काँग्रेस क्रियाशील सदस्यताका लागि सुनिल थापाले बुझाए १८ जिल्लाबाट नाम

डिसी नेपाल
१२ माघ २०७७ १८:५४

काठमाडौं। तत्कालिन राप्रपा त्यागेर काँग्रेस प्रवेश गरेका सुनिल थापाले काँग्रेस क्रियाशील सदस्यताका लागि विभिन्न १८ जिल्लाबाट नामहरुको सूची पेश गरेका छन्। थापा काँग्रेसमा प्रवेशपछि सहमहामन्त्री मनोनित भइसकेका छन्। उनीसँगै ७ जना केन्द्रीय सदस्य र दुईजना आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएका थिए।

काँग्रेसको आगामी महाधिवेशन अघि क्रियाशील सदस्यता प्राप्तीका लागि थापाले विभिन्न १८ जिल्लाबाट नामहरु पठाएको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। उनका अनुसार मंगलबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमिती बैठकबाट यो विषयमा निर्णय हुनेछ।

गृह कार्य नपुगेको भन्दै पटक पटक स्थगित भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै छ। डा. महतले बाँकी रहेका प्राविधि विषयमा मोटामोटी टुंग्याइएको बताए। तर के के विषय टुंिगयो भन्ने विषयमा उनले खुलाउन चाहेनन्। उनले डिसी नेपालसँग भने, ‘यही महाधिवेशनलगायतका प्राविधि विषयहरु बाँकी छन्। केन्द्रीय कार्यसमितिको बैठकबाट टुंगो लगाउँछौं। गृह कार्य भएको छ।’

काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुनको पहिलो साता काठमाडौंमा गर्ने निर्णय भए पनि तयारी नपुगेकाले अब फागुनमा महाधिवेशन नहुने पक्का भइसकेको छ। तर, नयाँ मिति कहिलेलाई तोक्ने भन्ने विषयमा काँग्रेसमा सहमित जुट्न सकेको छैन। सभापति शेरबहादुर देउवाको ४ वर्षे पदावधि गत वर्षको फागुनमै सकिए पनि एक वर्ष कार्यकाल थपेर फागुनमा महाधिवेशनको मिति तोकिएको थियो। तर, तोकिएको र थपिएको कार्यकालमा पनि महाधिवेशन नहुने भएपछि संवैधानिक व्यवस्थाअनुसार ६ महिना पदावधि थपेर महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस पुगेको छ।

तर महाधिवेशनको मितिबारे भने सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन सकिरहेको छैन। सभापति देउवा आगामी जेठमा महाधिवेशन गराउने तयारीमा थिए। तर, प्रतिनिधिसभा विघटन भएर चुनाव घोषणापछि जेठमा पनि महाधिवेशन नहुने लगभग पक्का जस्तै छ। यद्यपी सर्वोच्चले संसद् विघटनको निर्णयलाई बदर गर्यो भने काँग्रेसलाई महाधिवेशनमा जान सहज बन्ने अवस्था छ।

त्यसैले अहिले सर्वोच्चको फैसलाको पर्खाइमा काँग्रेस रहेको छ। यही माघ मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण तथा वितरणको सूची जिल्लाबाट केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका छ। सो मितिमा जिल्लाबाट सूची प्राप्त भए पनि त्यसमाथि छानविन गर्ने समिति भने अहिलेसम्म बन्न सकेको छैन। त्यसैले मंगलबार बस्ने केन्द्रीय कार्यसमिती बैठकले क्रियाशील सदस्यता छानविन समिती बनाउन सक्ने नेताहरुले बताएका छन्।

उता सप्तरी, बारा र सिन्धुपाल्चोकमा पार्टीको समायोजन नै नसकिएकाले यी जिल्लाहरुमा क्रियाशील सदस्यताको फार्म नै पुगेको छैन। त्यसैले यी तीन जिल्लाको विवाद समाधान गर्न निर्वाचन समितिलाई नै जिम्मेवारी सहमति बनेको नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *