राष्ट्रिय कलाश्री सम्मानबाट ८ जना श्रष्ठालाई सम्मान गरिने

डिसी नेपाल
१९ माघ २०७७ ७:४५

काठमाडौं । राष्ट्रिय कलाश्री सम्मानबाट ८ जना श्रष्ठालाई सम्मान गर्ने भएको छ। नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न सम्मान एवं पुरस्कारको घोषणा गरी ८ जनालाई सम्मान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान २०७७ बाट जन गायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तै रंगमञ्चमा आवद्ध अशेष मल्ललाई १ लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार २०७७ बाट सम्मानित  गर्ने निर्णय गरेकाे छ। यस्तै, ठाकुर बेलबासेलाई ७५ हजारको राशिसहित ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, साहित्यकार एवं पत्रकार लक्ष्मी उप्रेतिलाई ५० हजार राशिसहित राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।

चित्रकार विधाता केसीलाई ५० हजार नगदसहित थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार, मिलन आमात्यलाई सोही राशिको पद्मदेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

यस्तै, योगेश्वर वाङमय पुरस्कार र ग्रेगरी कला संस्कृति पुरस्कार क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिने छ। यसको राशि क्रमसः २५ हजार र २० हजार रहेको छ।

योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित नेपाली कला साहित्य डटकम प्रतिष्ठानले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गरिउको छ।

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा गत तेह्र वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई यी सम्मान तथा पुरस्कारहरु प्रदान गर्दै आएइएको छ।

यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला र प्रेमध्वज प्रधान सम्मानित भएका थिए।

राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ र गणेश रसिकले प्राप्त गरेका थिए ।

विगत नौ वर्ष देखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल र सरस्वती प्रतीक्षालाई प्रदान गरिएको थियो । यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा र रोचक घिमिरेले प्राप्त गरिसकेका छन् ।

थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७५ चित्रकार एरिना ताम्राकार र २०७६ मा मूर्तिकार विक्रमश्रीले प्राप्त गरिसकेका छन्। त्यस्तै गत वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गरिएको थियो ।

यी सम्मान तथा पुरस्कार यही फागुन महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानले जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *