चितवनमा चालु आर्थिक वर्षकाे ६ महिनामा ४८ घरेलु हिंसा, सबै मिलापत्र भए

डिसी नेपाल
१५ माघ २०७७ ८:४२

भरतपुर । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो। चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले कार्यालयमा खान लाउन नदिएकोमा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन्।

घरेलु हिंसामा गत आर्थिक वर्षमा तुलनात्मकरूपमा कमी आएको छ । गत आव ०७६/७७ मा कूल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तिनमा खान लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए । सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो।

आव ०७५/७६ मा कूल ३३५ वटा उजुरी परेका थिए । खान लाउन नदिएकोमा ८९, कुटपिट गरेकोमा १३० र गाली बेइज्जती गरेकोमा ११६ वटा उजुरी परेका थिए। ती सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो । ०७४/७५ मा परेका कूल ३१५ वटा घरेलु हिंसाका मुद्दालाई पनि मिलापत्रमै टुङ्ग्याइएको थियो । खान लाउन नदिएकोमा ८०, कुटपिट गरेकोमा १७८ र गाली बेइज्जती गरेकोमा ५७ वटा उजुरी परेका थिए।

गत तीन वर्ष र चालु आवको छ महिनाको तथ्याङ्कलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन् । सामाजिक र पारिवारिकरूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ। प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ।

यदि एक महिनासम्ममा पनि मेलमिलाप नभएमा मुद्दालाई अदालतमा लगिन्छ । अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने गरेका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *