुपर्ने मापदण्ड बनाएको छ।

सोहीअनुरूप तीन दिन अघिदेखि वितरण शुरु गरेको सेन्टरले सबै मापदण्ड पुगेका सोही गाउँपालिका २५ किसानलाई परिचयपत्र वितरण गरिसकेको उनले बताए। परिचयपत्र वितरणपछि टोकन प्रणाली लागू गर्ने र किसानले खरिद गरेको मल, बीउ, कृषि औजारलगायतमा मूल्य र परिमाणका आधारमा १० प्रतिशतसम्म छुट दिने उनको भनाइ छ। “हामी परिचयपत्र पाएका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु आफैँ खरिद गरिदिन्छौँ”, उनले भने, “यसले किसानले पाउनुपर्ने सही मूल्य पाउँछन् । विचौलिया हावी हुन पाउँदैनन्।”

उनले किसानको वर्गीकरण नगरी परिचयपत्र वितरण गरेको बताउँदै यसले सरकारले परिकल्पना गरेको समृद्ध नेपाललाई विशेष सहयोग पुग्ने बताए। यस पालिकाबाट शुरु गरेको अभियानलाई चाँडै पन्ध्रै पालिकासँग समन्वय गरेर जिल्लाभरिका किसानलाई परिचयपत्र वितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *