अमेरिकाले ‘भिसा बन्ड’ नियमलाई बनायो स्थायी: नेपालसहित ५० देशका नागरिकले बुझाउनुपर्नेछ २० हजार डलरसम्म धरौटी

डिसी नेपाल
१६ साउन २०८३ १७:२०

काठमाडाैं।अमेरिकाले ‘टुरिस्ट’ तथा ‘बिजनेस’ भिसामा जाने विदेशी नागरिकका लागि ‘भिसा बन्ड’ अर्थात् धरौटी बुझाउनुपर्ने व्यवस्थालाई स्थायी बनाउँदै धरौटी रकमको माथिल्लो सीमा बढाएर २० हजार अमेरिकी डलर पुर्‍याएको छ।

फेडरल रजिस्ट्रारमा प्रकाशित पछिल्लो सूचना अनुसार यो नयाँ नियम आउँदो सोमबारदेखि नै पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। अमेरिकाले धरौटी बुझाउनुपर्ने ५० देशको सूचीमा नेपाललाई पनि यथावत् राखेको छ।

यसअघि सन् २०२५ मा परीक्षणका रूपमा १५ हजार डलरसम्म धरौटी बुझाउनुपर्ने नियम ल्याइएकोमा सन् २०२६ को ज्यानुअरी २१ मा नेपाललाई पनि यो सूचीमा थपिएको थियो। परीक्षण अवधिमा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने प्रवृत्तिमा व्यापक कमी आएको र भिसा जारी हुने दर ८३ प्रतिशतले घटेको दाबी गर्दै अमेरिकाले यो नियमलाई स्थायी बनाएको हो।

नयाँ स्थायी व्यवस्थामा यसअघि कायम रहेको ५ हजार डलरको न्यूनतम धरौटीको प्रावधान हटाइएको छ।

छुट नपाएका आवेदकहरूले अब कन्सुलर अधिकारीको मूल्याङ्कनका आधारमा १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलर धरौटी बुझाउनुपर्नेछ। अमेरिकी सरकारले यसलाई विदेशी राष्ट्रहरूलाई आफ्ना आप्रवासन नियम पालना गराउने र सुरक्षा जोखिम कम गर्ने कूटनीतिक औजारको रूपमा व्याख्या गरेको छ।

नेपालले यसअघि नै अमेरिकालाई पत्र पठाएर ‘भिसा बन्ड’ बुझाउनुपर्ने देशको सूचीबाट हटाउन औपचारिक आग्रह गरिसकेको भए पनि नेपाल अझै सूचीमै कायम छ।

क्युबा र भेनेजुएला जस्ता देशहरूसँगै दक्षिण एसियाबाट नेपाल, बाङ्ग्लादेश र भुटानलाई यो सूचीमा राखिनुले कूटनीतिक वृत्तमा चिन्ता बढाएको छ। यद्यपि, कुनै देशले मापदण्ड पूरा गरेमा जुनसुकै बेला सूचीबाट हटाउन सकिने लचिलो व्यवस्था भने अमेरिकी सूचनामा कायम राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *