नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

डिसी नेपाल
२० माघ २०७७ ८:२०

बाग्मती। नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ। साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ।

औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा सृष्टि श्रेष्ठको जानकारी दिइन्। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति तथा बजेटको समेत अभाव रहेको उनले बताए।

कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ। विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका वरिष्ठ आयुर्वेद चिकित्सक श्रेष्ठले जनाकारी दिए।

औषधालयमा चालु आवको साउनदेखि मङ्सिरसम्ममा तीन हजार ७११ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् भने गत आवको सोही अवधिमा दुई हजार ९९८ ले सेवा लिएका थिए। कोरोना सङ्क्रमण बढेपछि सात हजार ९९० ले विभिन्न रोगको उपचार गराएका थिए। यसअघि २०७५/७६ मा करिब सात हजारले उपचार गराएका थिए।

औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेका छन्। अहिले दैनिक ६० भन्दा बढी व्यक्ति उपचार सेवा लिन आउने गरेका प्रमुख श्रेष्ठले बताइन्। औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी , गाउँघर क्लिनिक र निःशुल्क औषधि लगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ।

बहिरङ्ग , फिजियोथेरापी , शिरोधार, पञ्चकर्म र योग पनि निःशुल्करूपमा औषधालयमा सञ्चालित छ। योगाभ्यास सेवा बिहान दैनिक शुरु गरे पनि सेवा लिने न्यून रहेको संलग्न चिकित्सक बताउँछन्। चालु आवमा औषधालयको कार्यालय सञ्चालनलयायत औषधि खरिदका लागि रु २३ लाख रहेको उनले बताइन्।

उनले भनिन्, “औषधि खरिदको बजेट कम छ, पु¥याउनमा समस्या रहेको छ। ” यसैगरी सो औषधालयबाट कोरोना सङ्क्रमण तथा उपचार परामर्श र शारीरिक क्षमता वृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनअनुसार काम भएको छ। क्वारेन्टिनमा उपचार र परामर्श सेवा, शङ्कास्पद बिरामीलाई अश्वगङ्धाचूर्ण, गुर्जेचूर्ण, मधुचूर्ण र चिथोप्लाजीचूर्ण औषधि र आवश्यक परामर्श समेत दिइएको छ।

विसं २०३४ बाट मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालनमा रहेको औषधालय विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा व्यवस्थितरूपमा सञ्चालनमा रहेको छ। यसअघि पर्साको रानीगञ्जमा औषधालय सञ्चालनमा थियो।

पछि विसं २०३४ मा हेटौँडामा सारिएको थियो। हाल औषधालय वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको छ। औषधालयअन्तर्गत हेटौँडा उपमहानगरपालिका र राक्सिराग गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ। हेटाैंडाको हटिया र चुरियामाई तथा राक्सिरागको काकंडामा आयुर्वेद औषधालय रहेको बताइएको छ। त्यहाँ पनि औषधि समस्या रहेको छ।

औषधालयले मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक आयुर्वेदिक औषधि वितरण तथा प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यसैगरी विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर , स्वास्थ्य जीवनशैली र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गुणस्तरीय सेवा प्रदान गरिँदै आएपनि यसप्रति सेवा लिनेको सङ्ख्या न्यून रहेको आयुर्वेद चिकित्सकको भनाइ छ।

आयुर्वेद सेवाका बारेमा औषधालयले चेतनामूलक पम्पलेट जारी गरेको छ। पम्पलेटमा जारी सन्देशमा बजारमा पाइने विज्ञापनको आकर्षणमा लागेर आफैँ औषधि किनेर खाने बानी नगरौँ, कति आयुर्वेदिक औषधिको पनि नकारात्मक असर हुने गरेको छ। जति पुरानो उति राम्रो भन्ने विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका, गन्ध एवं स्वाद बिगे्रका र फुटपाथमा बेच्ने गरेका औषधि प्रयोग नगर्न आग्रह गरिएको छ।

आयुर्वेदिक औषधिको सेवन गर्नुभन्दा पहिला आधिकारिक आयुर्वेदिक चिकित्सक तथा प्राविधिकबाट स्वास्थ्य जाँच गराएर उनीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्नुपर्छ र आयुर्वेदिक प्राविधिक हो वा होइन बुझेर मात्र सल्लाह लिनुपर्छ। आफ्नो घरको परिसर÷करेसाबारीमा कम्तीमा घ्यूकुमारी, निम, गुर्जो, तुलसी, पुनर्नवा, पुदिनाजस्ता उपयोगी जडीबुटी लगाउनुपर्छ। शरीरमा लागेको रोग निको पार्न बुटी बाँधेर, झारफुक गरेर पानीले हात पखालेर तथा जसले जेको झोल दियो त्यो खाएर निको हुन्छ भन्ने भ्रममा परेर पैसा र (अमूल्य जीवन) स्वास्थ्य खेर नफाल्न आग्रह गरिएको छ।

आयुर्वेदिक औषधिको प्रयोग गर्दा खानपिनलाई पनि ध्यान दिनुपर्ने हुन्छ। अम्लपित्त, मधुमेह, बालरोग, उच्चरक्तचाप र अन्य विभिन्न रोगलाई ध्यानमा नराखी औषधि मात्र सेवन गर्दा प्रभावकारी नहुने बताइएको छ । मौसमअनुसारको फलफूल, सागपात, तरकारी गेडागुडी र अन्नको सेवन गर्नुपर्छ।

साथै नियमितरूपमा स्वास्थ्य परीक्षण गरी प्राणघातक रोगबाट जोगिनुपर्छ र केवल विश्वासको भरमा मात्र औषधि प्रयोग गर्नु हँुदैन तथा मन, वचन र कर्मले सही आचरण गर्ने व्यक्ति पूर्णस्वस्थ्य रहने जारी सन्देशमा उल्लेख गरिएको छ। मकवानुरको हैटौँडा उपमहानगरपालिका बजार तथा अन्य गाउँपालिका शहर र ग्रामीण क्षेत्रमा प्राविधिक एवं चिकित्सकीय ज्ञान नभएका व्यक्ति आयुर्वेदिक औषधि पसल सञ्चालन गरेका बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *