चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत : ट्रम्प–सी भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा

डिसी नेपाल
२ जेठ २०८३ १५:१६

काठमाडौं । बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन्।

तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ।

राष्ट्रपति सी जिनपिङले दुई देशबीच स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको बताएका छन्। उनले सहकार्यलाई बलियो बनाएर दुवै देशले आफ्नो विकास र पुनरुत्थानलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गरे।

चाइना इन्स्टिीच्युट या अन्तराष्ट्रिय अध्ययनकी सह–अनुसन्धानकर्ता सु सियाओहुईले ट्रम्पको भ्रमणले चीन–अमेरिका सम्बन्धमा सकारात्मक सन्देश दिएको बताइन्। उनका अनुसार यो भेटले भविष्यमा उच्चस्तरीय कूटनीतिक संवाद र राष्ट्रप्रमुखस्तरीय भेटघाटका थप अवसर खोल्नेछ।
सुका अनुसार ट्रम्पले यसै वर्षभित्र फेरि संवादको प्रस्ताव राख्दै सी जिनपिङलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन्।

उनले चीन र अमेरिका दुवैका लागि यो वर्ष विशेष महत्वको रहेको उल्लेख गर्दै दुवै देशले आन्तरिक राजनीतिक प्राथमिकता र कूटनीतिक एजेन्डा अघि बढाउन एकअर्काको सहयोग आवश्यक पर्ने बताइन्। यस वर्ष चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) सुरु गर्दैछ भने अमेरिकाले स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउँदैछ। साथै, चीनले एपेक आर्थिक नेतृत्वको बैठक आयोजना गर्नेछ भने अमेरिकाले जि २० सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको छ। सु सियाओहुईले चीन–अमेरिका सम्बन्धमा मतभेद रहिरहने भए पनि निरन्तर रणनीतिक संवादमार्फत सहमति खोज्न सकिने बताइन्।

उनका अनुसार आर्थिक तथा व्यापारिक मुद्दादेखि संवेदनशील विषयसम्म भविष्यमा उतारचढाव आउन सक्छ, तर संवाद कायम राखे सम्बन्ध नियन्त्रणबाहिर जानबाट रोक्न सकिनेछ। उनले दुवै देशले साझा लक्ष्यतर्फ अघि बढ्न रणनीतिक संवादलाई निरन्तरता दिनु नै चीन–अमेरिका सम्बन्धको मुख्य आधार हुनुपर्नेमा जोड दिइन्। सीसीटीभी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *