नेपालमा कोरोनाको पहिलो खोप लगाउने डाक्टरले भने : ‘गौरवान्वित महसुस गरेँ’

तर्कबहादुर थापा
१४ माघ २०७७ १२:३६

काठमाडौं । आजदेखि नेपालमा कोरोनाको खोप अभियान सुरु भएको छ। नेपालमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले लगाएका छन्।

खोप लगाएपछि प्रतिक्रिया दिँदै राजभण्डारीले आफूलाई गौरवान्वित महसुस भएको बताए। उनले भने, ‘नेपालमा कोरोना विरुद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा आफूलाई गौरवान्वित महसुस गरेको छु।’

डा. राजभण्डारीले भने, ‘म जिम्मेवार संस्थाको प्रमुखका हैसियतले पहिलो खोप लगाएको हुँ। स्वास्थ्यकर्मीहरु, सरसफाइकर्मी र अरुहरुलाई पनि सुरक्षित अनुभूति होस भन्नका लागि मैले पहिलो खोप लगाएको हुँ। मैले खोप लगाएपछि अहिले लाइन लागेर सबैले खोप लगाइरहनु भएको छ।’ खोपप्रतिको नकारात्मक धारणा कम गर्नका लागि पनि यो खोप पहिलो पटक लगाएको उनले प्रतिक्रिया दिए।

‘हामी ६० किलोमिटर प्रतिघण्टाका दरले कोरोना विरुद्ध लडिरहेका थियौं भने अब खोप लगाएपछि १२० किलोमिटर प्रतिघण्टाको दरले कोरोना विरुद्ध लड्न सक्ने भएका छौं’ डा. राजभण्डारीले भने, ‘मैले लगाएपछि मेरा साथीहरु पनि हाँसीहाँसी लगाइरहनु भएको छ। पहिलो नम्बरमा मैले, दोश्रो नम्बरमा डा. अनुप बास्तोला, तेश्रो नम्बरमा शंकर जी, चौथो नम्बरमा डा. रुना झा डा. अमात्य लगायत सबैले लगाइसक्नु भएको छ।’

खोप अभियानको सुरुवाती दिन आज ३ सय जनालाई लगाउने उनले बताए। काठमाडौं महानगरपालिका भित्र रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, स्वास्थ्य विभाग, जिल्ला स्वास्थ्य कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका, निजी स्वास्थ्य संस्था वरीपरी लगायतका स्थानहरुमा कार्यरत कर्मचारीलाई पहिलो दिन खोप लगाउने डा. राजभण्डारीले डिसीनेपाललाई बताए।

रातदिन नभनी कोरोना महामारी विरुद्ध लडिरहेका डा. राजभण्डारीले भने, ‘संसारमा सबैभन्दा कम समयमा उत्पादन भएको खोप कोरोनाको खोप हो। महामारी सुरु भएको एक वर्षमा नै कोरोनाको खोप विकसित भएको छ। हामीले प्राप्त गरेको खोप सुरक्षित छ। सबैलाई बिना कुनै शंका खोप लगाउन अनुरोध पनि गर्दछु।’

अभियान सुरु भएको दिन करिव ३ सय जनालाई खोप लगाइने उनले जानकारी दिए। उनले टेकु अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी लगायतलाई खोप लगाइने बताए।

‘खोप लगाएको १ घण्टा भयो केही भएको छैन’ डा. राजभण्डारीले भने, ‘मलाई केही प्रतिकूल असर परेन भने अरुलाई पनि पर्दैन। व्यक्तिहरुको इम्युन अनुसार केही फरक पर्न सक्छ। तर, सामान्य लक्षण देखियो भन्दैमा आत्तिनु पर्दैन।’

डा. राजभण्डारीले कोरोना विरुद्ध लड्ने हतियार भएकाले सबैलाई आफ्नो डोज प्राप्त गरेर लगाई सुरक्षित रहन अनुरोध पनि गरेका छन। उनले भने, ‘१८ वर्ष भन्दा मुनिका व्यक्तिहरु बाहेक सबैले यो खोप लगाउन सक्नुहुने छ। दोस्रो चरणमा ५० वर्ष माथिका व्यक्तिहरुलाई खोप दिइने छ। उहाँहरुलाई र रोग प्रतिरोधात्मक क्षमता कम भएका, जो कोरोनको उच्च जोखिममा भनेर परिभाषित गरिएको छ। उहाँहरुले यो खोप दोश्रो चरणमा पाउनुहुनेछ।’

भारतले नेपाललाई उपहारमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अक्सोफोर्ड युनिभर्सिटीले विकास गरकोे हो। भारतको सिरम कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ १० लाख डोज मध्ये पहिलो पटक ४ लाख ३० हजारलाई लगाइँदै छ। १ जनाले २८ दिनको फरकमा २ डोज लगाउनुपर्छ ।

खोप अभियानका लागि देशभरका ६८ वटा जिल्ला अस्पताल तथा अन्य खोप केन्द्र गरी १२० खोप केन्द्र तोकिएका छन् । पहिलो चरणमा तोकिएका ४ लाख ३० हजार खोप डाक्टर तथा स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापन गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका महिला तथा पुरुषलाई राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *