धुर्मस-सुन्तली फाउण्डेशनद्वारा निर्मित रंगशाला उधारोमै बनाइँदै, नौ करोडबढी तिर्न बाँकी

डिसी नेपाल
२७ माघ २०७७ १३:५१

काठमाडौं। धुर्मस–सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम उधारोमै धमाधम भइरहेको छ। धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रंगशालाको लागि नौ करोड २५ लाख रुपैयाँ बराबरको उधारो सामाग्री खरीद गरेपनि काम भने धमाधम भइरहेको छ।

तिमिल्सिनाले उधारोमा सामान खरिद गरिएको बिल पेश भए पनि निर्माण भने नरोकिएको जनाए। रंगशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको उनले बताए।

तिमिल्सिनाका अनुसार रंगशाला निर्माणमा हालसम्म ४१ करोड ८८ लाख चार हजार नौ सय ३६ रुपैयाँ खर्च भइसकेको छ। सोमध्ये गत सोमबारसम्म प्राप्त बिलअनुसार नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ। हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ।

उनका अनुसार माघ मसान्तसम्म १० करोड रुपैयाँभन्दा बढी उधारो हुनेछ। हालसम्म रंगशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। सबैभन्दा बढी भरतपुर महानगरपालिकाले आठ करोड, वाग्मती प्रदेश सरकारले तीन करोड सहयोग गरेका छन्। महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा नौ करोड ११ लाख ६५ हजार रुपैयाँमात्रै प्राप्त भएको तिमिल्सिनाले बताए। महायज्ञमा एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए।

वाग्मती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख, वामदेव गौलीले एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले एक करोड, गैँडाकोट नगरपालिकाले एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासंघले एक करोड र ग्लोबल आइएमई बैंकले एक करोड बोलकबोल गरेका थिए। ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जनाए।

महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशःउठ्दै जाने बताए। रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले बताए।

बाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७/७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले बताए। त्यस्तै, जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ।

महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन्। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस)ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताए। उनले, रकमको जोहो हुने निश्चित स्रोत नभएको र बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेको बताए। उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको गुनासो उनले गरे।

कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको गुनासो गर्दै अध्यक्ष धुर्मुसले निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको बताए। महायज्ञको रकम सबै उठेमा तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ।

उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको र रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको संख्या घटाइएको उनले बताए। रंगशालामा पहिले तीन सय १३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर एक सय ३५ जनाले मात्रै काम गरिरहेका छन्।

रंगशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हाल रंगशालाको मैदान र प्यारापिटको काम भइरहेको छ। गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रंगशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो। चितवनको भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ। रङ्गशाला निर्माणका लागि जग्गा दिलाउन महानगरपालिकाले अगुवाइ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *