स्माइल जेरूसलेम – Dcnepal

स्माइल जेरूसलेम

म पहिलोपल्ट कराँची सहरमा आइपुगेको छु । रातको बाह्र बजे पनि सहर सुतेको छैन । होटलको पन्ध्रौँ तलाबाट हेर्दा बिजुली बत्तीको महासागर देखिन्छ । टेलिभिजन हेर्न मन लागेन । भोलि बिहान आठ बजे यहाँबाट सत्ताइस किलोमिटर टाढा सम्मेलन भवनमा पुग्नुछ । पटक्कै निद्रा छैन आँखामा । केही बेर पढेँ । एक बजेतिर बत्ती निभाएर सुतेँ ।

झट्ट सम्झना आयो सराहको । ऊ राष्ट्रसंघको कर्मचारी भएर यही सहरमा आइपुगेको कुरा तीन महिनाअघि चिठीमा लेखेकी थिई । काठमाडौँमा उसले भनेकी थिई– ‘कुनै दिन फेरि भेट होला । धीत मरूञ्जेल कुराकानी गरौँला ।’

अर्को दिन बिहानै सम्मेलन सुरू भएकाले त्यसमै व्यस्त रहनुप¥यो । सहरको मध्य भागमा विदेशी नियोग र राष्ट्रसंघीय कार्यालय रहेको कुरा एकजना पत्रकारबाट जानकारी पाएपछि साँझपख मैले सराहलाई फोन गरेँ ।

‘हलो, स्माइल जेरूसलेम हो ?’ उसले मेरो आवाज प्रस्ट चिनी । काठमाडौँमा म उसलाई ‘स्माइल जेरूसलेम’ भनेर बोलाउँथेँ ।

टाढैबाट बोलाउने उसको पुरानो बानी छुटेको रहेनछ । होटलको स्वीमिङ पुल छेउको कफिसपमा बसेर हामीले सम्झनाका पानाहरू पल्टायौँ ।

सराहका बुबा काठमाडौँस्थित इजरायली दूतावासमा कूटनीतिज्ञ छँदा उसले पहिलोपल्ट नेपाल भ्रमण गरेकी थिई । त्यसैले नेपाल र नेपालीबारे ऊ राम्रो जानकारी राख्ने गर्छे । इजरायललाई मान्यता दिने पहिलो दक्षिण एशियाली देश नेपाल नै हो र सन् १९६१ मा तेल अबिबमा पहिलोपल्ट नेपाली राजदूतावास खुलेको कुरा उसले मलाई बताएकी थिई ।

‘कस्तो छ हालखबर ?’ सराहले सोधी ।

‘सबै राम्रो छ । दुई दिन भयो तिमीलाई खोजेको… ।’ मैले प्रत्युत्तर दिएँ ।

‘गफ दियौ तिमीले । मेरो अफिसमा फोन गरेको भए एयरपोर्टमै लिन आउने थिएँ ।’ उसले भनी ।

‘ढिलै भए पनि भेट भयो । म तीन–चार दिन बस्छु ।’ मैले भनें ।

‘आइतबार मेरो बिदा छ । बिहानैदेखि म तिमीलाई सहर घुमाउँछु । तिमीले मलाई नेपालका चार पाँच ठाउँ घुमाएका थियौ । हेर, त्यति धेरै त नसकुँला तर प्रयास गर्छु ।’ उनले भनी ।

‘कहाँ छन् तिम्रा साथीहरू ?’ मैले सोधें । ‘को साथी ?’ उनले प्रश्न गरी ।

‘उही कया त नाओमी, पउला, सुसाना… ।’ मैले सम्झाएँ ।

‘हेर बदमास, मेरा राम्रा राम्रा साथीहरूको नाम अझै कण्ठ रहेछ । कस्तो मान्छे… ।’ ऊ हाँसी ।

‘नाओमीले हिब्रु विश्वविद्यालयमा धर्मशास्त्र पढाउँछे । पउलाले बाबुको ट्राभल एजेन्सी सम्हालेकी छ । सुसानाले दुःख पाएकी छ । लोग्नेसँग सम्बन्धविच्छेद गरी । बूढीआमा र दुइवटी छोरी पालेर बसेकी छ । बिचरी… ।’ उसले विस्मय मान्दै भनी ।

‘किन, के भयो त्यस्तो ?’ मैले सोधें । ‘के हुनु नि, लोग्नेमान्छेको जातै रद्दी… । घाम देख्यो घामै राम्रो जून देख्यो जून । सुसानाको लोग्ने सेनामा क्याप्टेन थियो । तेल अबिबमा एउटा जर्नेलकी छोरीसँग बिहे गरेर उतै घरज्वाइँ बस्यो ।’ उसले कथा सुनाई ।

‘तिम्रो मामाघर पनि तेल अबिब नै होइन ?’ मैले सोधेँ ।

‘आठ वर्ष पहिले मैले भनेको सबै कुरा सम्झिराखेका छौ ? तिम्रो स्मरणशक्ति पनि गजबकै रहेछ ।’ उसले भनी ।

‘काठमाडौँबाट जेरूसलेम पुगेपछि मैले तिमीलाई सम्झेर एउटा कविता लेखेकी थिएँ । अहिले पनि सम्झना छ मलाई ।’ सराहले पुराना दिनहरूको सम्झना गर्दै भनी ।

‘विमानमा उड्दा म ममीपापाको आँखा छलेर रोएँ । तिमीलाई छोडेर फर्किनुपर्दा धेरै नरमाइलो लागिरहेको थियो । तेल अबिबको बेन येहुदा स्ट्रिटमा रहेको तिमीहरूको दूतावासमा नेपाली झन्डा देख्दा पनि तिमीलाई सम्झेकी थिएँ ।’

‘कस्तो कविता लेख्यौ मेरो बारेमा ?’ ‘सुनाऊ प्लिज… ।’ मैले आग्रह गरेँ ।

उसले कविताको पृष्ठभूमि सुनाई । इजरायलमा हाम्रो घरमा म हजुरआमासँग सुतेकी थिएँ । सपनामा तिमीले मलाई ब्युँझायौ । अनि मध्यरातमै उठेर कविता लेखेँ–

“you wake me from my sleep
and drenched my heart
with a love so deep.
When I look into your eyes,
I see my reflection,
My feelings for you
I do not despise
You treat me like the princess.”

‘कस्तो लाग्यो कविता ?’ उसले सोधी

मैले सराहको आँखामा आफ्नो प्रतिबिम्ब देखेँ । उसले लेखेका शब्दहरूमा इमानदारी थियो, उच्छवास थियो र प्रेमप्रतिको प्रगाढ आस्था थियो । सराहको कविता सुनेपछि म केहीबेर भावशून्य भएँ । उसले यति धेरै माया गर्छे भन्ने मलाई कहिले अनुभूति भएको थिएन ।

‘इजिप्ट, लेबनान, सिरिया, गाजा, वेस्ट ब्यांक, डेढ सि र मेडिटेरियन सागरलाई छुने इजरायललाई मैले लडाकुहरूको देश मात्रै भन्ठानेको थिएँ ।

त्यो त प्रेमीप्रेमिकाहरूको देश रहेछ ।’

मेरा कुरा सुनेपछि ऊ जलाएर हाँसी ।

‘हाइफइमा भएको लडाइँमा मेरो पति मारिएपछि बहुलाही जस्तो भएकी थिएँ म । अरबीहरू देख्दा रिस उठ्थ्यो । काँचै चपाऊँ जस्तो लाग्थ्यो उनीहरूलाई । उनीहरूले नै मेरो लोग्नेलाई एम्बुसमा पारेर मारेका थिए । २५ वर्षको उमेरमा ऊ देशका लागि सहिद बनेको थियो । बुबा नेपालमा राजदूत भएर गएपछि केही वर्ष त्यहाँ बस्दा मैले विस्तारै आपूmलाई सम्हालेँ । पुराना कुराहरू बिर्सिने प्रयास गरेँ । मुटु चिरिने मेरा घाउहरूमा विस्तारै मलहम लगाउँदै गएँ । यसमा तिमीले दिएको सान्त्वनाले औषधिको काम गर्यो । थाहा छ, जीवनबारे तिमीले मलाई बुद्धका कथाहरू सुनाएका थियौ । तिमी जस्तो साथी पाएकै कारण म बाँचे । नत्र आत्महत्या गर्थे हुँला ।’ सराह बोली ।

‘सराह, थाहा छ, जिम्मी कार्टर, मेनाखेम बेगिम र अनबर अल सादातले क्याम्प डेभिड सम्झौता गरेझै तिमी र मैले नगरकोटमा गएर अबदेखि आँसु नझार्ने सम्झौता गरेका थियौँ । कालो बादलले सूर्यलाई पनि छेक्छ तर सधैँ छेक्न सक्दैन । त्यसैले हामी आशावादी बन्नुपर्छ । सत्यलाई आत्मसात गर्दा कष्ट हुन्छ तर त्यसले प्रसूति पीडाभैmँ खुसी बोकेर ल्याउँछ ।’ मैले उसलाई सान्त्वना दिएँ ।

‘मलाई तिम्रो कुरा सुनिरहन मन लाग्छ । कुरैकुरामा तिमीले ममस्पर्शी संवाद बोलिरहेका हुन्छौ ।’ सराह बोली ।

‘इजरायल सन् १९४८ मा स्वतन्त्र नभइदिएको भए युद्धको औचित्य र नैतिक आधार समाप्त हुन्थ्यो । जर्नेल बनेर त्यत्रो स्वतन्त्रता संग्राम लड्ने तिम्रा हजुरबुबा र डेभिड बेन गुरियन जस्ता महामानवहरूको इतिहास बालुवा हुने थियो । लोभ, छलकपट र विदेशीको स्वार्थमा बिकेर नेताहरूले अलिकति मात्र धोका दिएको भए अरबहरूले यहुदीहरूको चोक्टा चोक्टा लुछेर खाने थिए ।’

मैले यति भन्दा नभन्दै सराहका आँखामा आँसु छचल्किए । उसले रूमालले आँसु पुछ्दै भनी– ‘सायद पूर्वजन्ममा तिमी पनि इजरायली थियौ । कति माया गछ्र्यौ तिमी नेपाल र इजरायललाई । इमेलबाट तिमीले पठाएका चिठी र लेखहरू म पढ्छु । देशभक्तिले भरिएका ती शब्दहरू पढेर म भावुक बन्ने गर्छु । तिमीले देशभक्तिका बारेमा लेखेका थुप्रै पत्रहरू मैले मेरो बुबालाई पनि देखाउने गरेकी छु । तिम्रो देशलाई पनि बेन गुरियन, गोल्डामेर अनि मोसे दायनहरू चाहिएको छ । नत्र समाप्त हुन्छौ तिमीहरू… ।’ ऊ गम्भीर भई ।

सराहको सुकोमल शरीर आद्योपान्त पढेपछि मलाई लाग्यो, देशप्रेम रगतका कणकणमा हुनुपर्दोरहेछ । किनेका साथी, थोपरिएको देशभक्ति र आडम्बरी राष्ट्रवाद उस्तैउस्तै हुन्छन् सायद ।

सराह हुन् वा उसका साथी नाओमी, पउला र सुसानाहरू, सबैजना आफ्नो जन्मभूमिप्रति गर्व गर्छन् । स्वाधीन र स्वतन्त्र हुन पाउँदा गर्वोन्मक्त बन्छन् ।

मैले ब्रेकफास्ट खाँदै सराहसँग नेपाली र इजरायली मुटु साट्न खोजेँ ।

मेनाखेम बेगिमको कुरा चल्यो । मैले प्रसंग कोट्याएँ– ‘सन् १९८२ मा जीवनसाथी एलिजाको मृत्यु भएपछि मेनाखेम बेगिम साह्रै बेचैन भएका थिए रे होइन ?’

‘हो, बुबा त्यसै भन्नुहुन्थ्यो । सन् १९९२ मा उनको मृत्यु हुँदा धेरै इजरायलीहरू रोएका थिए । उनले नोबेल पुरस्कार पाउँदा खुसी मनाउनेहरू उनको मृत्युमा त्योभन्दा धेरै दुःखी भएका थिए । किनभने उनले इजरायली माटो र मुटुलाई जोड्ने काम गरेका थिए’– सराह बोली ।

घन्टौँसम्म बसेर धेरै विषयमा बोल्न सक्ने सराहलाई मैले सोधेँ– ‘अझै बिहे गरेकी छैनौ ?’ अहँ, मन मिल्ने साथी भेटेकी छैन ।’ उनले हाँसेर भनी ।

‘कि नेपालतिरै जाने त ?’ मैले जिस्क्याएँ । उसले मेरो गाला चिमोट्दै भनी– एउटा ठूलो सुटकेशमा लुकाएर लैजाउ है त… ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो