संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपातः सुजाता कोइराला

डिसी नेपाल
२९ पुष २०७७ १५:०५

काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने दाबी गरेकी छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो। असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत बताइन्।

उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन्। ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’

संसद पुनःस्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औंल्याइन्। देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ती जनाइन्। उनले भनिन्,‘ चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस्।’

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा औंल्याइन्। उनले भनिन्, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् । सविधान पुनःस्थापना विना चुनाव हुननसक्ने र भएमा पनि रक्तपात हुने बताइन् ।

३० वर्ष देखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्,‘ ३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस्।’

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने बताइन् । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने बताइन् । उनले भनिन्,‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’

सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको आरोप लगाइन् । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटामा पु-याएको कोइरालाको आरोप थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *