कथाः चाँदीको करुवा

झमझम झरी बर्सिरहेछ । एक प्रकारको निर्मम झरी । त्यो सम्पूर्ण झरी भित्र अदृश्य भय व्याप्त छ । कतै बाहिर निस्कनलाई पनि गाह्रो भइरहेको छ । छाताले झरी थाम्नै नसक्ने । रुझ्दै बाहिर निस्कनुपर्ने, रुझ्दै घर फर्किनुपर्ने । गजगज हिलाम्मे बाटाहरु नालीबाट बगेको फोहोर पानी, अफिस जाने कर्मचारी र बाटो हिँड्ने मान्छेहरुलाई हिँड्न गाह्रो भएको कति दिन भइसक्यो । राजमार्गको बाटाहरुमा पहिरो गएर आवागमन बन्द भएको छ । झरी थामिने कुनै लक्षण नै छैन । झरी सहरी इलाकामा मात्र होइन, पहाडी र तराई क्षेत्रमा पनि लगातार परिरहेछ । मान्छेहरुले आपसमा झरीको सम्भावित त्रासद परिणामबारे शङ्का व्यक्त गरिरहेछन् । यस झरीले कतैकतै हानिनोक्सानी गर्लाजस्तो छ । प्रलयको सङ्केतजस्तो यस झरीको लक्षण बिलकुल राम्रो छैन ।

झरी रोकिएको एक दिन बिहान रेडियोबाट खबर सुन्छु– सर्लाहीका गाउँहरु बाढीले पूरै जलमग्न भएका छन् । उद्धार टोलीहरु राजधानीबाट त्यस बाढीग्रस्त इलाकामा प्रस्थान गरिसके । बाढीले कति गाउँहरु बगायो, कति धनजनको क्षति भयो, थाहा हुन सकेको छैन ।

यो खबर सुनेर मन झसक्क झस्कन्छ । सोच्छु – मेरो घर पनि त सर्लाहीकै गाउँमा हो । भर्खर बिहे भएको र क्याम्पसमा पढ्नु परेकोले माइतमै बसेर पढ्दै छु । लोग्ने बिहे भएको एक हप्तामै इन्जिनियर पढ्न रस्सा हिँडिहाले । सासूससुराहरु उतै गाउँमा बस्नुहुन्छ । उहाँहरु कतै बाढीको चपेटामा त पर्नु भएन ? खलबल हुन्छ मन । डर र सम्भावित दुर्घटनाको परिणामले मन चिसो भएर आउँछ । अनि मेरो चाँदीको करुवा नि ? उफ् त्यो पनि बाढीले बगाउन सक्छ । बगायो होला । तत्कालै ट्याक्सी लिएर म आफ्नो आमाज्यू कहाँ जान्छु सही र तथ्य कुरा बुझ्न । मेरो मनलाई सासूससुराको मोहले होइन मेरो दाइजो चाँदीको करुवाको मोहले घेर्न थाल्छ । त्यस लोभको घेरालाई तोडेर मेरो मन सासूससुराप्रति संवेदनशील हुन सक्दैन, पग्लन सक्दैन । मेरो दाइजो पो हो त्यो चाँदीको करुवा । मेरी आमाले बिहेमा दिएकी । आमाले मलाई सम्झाउदै भनेकी थिइन् – ‘छोरी ! यो चाँदीको करुवा मेरी आमाले मेरो बिहेमा दिएकी थिइन् । आज तिमीलाई त्यही करुवा दिँदै छु । मेरी आमाको चिनो यसलाई आफ्नै साथमा जतन गरेर राख है ।’ मैले त्यो करुवा आफ्नो बाक्सामा जतन गरेर राख्न नपाइकनै सासूले गाउँ जाने बेलमा माग्दै भनिन् – ‘दुलही ! तिम्रो अरु दाइजो त केही पनि लैजान्न तर यो चाँदीको करुवा भने मलाई देउ, साथैमा लैजान्छु । पुजा गर्न मलाई चाहिरहन्छ । चाँदीको करुवाको रहर थियो, पूरा भयो ।’ लोभी बूढी बुहारीकै चाँदीको करुवा पर्खनुपर्थ्यो र एउटा चाँदीको करुवा बनाउन नसक्ने हुतीहाराहरु । गरिब त होइनन् नि यिनीहरु । कसरी माग्न सकेकी लाजै पचाएर छि ! मनमनै पड्किन थाले शायद मुखका आकृति पनि बल्न थाल्यो होला । सासूले कहाँ बुझ्नु मेरो मनको भाव । कहाँ हेर्नु मेरो असन्तुष्टिले कोपरेको अनुहार ? नयाँ बुहारी न ठहरिएँ दिन्नँ भन्न कहाँ सक्छु ? बल्लबल्ल दिएँ चाँदीको करुवा । मेरो मन त्यस बखत क्रोधले उम्लिरहेको थियो भने शिष्टतावश त्यो क्रोध बाहिर आउन सकेन । मानौं शिष्टताको कोमलताले त्यस क्रोधलाई चिसो पार्ने प्रयास गर्दै थियो । राति मुख अँध्यारो देखेर लोग्नेले सम्झाउदै भने – ‘आमालाई चाँदीको करुवा दिनुपर्यो भनेर पीर मानेकी ? छि… त्यस्तो सानो मन नगर न दीपा ! आमासँग भएको तिमीसँग भएको एउटै त हो । फेरि पैसा भएपछि त्यस्तै बनाइदिन सक्छु नि…” मनमनै भनें, अर्को चाँदीको करुवा बनाइदिए पनि के महत्व भयो र ? दाइजो भनेको आफ्नै हो ।

ट्याक्सी दगुरिरहेछ सँगसँगै मेरो मन त्यो सेतो टलक्क टल्किने चाँदीको करुवामाथि उडिरहेछ । त्यत्रो बाढीमा त्यो करुवा कहाँ पो सुरक्षित हुनु ? हेर यो मन कस्तो लोभको भाँडोभित्र भुटिइरहेको होला ? किन म दुःखी हुन्छु चाँदीको करुवा सम्झेर ? यो बेला त सासूससुरालाई पो सम्झनुपर्ने । सासूससुरालाई केही भयो भने छोरीहरुलाई कत्रो बज्र पर्ला । करुवा त पैसा भए जति पनि आउँछ । मानवीय नाताले पनि त यो स्वार्थ पराजित हुनुपर्थ्यो यतिखेर । ग्लानी र लाजले फतफताउँछ मन । सासूससुरालाई सम्झन थाल्छु – तर पटक्कै मन रसाउँदैन । घरीघरी चाँदीको करुवाले मेरो मनलाई हिर्काउन आउँछ । मेरो साथमा रहेको भए बाढीमा त पर्ने थिएन नि करुवा । आमाको चिनो रहिरहन्थ्यो । जोगिन्थ्यो । मेरै करुवामाथि ती बूढीको आँखा परिहाल्यो । बुहारीको दाइजो मुख फोरेर माग्न पनि ती सासू बूढीलाई लाजै भएन । हे भगवान के सोचेको यस्तो ? सासूससुरालाई पनि केही नहोस, मेरो करुवा पनि सुरक्षित होस् मनमनै कामना गर्छु ।

ट्याक्सी आमाजूकै घरनेर रोकिन्छ । ढोकैबाट आमाजू रोएको कङ्कलाशब्द सुनेर तर्सन्छु । साँच्चै सासूससुराहरु भनौँ वातावरण पूरै शोकमग्न । वरिपरि छरछिमेकीहरु शोकाकुल भएर बसिरहेका छन् तर मेरो मन भने चाँदीकै करुवामाथि अड्किरहेको छ । त्यहाँ पुगेर थाहा पाउँछु, आमाजूका दुलाहा बिहानै सर्लाही हिँडिसकेका रहेछन् । सम्पूर्ण परिस्थिति बुझ्न ।

आमाजू विरह गर्दै भन्छिन्– ‘दिपा ! गाउँको नामनिसाना देखिन्न रे । पूरै जलमग्न छन् रे गाउँहरु । मेरा बाआमा के भए होलान् ? घरका सबै सामानहरु सर्वश्व गरेर बगाए पनि मेरा बाआमा बाँचे हुन्थ्यो । घरको धुरीमाथि चढेर भए पनि ज्यान जोगाए हुन्थ्यो । पैसा भए संसार पाइन्छ, बाबुआमा त पाइन्न नि । इन्जिनियर पढ्न रुस गएका भाइलाई कसरी खबर गर्ने ?’

त्यस्तरी आमाजू बिलाप गर्दै रोइरहन्छिन्, म भने हतप्रभ के गरुँ के गरुँ हुन्छु । हो, मान्छेभित्रको स्वार्थ किन यतिबिघ्न साह्रो हुन्छ ? किन सासुससुराको सम्भावित मृत्युप्रति मन त्रसित हुन्न ? के रगतको नाता मात्रै हुन्छ र ? सासुससुरा पनि त आफ्नै लोग्नेका आमाबाबु हुन् । किन उनीहरुप्रति यो मनले आहत अनुभव गर्दैन ? हरे ! यो मनको कलुपित भावना आमाजु, लोग्ने र अरुहरुले चाल पाए मलाई कस्तो आरोप लगाउलान् ? आ, चाँदीको करुवा बगाए पनि बगाओस् । किन दिनुपरेको थियो आमाले मलाई ? आफैसँग राखे भइहाल्थ्यो नि । यति विघ्न मन चाँदीको करुवाका लागि तड्पने थिएन, यतिविघ्न तुच्छ हुने थिएन । बीचमा आफूलाई निम्न स्तर र स्वार्थको हिलाम्मेभित्र फाल्नुपर्यो, संवेदनशीलताको टाकुरोबाट पराजय भोग्नुपर्यो मैलै । के यस्तो तुच्छ मानसिकताले स्वयम् आफैँलाई सन्तुष्टि दिन्छ र ? साँच्चै भन्ने हो भने यो मानवीय विवेकको स्खलन हो । आत्महीनताको परिचय हो । आफूलाई ढाक्नुपर्ने यो ढोंगले आफूलाई नै दुर्दान्त किनारामा हुत्याइदिन सक्छ । सोच्छु – यतिखेर मन दुख्नुपर्छ, कोमल हुनुपर्छ, आमाजूको दुःखमा साथ दिनुपर्छ । सोचाइलाई सासूससुूराप्रति संग्लन गर्न खोज्छ ।

आमाजूले केही खाएकी छैनन्, सम्झाइरहेकी छु उनलाई केही भएको छैन भनेर । तर मलाई भने भोक लागिसकेको छ । चिया बनाएर खाउँँ, भान्सामा गएर बनाएर खाने हिम्मत पनि भएन । भोक र करुवाको सम्झनालाई कुनै पनि आदर्श र इमान्दार सोचाइहरुले रोक्न सकेनन् । पेटभरी भोक कुर्लिरहेछ । मनभरी करुवा घुमिरहेछ । घरीघरी एक मनले भन्छ – मनलाई स्वार्थको धूलोभित्र लतपत्याउनु हुँदैन । यतिखेर मन सासूससुराप्रति ममतामयी हुनुपर्छ, आत्मीय हुनुपर्छ, यस्तो अनुशासनहीन र संस्कारहीन हुनुहुँदैन । एकछिन मन अनुशासनभित्र कैद भएपनि फेरि मनलाई स्वार्थको गैँतीले फुटाल्न थाल्छ र चाँदीकै करुवाको मोहमा मन आद्र्र हुन्छ । तुच्छताकै हाँगोमा झुडिन्छ । सासूलाई गाली गर्न थाल्छु भित्रभित्रै रन्किदैँ – ती लोभी बुढीले गर्दा मेरो चाँदीको करुवा नामेट हुने भयो । मेरो चाँदीको करुवा, मेरी आमाको चिनो ।

आमाजू रुदैँ पल्टेकी छिन्, छोरोछोरीलेहरु ट्वाल्ल परेर बसेका छन् वरीपरी । छिमेकी इष्टमित्रहरुको आउने–जाने क्रम रोकिएको छैन । बच्चाहरुलाई खाना बनाएर खुवाएँ । खान मन लागेर पनि आफूले खान सकिनँ । यो कस्तो फसाद, हामी सबै आमाजूको दुलाहको प्रतीक्षामा छौँ । दिनभरि र रातभरिको निरन्तर भोक र प्रतीक्षापछि भोलिपल्ट करिब बाह्र बजेतिर आमाजूको दुलाहा आइपुग्छन् । उनको अनुहारमा विषाद र शोक देखिन्न । मन ढुक्क हुन्छ । उनले हस्याङ्फस्याङ् गर्दै आफ्नो ब्याग खोल्दै भन्छन्– ‘सासूससुराहरु भाग्यले बाँच्नुभएछ । घरको धुरीमा चढ्न पाएकाले रातभरि धुरीमै बस्नुपरेछ । भोलिपल्ट डुङ्गाबाट सासूससुरालाई पल्लो गाउँमा ल्याएछन् मान्छेहरुले । घरको श्रीसम्पत्ति केही बचेन, काम गर्ने केटो पनि बचेन । तर सासूले यो चाँदीको करुवा दराजबाट निकाल्न भ्याउनुभएछ र मात्र यो करुवा बचेछ । बाढीले गाउँका हजारौँ मानिसहरुलाई बगाएको छ । लासको कुनै अत्तोपत्तो छैन । ससूससुराहरु अर्को गाउँको घरमा सुरक्षित हुनुहुन्छ । सँगै हिँड्नुस् भन्दा मान्नुभएन । उहाँहरुलाई आवश्यक पर्ने सामानहरु लिएर भोलि जान्छु । आउने बेला सासूले बुहारीको नासो बुहारीलाई नै बुझाइदिनू, यहाँ जतन गरेर राख्ने ठाउँ छैन भनेर भन्नुभएकाले ल्याइदिएको छु । लौ दीपा, तिम्रो करुवा । उहाँहरुको अब केही चिन्ता लिन पर्दैन ।’ ब्यागबाट चाँदीको करुवा निकालेर मेरो सम्मुख राखिदिन्छन् । आमाजूको दुलाहाको कुरा सुनेर मेरो मुखबाट एक वाक्य पनि फुट्दैन । लाग्छ मेरो समस्त चेतना चकनाचुर भएको छ । भित्रभित्र ग्लानी र सरमले गल्न थाल्छु । चाँदीको करुवा हेर्न पनि मेरा आँखा तर्सन्छन् । लाग्छ मानौं निर्जीव त्यो करुवाले पनि मेरो मनको तुच्छता देखेर घृणाले शिर निहुराइरहेछ । चाहेर पनि म करुवालाई स्पर्श गर्न सक्दिनँ । सोच्छु, बरु यो करुवा बाढीमै हराएर गए हुन्थ्यो । किन मेरो सम्मुख देखा पर्यो होला ? एक प्रकारको वितृष्णा पैदा हुन्छ करुवाप्रति ।

आमाजू र बच्चाहरुमा खुसीका दानाहरु देखिन्छन् । उनीहरुको नयाँ र ताजा खुसीमा म आफूलाई सम्मिलित गर्दछु । मलाई लाग्छ, यतिखेर मेरो मन चाँदीको करुवा पाएर भन्दा सासूससुराको सुखद समाचार सुनेर प्रफुल्लित र सन्तुष्ट हुन्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो