चितवनका कांग्रेस नेता तिमिल्सिनाकाे काेराेनाकाे संक्रमणबाट मृत्यु

डिसी नेपाल
२८ पुष २०७७ १०:२१

काठमाडाैं । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो।

विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो। उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए।

सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील थिए। उनी रेडियो देवघाटको अध्यक्ष समेत हुन्। नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उनी सङ्लग्न थिए। उनका दुई छोरा र दुई छोरी छन्।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए। उनको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *