निर्वाचन आयोगमा नेकपाका दुबै समूहको जवाफ, पार्टी विभाजन नभएको ओली समूहको दावी

डिसी नेपाल
२९ पुष २०७७ १७:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले निर्वाचन आयोगलाई जवाफ पत्र पठाएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको भन्दै निर्वाचन आयोगलाई जवाफ पत्र पठाएका छन्। प्रचण्ड–माधव समूहको पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष र माधवकुमार नेपाल वरिष्ठ नेता कायमै रहेको भन्दै इतर पक्षले अनुशासनको कारवाही गरेको वैधानिकता नरहेको आयोगलाई बताएका छन् ।

पार्टीको महाधिवेशन २०७८ मंसिरमा तय भइसकेको र प्रथम अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेका निर्णयनै वैधानिक हुने जिकिर गर्दै अर्को पक्ष बैठकमा नआएको बताएका छन् ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनुभएको छ । दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छ’, पत्रमा उल्लेख गरिएको छ।

पार्टीमा जहिले पनि प्रथम अध्यक्ष नै कार्यकारी हुने तथ्य निर्विवाद रहेको भन्दै दुवै जनाले अध्यक्षता गर्ने गरि कार्यकारी अध्यक्ष भन्ने पदावली सिर्जना गरिएको पत्रमा उल्लेख छ।

पत्रमा एकता महाधिवेशन नभई एउटा अध्यक्षले अर्को अध्यक्षलाई निश्कासन गर्न नसक्ने जिकिर गरिएको छ । पार्टीको एकता महाधिवेशन नभएसम्म एकीकरण प्रक्रिया पूरा भएको मान्न नमिल्ने पनि पत्रमा उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘यसरी एकीकरण प्रक्रिया नसकिदै अर्थात एकता महाधिवेशनबाट नयाँ नेतृत्वको छनौट नभई कुनै पनि अध्यक्षलाई निश्कासन गर्ने प्रश्न आउदैन। यस्तो हास्यास्पद कुरा आयोगमा अभिलेखिकरण हुन सक्दैन ।’

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए।

आयोगले त्यसमा राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको थियो ।

ओली समूहको पत्र(पूर्णपाठ)

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *