एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया प्रारम्भ

डिसी नेपाल
६ फागुन २०७७ २२:३७

काठमाडौं। स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियान अन्तर्गतको एक महत्वपूर्ण योजनामा हस्ताक्षर भएको छ। बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको हो।

काठमाडौंमा भएको एक कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा।बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीलगायत डा।खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका हुन्।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ। एनआरएनएका अध्यक्ष पन्तले अरू संस्थापकहरूले १० प्रतशित अर्थात् एक अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा एक अर्ब ७० करोड जुटिसकेको जनाए। ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन्।

अध्यक्ष पन्तले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको बताए। उनले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए। स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको भन्दै उनले खुशी व्यक्त गरे।

हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा।महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई थियो।

कुनैपनि देशको समृद्धिका लागि सामुहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनले बताए। नेपालमै पहिलो पटक यस्तो ठूलो राशीको लगानी हुन लागेको भन्दै डा।महतोले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे। नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने उनले बताए। नेपालमा यति ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै उनले कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। त्यस्तै, दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जनाइएको छ।

हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए स्र्पोस् एकेडेमीका उपसंयोजक धर्मराज गिरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्दप्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदिप न्यौपाने तथा महासचिव यमबहादुर क्षेत्री, तान्जानियाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनल मट्राई, कानूनी परार्मशदाताका प्रतिनिधि र संघका कार्यकारी निर्देशक राजेश राणा आदिको उपस्थिति रहेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *