शक्ति प्रदर्शन गर्न सडकमा गएका नेकपाका नेताहरुबीच हात हालाहालको स्थिति

डिसी नेपाल
१० माघ २०७७ १०:४६

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शुक्रबार आयोजना गरेको विरोधसभाको स्टेजको एउटा भिडियो भाइरल भएको छ। भाइरल भिडियोमा अध्यक्ष माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच झण्डै हात हालाहालको स्थिति देखिन्छ।

पार्टी भित्रको आन्तरिक विवादका कारण दुई समूहमा विभाजन भएको नेकपाको एउटा समूह सडक आन्दोलमा रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगम विरुद्धको आन्दोलन भन्दै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा छन्।

शुक्रबार सडकबाट नै केपी शर्मा ओलीलाई तह लगाउन सक्छौं भनेर भाषण गरिरहेको कार्यक्रममा नै नेताहरुबीच बैमनष्यता भएको देखियो। उक्त भिडियोमा नारायणकाजी श्रेष्ठ रिसले चुर भएको देखिन्छ। माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ नजिकै देखिन्छन्।

उनीहरु दुवैजना औंला तल गरेरै भएपनि एकले अर्कालाई ‘तिमी भन्दा म के कम झैं हाउभाउ’ गरिरहेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा हालिएको उक्त भिडियोमा ‘नारायणकाजीले माधव नेपाललाई मेरो बस्ने कुर्सीमा किन बसेको भन्दा लडाईँ भयो। कुर्सीको लडाईँ सडकसम्म पनि’ भनेर क्याप्सन लेखिएको छ।

नारायणकाजी श्रेष्ठलाई मनाउन अरु नेताहरु पनि गएको देखिन्छ। उनीहरुलाई नारायणकाजीले हुत्याएका छन्। रिसाएका श्रेष्ठले सभापतित्वव ग्रहण गरे पनि सभा विसर्जन गरेका थिएनन्। उनले सभालाई विसर्जन नगरेपछि संचालिका पम्फा भूसालले सभा विसर्जन भएको घोषणा गरिन।

श्रेष्ठ सुरुमा पनि स्टेजमा देखिएका थिएनन्। संचालिका भुसालले बोलाएपछि आएका थिए। नेपाल र श्रेष्ठबीचको भनाभन हाउभाउ कार्यक्रममा उपस्थिति भएकाले पनि देखे। सामाजिक सञ्जालमा राखिएको भिडियोबाट देशभरकै नेकपाका कार्यकर्ताले देखे।

सरकारमा पनि कुर्सीको लडाईँ थियो। सार्वजनिक कार्यक्रममा नै प्रचण्डले ओलीको र आफ्नो कुर्सी फरक फरक स्थानमा राखिएकोले रिस उठेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *