‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै धम्की दिने युवक समातिए, कडा कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२ जेठ २०८३ १५:३७

काठमाडाैं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धाकधम्की दिने प्रकाश खड्का काठमाडौंबाट पक्राउ परेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार खड्कालाई पक्राउ गरी कानुनी दायरामा ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिसकिएको छ।

खड्काले ‘प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै दैलेखको दुल्लु नगरपालिका-१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अत्यन्त असभ्य, अशिष्ट र अमर्यादित भाषामा धम्क्याएका थिए।

सोही टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना सार्वजनिक भएको हो। सरकारी कर्मचारीमाथि फोनमार्फत नाजायज दबाब दिने र थर्काउने खड्काको हर्कतप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटना बाहिरिए लगतै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई ती व्यक्तिमाथि तत्काल कडा कारबाही अगाडि बढाउन निर्देशन दिइएको बताएका थिए।

विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ रहेको उल्लेख गरिएको छ। साथै विधिको शासनलाई चुनौती दिने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता सरकारले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले आगामी दिनमा आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री, उनी गायतको सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम लिँदै कसैले धम्की दिएमा, बार्गेनिङ गरेमा वा नाजायज दबाब सिर्जना गरेमा त्यस्तो भ्रममा नपर्न सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।

यस्ता शंकास्पद गतिविधि वा फोन आएमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। यसका साथै सम्भावित दुरुपयोग र भ्रमबाट बच्नका लागि कुनै पनि शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गर्न समेत सबैमा सचेत गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *