प्रधानमन्त्री राेजगार कार्यक्रम : भीमेश्वर नगरपालिकाद्वारा पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण

डिसी नेपाल
२१ माघ २०७७ ८:१९

चरिकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो।

नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म र वडा नं ४ जिलुको वृन्दावनदेखि साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माणको काम भइरहेको छ। वडा नं २ को मञ्जुश्री उद्यानदेखि वडा नं ६ को भ्यूटावरसम्म करिब रु ३१ लाखको लागतमा दुई किलोमिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब तीन हजार ६०० सिँढी निर्माण गर्ने योजनाका साथ काम भइरहेको भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बरप्रसाद ओलीले बताए।

संयोजक ओलीका अनुसार वडा नं ४ को बृन्दावनमा रु २० लाख ६८ हजारको लागतमा एक हजार ८०० मिटरको पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ। भीमेश्वर नगरपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकताअनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो।

भीमेश्वर नगरपालिकाले नगरवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईँले बताए। नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी विभिन्न क्षेत्रमा उद्यान, पोखरी, भ्यूटावरको निर्माण गरिसकेको र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको प्रवक्ता चौलागाईँले बताए।

सांस्कृतिक धार्मिक प्राकृतिकरूपमा विभिन्न ठाउँमा नगरपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ। नगरपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का तिलकप्रसाद सापकोटाले खुशी व्यक्त गरे। पदमार्ग निर्माण सम्पन्न भएसँगै बृन्दावन, महाँकाल मन्दिर, जलेश्वर मन्दिर, एकीकृत नमूना बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ।

भीमेश्वर नगरपालिकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका तीन हजार ५६६ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका छन्। रोजगारीका लागि एक हजार ७६१ पुरुष र एक हजार ८०३ महिला रोजगार कार्यक्रममा सूचीकृत भएको रोजगार संयोजक ओलीले बताए। रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं २ र ४ का पदमार्ग निर्माण गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा लगाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *