निहारिका मुद्दा फ्लोअप : ध्यानाकर्षण भएको छ : महिला आयोग, कानुन समातेर अदालत पुग्नु पर्छ : माइतीनेपाल

डिसी नेपाल
१९ माघ २०७७ ७:०९

काठमाडौं। धनुषाबाट न्याय माग्न काठमाडौं आएकी निहारीकाको मुद्दा उठानमा ढिलाई भइरहेको छ। डिसी नेपालसँग निहारीकाले आफूले न्यायपाउने कुरामा ढिलाइ भइरहेको बताइन्। एक वर्ष पहिलादेखि आफूले न्याय माग्दै आएको उनको भनाइ छ।

उनले भनिन्, ‘मैले बच्चा पेटमा आएपछि न्याय माग्न सुरु गरेकी हुँ। तर, अहिलेसम्म पनि न्याय पाएकी छैन।’ ‘काठमाडौंमा त न्याय छिटै पाइन्छ होला भनेर आएकी हुँ,’ काठमाडौंसँग न्यायका लागि बढी अपेक्षा गरेकी निहारीकाले भनिन्, ‘म महिला आयोगमा पनि पुगेँ। माइती नेपालमा पनि गएँ। तर, अहिलेसम्म केटालाई समातेको छैन।’

‘जिल्ला प्रहरी कार्यालयका महिला सईदेखि जिल्लामा महिलाको उद्धारको नाममा संघसंस्था खोलेर बसेका कथित नारी अधिकारकर्मीले पहिला साथ दिने आश्वासन दिए, अन्तमा साथ छोडे,’ निहारीकाले भनिन्, ‘सबै पैसाकैपछि लागेका थिए।’

आफ्नो गृहजिल्लामा संसार छोडेर माया गरेको प्रेमीले धोका दिएको विक्षिप्त मन, सहयोग गर्नेले पैसाकापछि लागेर आफूलाई वेवास्ता गर्दाको पीडा र आमाबुवाबाट नै घृणित जीवन, निहारीकाले भनिन्, ‘मैले लडिरहेको युद्ध मेरा लागि मात्र होइन। म जस्तै धेरै किशोरीहरुले मृत्युवरण गर्न नपरोस भन्नका लागि हो। म जस्तै युवतीले आफूलाई मनै नपरेकासँग विहे गर्न नपरोस भन्नका लागि हो। मेरो लडाईँ आगमी पुस्ताका लागि हो।’

ध्यानाकर्षण भएको छ :  महिला आयोग

राष्ट्रिय महिला आयोगले निहारिकाको विषयलाई गम्भिरताका साथ लिएको बताएको छ। महिला आयोगका पार्वती सुवेदीले आयोगको ध्यानाकर्षण भएको जानकारी दिइन। सुवेदीले भनिन्, ‘निहारीका आयोगमा आउनु भएको थियो। हाम्रो उपसचिवले उहाँलाई समय दिएर उहाँको मुद्दाबारे बुझ्नु भएको छ। आयोगको ध्यानाकर्षण भएको छ।’

निहारीकाले चाहेको अवस्थामा बस्नका लागि सेल्टर दिने र सीप पनि सिकाइदिने सुवेदीको भनाइ छ। ‘आयोगले लकडाउनको अवस्थामा पनि एकदमै धेरै काउन्सिलिङ गरेका छौं,’ सुवेदीले भनिन्, ‘उहाँलाई हामीले सहयोग गर्ने कुरामा तत्पर थियौं, छौ र हुने छौं। उहाँमा अलिकति अरुलाई आरोप लगाउने बानी छ। गरेको देख्नु हुन्न।’

निहारिकाको मुद्दाको प्रक्रिया लामो भएको सुवेदीको भनाइ छ। सुवेदीका अनुसार निहारीकाको मुद्दालाई राम्रोसँग अध्ययन गरेरमात्र आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने छ।

कानुनी प्रक्रिया निहारिकाले पनि बुझ्न आवश्यक छ : माइती नेपाल

माइती नेपालकी उमा तामाङले कानुनी प्रक्रिया नबुझेकाले समस्या भएको बताएकी छन्। निहारीकालाई माइती नेपालले पनि आवश्यक सहयोग गर्ने भन्दै उनले कानुनी प्रक्रिया बुझ्न आवश्यक भएको बताइन्।

तामाङले भनिन, ‘उहाँको मुद्दा कुन प्रकारको छ। थुनछेकमा छुटेको हो कि, वा के हो बुझ्न बाँकी छ। मुद्दा नबुझेसम्म केही गर्न सकिँदैन। तर, निहारीकाको अपेक्षा तत्काल निदान होस भन्ने हो। उहाँले कानुनी प्रक्रिया नबुझेर पनि होला। मैले मुद्दा दिएको फाइल मगाएकी छु। आउनु भएको छैन।’

‘मुद्दा अदालतमा पुगेको छ वा प्रहरीमै छ, बुझ्न बाँकी छ,’ तामाङले भनिन्, ‘अदालतमा गएको भए सजिलो हुन्थ्यो। पुलिसकोमा पीडित नगएसम्म दिदैन। गोपनीयताको सवाल हुन्छ। गोपनीयता कायम गर्नु पर्ने भएकाले पीडित आफै गएमात्र प्रहरीले फाइल दिन्छ। हामीले उहाँ (निहारीका)लाई त्यही कुरा भनेर पठाएका हौं। त्यसपछि आउनु भएको छैन।’

पीडितहरु कता गएपछि न्याय पाइन्छ भन्दै धेरै तिर हिडेकाले पनि हरेकको कुरा सुन्दा आफै दोधारमा हुने तामाङको भनाइ छ। ‘उहाँले पनि कहाँ कहाँ पुगेको बताउनु भएको थियो। धेरै ठाउँमा गएर पनि कन्फ्युज हुनु भएको जस्तो लाग्यो। सरकारी वकिल होला। उहाँको नाम भने पनि सजिलो हुन्थ्यो नि त्यो पनि भन्नु भएन।’

अब निहारिकाले धेरै संघसंस्थाहरुमा नधाएर वकिल समाति अदालत पुग्नु पर्ने तामाङको भनाइ छ। ‘हामीले मुद्दाको फाइल मगाएको कारण त्यो हो।’ तामाङले भनिन्, ‘उहाँ वकिलको माध्यामबाट अदालत पुग्नु भयो भने मात्र हुन्छ। फाइल भयो भने माइति नेपालले सहयोग गर्न सक्छ। हामी सक्ने जति सहयोग गर्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *