चितवनमा प्रधानमन्त्रीले फेरि उठाए राम जन्मभूमिको विषय

डिसी नेपाल
१७ माघ २०७७ १७:१३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्। शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर बनाइने बताए।

यसअघि प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमै भएको बताएका थिए। त्यसपछि फेरि उनले शनिबार रामको जन्मभूमि नेपालमै रहेको भन्दै जन्मभूमिमा राम मन्दिर बनाइने बताए। उनले रामको मूर्ति बनिसकेको, सिताको मुर्ति बन्दै गरेको उल्लेख गर्दै आगामी वर्ष मन्दिर निर्माण हुने जनाए।

प्रधानमन्त्री ओलीले राम मन्दिरकै विषयलाई लिएर प्रचण्ड–माधव समूहको आलोचनासमेत गरे। २०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचित तीनै जना सांसद प्रचण्ड–माधव समूहमा रहेको विषय उठाउँदै प्रधानमन्त्री ओलीले निर्वाचित सांसदरले रामको जन्मभूमिमा राम मन्दिर किन बनाउन नसकेको भन्दै प्रश्नसमेत गरे। चितवनबाट निर्वाचित सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल ओलीसँग छैनन्।

यस्तै शनिबार नै उद्घाटन गरिएको ६ लेनको सडकको विषयमा बोल्दै चितवन महानगरपालिकाकी मेयर रेणु दाहालकोसमेत आलोचना गरे। उनले मेयर दाहालको नाम नलिइ उनलाई ‘केटाकेटी’समेत भनेका छन्।

मेयर दाहालले सडक आफूले उद्घाटन गर्न पाउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेकी थिइन्। सोही प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले सडकका लागि रकम दिएको तर उद्घाटन कुन चाही केटाकेटीले गर्ने भन्दै प्रश्न गरेका थिए।

पार्टीको विवादबारे बोल्दै प्रधानमन्त्री ओलीले तीन जना पूर्व प्रधानमन्त्रीहरु सडकमा लुखुर लुखर हिँडिरहेको बताए। पूर्वप्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल प्रतिनिसभा विघटनविरुद्ध देशभर आयोजना भइरहेका विरोधसभामा सहभागी भइरहेका छन्। प्रधानमन्त्री ओलीले उनीहरुमाथि नै व्यंग्य गरेका हुन्।

अर्को प्रसंगमा ओलीले नेकपा विभाजन नभएको र आफू नै आधिकारिक भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *