जी न्यूजसँग प्रधानमन्त्रीको अन्तर्वार्ताः नेपाल भारतको सानो भाइ होइन

डिसी नेपाल
२७ पुष २०७७ २२:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइ नभएको बताएका छन्। उनले सानो र ठूलोको सोचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका लागि दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाइ होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो, ठूलोको मानसिकता त्याग्ने हो भने समस्या हुँदैन। व्यक्तिगत रुपमा मोदी दाइ हुन। होलान्, उमेरका हिसाबले। तर जब दुई प्रधानमन्त्री बस्छन् त्यहाँ कोही सानो ठूलो हुँदैन। संसारमा कैयौं कान्छा मान्छे पनि प्रधानमन्त्री छन् राष्ट्रपति छन्। कति त मैले राजनीति शुरु गर्दा जन्मेकै थिएनन् होला।’

भारत र चीनको आपसी सम्बन्धमा नेपालको भूमिकाबारे सोधिएको प्रश्नमा प्रधानन्त्री ओलीले दुबै छिमेकीसँग नेपालले तथस्टताका साथ सन्तुलित सम्बन्ध कायम राख्ने र राखिरहेको बताए। उनले भने, ‘छिमेकी परिवर्तन गर्न सकिँदैन। भारत र चीन दुबै आकार र जनसंख्यामा ठूला छन्। असन्तुलनलाई मेटाउनु पर्छ। राजनीतिक रुपमा पनि केही भिन्नता छन्। दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं । नेपालले कुनै कार्ड खेल्दैन। कार्ड खेल्ने र छक्काउने कुरा छोड्नुपर्छ।’

चीन र भारतबीच गलवान उपत्यकामा भएको भीडन्तमा नेपालले भारतको समर्थन नगरेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले चलाखीसँग उत्तर दिए। प्रश्नमा प्रधानमन्त्री ओलीलाई चीनले उकासेको आशयको प्रश्न गरिएको थियो।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘गलवानमा चीन र भारतबीच भएको  भीडन्तकाे विषयमा नेपालको कुनै लेनादेना छैन। चीन र भारतबीचको सम्झौतामा नेपालको भूमि राखियो। नेपालले विरोध गर्यो, भारतले नक्सा प्रकाशित गरेर नेपाली भूमि समावेस गर्यो, हामीले विरोध गरौं। फेरि नेपाली भूमिमा सडक उद्घाटन गरियो, हामीले विरोध गर्यौं। भारतले जतिबेला हाम्रो भूमिलाई आफ्नो नक्सामा राख्यो त्यसपछि हामीले हाम्रो नक्सा संसदबाट अनुमोदन गर्यौं। त्यति नै बेला गलावनमा भएको भिडन्तसँग हाम्रो के सम्बन्ध ?’

प्रधानमन्त्री ओलीले नेपालले दुबै छिमेकीसँग सौहार्द सम्बन्ध कायम गरिरहेको भन्दै कुनै पनि छिमेकीको पक्ष नलाग्ने बताए। उनले भने, ‘कसैको पक्ष लिने हाम्रो राजनीति होइन, हाम्रो तथस्ट रहने राजनीति हो। भारत र चीनबीच वार्ता भएन भने वार्ताका लागि पहल गर्न सक्छौं। दुबै मित्रबीच वार्ता गराउन पहल हुनसक्छ।’ प्रधानमन्त्री ओली थपे, ‘मोदी र शी चिनफिङसँग कुरा गर्न सकिन्छ। हामी तीनैजना असल मित्र हौं।’

‘उमेर पनि उस्तै उस्तै छ। चीन र भारतप्रति कुनै पक्षतापूर्ण व्यवहार छैन। छ भन्ने लागेको छ भने त्यो गलत बुझाई हो। दुबैसँग हाम्रो सौहार्द सम्बन्ध छ। चीन र भारतबीच हुने विवादले नेपालमा पनि नरात्मक असर पर्छ। यो समय एशियाको हो। यहाँको स्रोत लुट्न दिने होइन, उपयोग गर्ने हो। त्यसैले आपसी मित्रता हुनपर्छ। सबै मिलेपछि विकास गर्न सकिन्छ। त्यसैले आफ्नो देशमामात्र होइन, छिमेकमा पनि शान्ति हुनुपर्छ । अनिमात्र विकास सम्भव छ।’

प्रधानमन्त्री ओलीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरे। उनले भने, ‘कमजोर भए पनि सबैभन्दा ठूलो पार्टी बन्छ। चुनावपछि नेपाल र भारतबीच सम्बन्ध अझ राम्रो हुनेछ। हामी चाहन्छौं छिमेकीबीच राम्रो सम्बन्ध होस। मित्रका नाममा खतरनाख मित्र साथमा रहे राम्रो निन्द्रा आउँदैन। नेपाल तथस्ट मुलुक हो। त्यसैले कसैको पनि पक्ष लिँदैन। सन्तुलित सम्बन्ध राख्छ। कुनै पनि छिमेकी मुलुकविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं। हामी चाहन्छौं हाम्रा छिमेकी आरामसँग आ आफ्नो विकासमा लागुन। एशियाबाट मानव सभ्याताको विकास भएको हो। हाम्रो दुबै महान छिमेकीको आ आफ्नै महत्वपूर्ण स्थान छ।’

र प्रधानमन्त्री ओलीले यो अन्तर्वार्तामा नेपालको बलियो अडान राखेका छन्। उनले भारत कहिल्यै पनि इतिहासमा एकजुट देश नरहेको उल्लेख गर्दै भारतको ऐतिहासिक तथ्यसमेत उजागार गरिदिएका छन्। अन्तर्वातामा चौधरीले निकै शान्तरुपमा प्रश्न सोधेका थिए भने प्रधानमन्त्रीले प्रसंगहरुमा हाँसेरसमेत जवाफ दिएका थिए। चौधरीले नेपाल र चीनबीचको घनिष्ठतालाई लिएर भारतीय आशंकाबारे पनि प्रश्न गरेका थिए। तर, प्रधानमन्त्री ओलीले जवाफमा नेपाल तथस्ट र सन्तुलित छिमेकी हुने बारम्बार दोहोर्याए। भारतले चीनलाई विस्तारवादीका दृष्टिले हेरेको भन्दै चौधरीले नेपालले कसरी हेर्छ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले भारतीय नजरियाबाट नेपालले चीनलाई नहेर्नेसमेत स्पष्ट पारेका थिए।

जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्।  प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ।

चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिकवि भानुक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतमा नभई नेपालमा भएको बताएपछि त्यसलाई पनि चौधरीले प्रधानमन्त्री ओली चीनको इसारामा चलेको बताएका थिए। चौधरीको त्यतिबेला नेपालमा निकै आलोचना भएपछि उनले माफीसमेत मागेका थिए।

केही दिन आगाडि काठमाडौं आएर चौधरीले अन्तर्वार्ता रेकर्ड गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *