छिमेकीबाट ल्याएको ३० हजार ऋण कसरी तिर्नु?, म्यानपावर भन्छ- पैसा नदिउन्जेलसम्म खानेबस्ने व्यवस्था गर्छु

डिसी नेपाल
५ फागुन २०७७ १०:०८

काठमाडौं। प्रविधिको विकाससँगै मान्छेले आफू बसेकै ठाउँबाट विश्वलाई नियाल्न, बुझ्न सक्छ। २१औं शताब्दीमा हामी मानव जातिलाई नै काम गर्न सजिलो होस भनेर घरमै बसीबसी धेरै कामहरु गर्न र गर्नुपर्ने कामबारे बुझ्न सजिलो हुने गरी प्रविधिको विकास भएको छ।

कुनै पनि काम गर्नुभन्दा अगाडि खोजेको कुरा छ–छैन, हो–होइन, गर्न हुने–नहुने, गर्न सकिने–नसकिने, खर्च लाग्ने–नलाग्ने, वैधानिक–अवैधानिक आदि सबै कुरा इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिन्छ। तर पढेलेखेका मान्छेहरु समेत इन्टरनेटको प्रयोग गर्न चुकिकाले गर्दा ठगिमा पर्छन् र अन्तिममा घर न घाटको अवस्थामा पुग्छन्।

प्रसंग हो, मोरङस्थित बेलबारीका २६ वर्षीय सुबास खड्काको। १२ कक्षासम्म पढेका उनी प्रविधि चलाउनमा पोख्त भएर पनि ठगिमा परेका छन्। गाउँघरबाट ऋण खोजेर ल्याएको ३० हजार रुपैयाँ पाउनको लागि उनी वैदेशिक रोजगार विभाग धाएको तीन दिन भइसक्यो।

उनी एक जना दिदी पर्नेलाई साथी बनाएर विभागको गेट बाहिर पैसा आइपुग्छ कि भन्ने आशमा बसिराख्छन्। पैसा ल्याइदिदैछन कि भनेर हेर्दाहेर्दा आँखा नै दुखिसक्यो भन्दै गुनासो पोख्दै उनी भन्छन्, ‘आइतबारदेखि मंगलबारसम्म विभाग बाहिर ढुक्कै बस्दै आएका छौं। फोन हानेको हानै, तिनले टारेको टार्यै, यस्तै भइराखेको छ।’

पैसा पाउने आशमा गाउँबाट गत शनिबार काठमाडौं आइपुगेका उनलाई खाने, बस्नेको व्यवस्था भने साथी बनेर आएकी तिनै दिदीले गरिदिइराखेकी छन्।

विभागमा उजुरी दिई हाल्यो भने पनि विभिन्न प्रक्रियाले गर्दा पैसा उठाउन लामो समय लाग्ने डर सुबासलाई रहेछ। सोही समयमा सबै कुरा बुझाएर उनलाई विभागमा उजुरी गर्न आग्रह गरेपछि भने विभाग गएर गुनासो गरेका थिए। विभागका एक कर्मचारीले पीडक बस्नेतलाई फोन गर्दा उनले एकघण्टा भित्रमा पैसा दिन्छु भनेकी थिइन्।

साथमा खासै खर्च नभएको बताउने उनी अझै पैसा उठाउन काठमाडौं कति बस्नु पर्ने हो र पैसा पाइने हो कि होइन भन्ने चिन्तामा निराश देखिन्छन्। परिवारमा बुबाआमा, बहिनी गरी चार जनाको परिवार खेतीपाती गरी गुजारा टार्दै आएको बताउने उनले भने, ‘बुबाआमा खेती किसानी गर्नु हुन्छ। अर्काको अधिया खेती गरेका छौं। आफ्नो जग्गा जमिन भएको भए त आफ्नै गरेर खाइहालिन्थ्यो नि। खान लाउन समस्या छ, घरखर्च चलाउनु पर्यो त्यसकै लागि बाआमाले पनि विदेश जा भन्नु भएको हो।’

पैसा पाउनुको साट्टो आश्वासन मात्रै पाइराखेका पीडित सुवासको वास्तविकता भने यस्तो छ :

उनले २१ महिना अगाडि काठमाडौंस्थित महाराजगन्जको नागरिक बजार बिल्डिङमा रहेको दिप ज्योति ओभरसिज प्रालिमा गएर दुबई जानको लागि भनी पासपोर्ट बुझाए र पछि ३० हजार आईएमई गरिदिए।

उनीसँगै उनका मामाका छोरा धरानका टंकबहादुर बस्नेत, भोजपुरका दुई दाजुभाइ लक्ष्मीप्रसाद लुईँटेल र खगेन्द्रप्रसाद लुईँटेल र हाल विदेशमा रहेका सन्तोष लुईँटेलले गरी चार जनाले पनि पासपोर्ट बुझाए र ३०–३० हजारका दरले पैसा दिए। एकैदिन पासपोर्ट बुझाएका र पैसा आईएमईमा गरिदिएका पाँच जनामध्ये सन्तोष लुईँटेल भने पासपोर्ट मागेर अर्कै म्यानपावर कम्पनीबाट दुबई उडिसकेका छन्। सन्तोषले भने १० हजार रुपैयाँ फिर्ता पाएँ भन्ने गरेको, सुवासले सुनाए।

काम पनि सजिलो, हल्का र तलब पनि राम्रै त्यसमाथि खाने बस्नेसहित दुबईको १६ सय तलब भनेपछि त्यसबेला सबैजना मख्ख परेको सुवासले बताए। म्यानपावरले भनेबमोजिम ३० हजार बुझाएपछि तीन/चार महिनाको समय प्रोसेसका लागि लाग्ने भएकाले सबैजना चुप लागेर बसे।

त्यसपछिका दिनहरुमा भने उनीहरु झस्के। सुबासले भने, ‘फोन गर्यो भने, अब एक महिनामा हुन्छ भाइ भन्छन्, अर्को महिनामा फेरि गर्यो त्यस्तै भन्छन्, फोन गर्दागर्दै २१ महिना कटिसक्यो, यस्तै भइराखेको छ।’

उनी हातमा बोकेको म्यानपावरको भिजिटिङ कार्ड देखाउँदै भन्छन्, ‘यो म्यानपावरको डाइरेक्टर सम्झना बस्नेत हुनुहुन्छ। राम्रो कमाई हुन्छ भनेर बस्नेतले सुरुमै पैसा माग्नु भयो। उहाँले आफ्नो बैंक खाताको नम्बर पनि दिनु भएको थियो। हामीले चाहिँ आईएमई गरेर उहाँको नाममा पैसा हालिदियौं। हामी सबैसँग पैसा तिरेको रसिद छ।’

‘पहिला म्यानपावरको अफिस महाराजगन्जमा थियो, त्यही म्यानपावर भएको बिल्डिङमै मेडिकल गर्न पनि लगाए तर अहिले अफिस सरेको छ।’ भन्दै गर्दा सुबासको मोबाइलमा तिनै सम्झना बस्नेतको फोन आउँछ। पैसा पाउछु कि भन्ने आशय देखाउँदै सुबास हत्त न पत्त म्यानपावरबाट फोन आयो भन्छन्। त्यहाँ जिज्ञासाका साथ कुरा सुनिराखेकाले फोन लाउडमा राख्न आग्रह गर्दा सुबासले पनि त्यसै गर्छन्।

पीडित (सुवास खड्का) : हलो।

पीडक (सम्झना बस्नेत) : अ कहाँ हो?

पीडितः अहिले म वैदेशिक रोजगार विभागमा छु।

पीडकः अनि फोन गर्नु भयो त्यो सरले?

पीडितः फोन गर्नु भएको छैन, तपाईं आएर कागज गरिदिनु हुन्छ भने म उजुरी गर्दिन, कागज गर्नु हुन्न भने म आफ्नै तरिकाले गर्ने भए।

पीडकः ल ल आउआउ, बानेश्वर बुद्धनगरमा आउ।

पीडितः म आउदिन। पुल (बबरमहल नजिकै रहेको पुल) मा आउनु हुन्छ भने चाहिँ हामी आउछौं, अरु तिर आउदैनौं।

पीडकः ल ल पुलमै आउ न त।

पीडितः पुलमा आउनु हुन्छ?

पीडकः आउछु, आउछु।

पीडितः ल ठिक छ।

कुरा बुझ्दा सुवासले अहिल्यै पैसा दिन नसेपनि यो दिनसम्म दिन्छु भनेर कागज गरिदिनसमेत भनेका रहेछन्।
चिनेजानेका व्यक्तिमार्फत काठमाडौं आई म्यानपावरलाई पैसा दिएका उनीहरु सबैले पासपोर्ट भने लिइसकेका रहेछन्। तर पैसा उठाउन सकिराखेका छैनन्।

‘उनीहरुलाई मैले दिएको क्यास ऋण खोजेर ल्याएको हो। विदेश गएर कमाएर केही गर्छु भन्ने लागेर ऋण खोजेर विदेश जान लागेको थिए। ऋणै भएपनि गएको दुई–तीन महिनाभित्र तिर्छु, तिरेपछि मलाई पनि राम्रो हुन्छ, व्यवस्थित भइन्छ भन्ने लागेको थियो। तर उनीहरुको काम भनेको यस्तै रहेछ, मान्छेलाई बोलाउने, एड्भान्स माग्ने, ठग्ने रहेछन्’, सुवास भन्छन्, ‘त्यतिबेला हामीले भिसा आएपछि मात्रै पैसा दिन्छौं भनेका पनि थियौं। तर उनीहरुले भाइहरु यो एकदम राम्रो छ, अरु ठाउँको लागि हो भने अहिले पासपोर्ट मात्रै दिए हुन्छ र पछि भिसा आएपछि पैसा दिँदा हुन्छ तर यो कामको लागि भने हुँदैन। तिमीहरु जान्छौं भने जाओ यदि जादैनौं भने जति पनि मान्छे छन्, हामीसँग भने। काम तलब राम्रो भनेपछि हामी पनि होला राम्रो कमाई हुन्छ भनेर मख्ख पर्यौ।’

एकपल्ट काठमाडौं धाउदा आठ–नौ हजार खर्च हुने भएकाले म्यानपावरलाई पासपोर्ट बुझाएकै दिन सबैजनाले मेडिकलसमेत गरेको बताउने सुवास भन्छन्, ‘राम्रो, सजिलो काम छ गरौं न त भनेर म्यानपावर भएकै फ्लोरमा मेडिकल पनि गर्यौं, त्यो मेडिकल गरेको रसिद मेरो चाहिँ हरायो। मेडिकल गरिसकेपछि दुई महिनापछि फोन गर्नु भनेको थियो। त्यसपछि फोन गर्दै गयौं। कहिल्यै पनि भयो भनेनन्। त्यसपछि अब त भएन भनेर धेरै समय कुराएपछि हामीले पासपोर्ट निकाल्ने प्रक्रियातिर लाग्यौं। र, एकदिन खर्च गरेरै गाउँबाट आएर पासपोर्ट निकाल्यौं।’

आफ्नो पैसा माग्दा माग्दा नथाकेका सुवास चौकी आइज चौकीमा कुरा गर्छु भन्दै म्यानपावरले थर्काएको समेत बताए। उनी भन्छन्, ‘सरेको म्यानपावरको अफिस पनि थाहा छैन, एक्लो मान्छे कहाँ जाने? गुण्डा पालेका होलान कि? ज्यानको असुरक्षा जस्तो लाग्यो अनि म यहाँ (विभाग छेउ) आएको। यहाँ आएर तपाईँहरु पैसा दिनुहुन्छ कि म उजुरी गरिदिउ भन्दा, उजुरी नगर पैसा दिन्छु पनि भन्छन् तर जालझेल गर्दै टारिराखेका छन्।’

त्यसैबीच अर्का पीडित खगेन्द्रले फोन गरी पैसा पाए नपाएकोबारे सुबाससँग बुझ्न खोजे। उनीसँग पनि फोनबाटै जिज्ञासा राख्दा पीडित खगेन्द्र भने, ‘त्यो पैसा लिनको लागि पाँच–छ चोटी काठमाडौं आइसके दिन्छु भन्छन् तर दिँदैनन्। दाजुभाइ नै विदेश जानु पर्छ भनेर मेरो दाइले नै गएर पैसा दिएको हो। दाइले पैसा खोज ३०–३० हजार रुपैयाँ दिनेवित्तिकै हाम्रो काम हुन्छ भन्नु भयो। मैले त केही बुझेको थिइन, पैसा दिने मान्छेलाई चिनेको पनि थिइन। दाई पहिला पनि विदेश गएर आउनु भएको बुझ्नु भएको होला भनेर मैले ऋण खोजेर पैसा पठाए। त्यो ६० हजार पैसा आफ्नो पनि होइन।’

गत असारमा गएर पैसा दिने पीडक बस्नेतलाई भेट्दा अब चाँडै भिसा आउछ भनि आश्वासन दिएकी पीडित खगेन्द्रले सुनाए। उनले भने, ‘त्यो समयमा मैले अरुअरु म्यानपावरमा पनि गएर बुझे। उनीहरुले दुबईमा गार्डेनको काम गर्न जानेहरुको बेसिक तलब नौ सय मात्रै हुन्छ भनेकाले मैले यही कुरा सुनाउँदै दिदी तपाईंले किन ढाटेको भने। त्यतिबेला उनले भाइ अ हो नौ सय नै रहेछ भनिन्। त्यसपछि मैले तुरुन्तै पैसा र पासपोर्ट दिनु भन्दाखेरी पैसा पछि दिन्छु भन्दैभन्दै आजसम्म दिइएको छैन।’

म्यानपावर जाँदा पनि पैसा लिन छ भनेपछि पालेद्वारा भित्र छिर्न नदिने यदि छिरिहाले पनि पाँच–छ घण्टा कुराएर भोलि–पर्सि भनि समय थप्दै लाने गरेको गुनासो पोख्दै उनले भने, ‘धेरै चोटी झुक्याए। दाइले पनि काठमाडौं गएको बेला धेरै चोटी माग्यो तर दिएनन्। एकचोटी तिनीहरुले तैले जे गर्न सक्छस् गर भन्ने सम्मको कुरा गरे तर म अहिले गाउँमा छु, त्यहाँ भएको भए उजुरी गर्थे। पहिला पैसा दिन्छु भनेकाले केस पनि गरिएन, दिन्छ होला भन्ने भयो।’

फसेको पैसा म्यानपावरबाट पाइन्छ भन्ने आश मरिसकेको बताउने उनले सुबासले पैसा पाए भने काठमाडौं आएर आफूले पनि विभागमा उजुरी दिने बताएका छन्।

‘गाउँघरबाट सरसापट भनेर कागजै नगरी मुखको भरमा विदेश जाने भनेर ऋण दिनु भएको हो। अहिले मलाई घरमा साहुले च्यापच्याप्ती पारेकाले घरबाट पैसा लिएर आइज भनेर बुबाआमाले पनि काठमाडौं पठाउनु भएको हो।’ ३० हजार एड्भान्स बुझाएका सुबासलगायत पाँचै जनाले भिसा आइसकेपछि भने एक लाख ६० हजारमा दुबई उड्ने सोच बनाएका रहेछन्। अहिले सुबास मात्रै काठमाडौं पैसा उठाउन आएका छन्। सुवास भन्छन्, मेरो पैसा मिल्यो भने उनीहरु पनि तत्काल काठमाडौं आइहाल्छन्।’

सरकारले तोकेबमोजिम १० हजारमै विदेश जान पाइन्छ नि भन्ने जिज्ञासामा उनले भने, ‘तपाईं जहाँ जानु कुनैपनि म्यानपावरले १० हजारमा लादैन। उनीहरुले तोकेको पैसा दिन चाहेन भने, ठिकै छ पर्दैन विदेश जान भनिदिन्छन्।’

विभागमा उजुरी दिई हाल्यो भने पनि विभिन्न प्रक्रियाले गर्दा पैसा उठाउन लामो समय लाग्ने डर सुबासलाई रहेछ।
सोही समयमा सबै कुरा बुझाएर उनलाई विभागमा उजुरी गर्न आग्रह गरेपछि भने विभाग गएर गुनासो गरेका थिए।

विभागका एक कर्मचारीले पीडक बस्नेतलाई फोन गर्दा उनले एकघण्टा भित्रमा पैसा दिन्छु भनेकी थिइन्। तर यो समाचार तयार पार्दासमेत पीडित सुबासले भने पैसा पाएका थिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *