प्रतिनिधिसभा विघटन विरूद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

डिसी नेपाल
२५ पुष २०७७ ७:०२
56
Shares

काठमाडौं। संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जानेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदै छन्।

यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन्। क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन्।

यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सो क्षेत्रको प्रदेश ‘ख’ को सभामा नेतृ डा. डिला संग्रौलाले सम्बोधन गर्नेछिन्।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *