प्रधानमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

डिसी नेपाल
१२ माघ २०७७ १७:२८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका हुन्।

प्रधानमन्त्री ओली आइतबार ‘संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्’ भनेका थिए। काँग्रेस संसद् विघटनलाई असंवैधानिक भन्दै आन्दोलनमा छ। प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो। प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ। कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ।’

यस्तै काँग्रेसले संसद विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाईलाई ‘तमसा’ भनेका पनि आपत्ति जनाएको छ। केही दिन अगाडि प्रधानमन्त्रीले ‘अदालतमा एकजना बाजेलाई लगेर तमासा देखाइएको छ’ भनेका थिए।

काँग्रेसले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुले पदको गरिमासमेत धुलिसाथ गरेको भन्दै विभिन्न पेशाकर्मीलगायत विरुद्ध अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *