सईको बढुवा जाम भएर निराशा उत्पन्न भएपछि प्रहरी नियमावली संशोधनको तयारी

डिसी नेपाल
११ फागुन २०७७ ८:५५

काठमाडौं। लामो समयदेखि नेपाल प्रहरीमा नायब निरीक्षक (सइ) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को बढुवामा समस्या आएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनको तयारी गरेको छ।

सईको बढुवा जाम भएर प्रहरीमा निराशा उत्पन्न भएपछि रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पूर्ति गर्ने प्रस्तावसहित नियमावली संशोधन प्रस्ताव अघि बढाइएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। प्रहरी प्रधानकार्यालयले पीसिसि बैठकबाट संशोधनका लागि स्वीकृति लिएर गृहमन्त्रालयमा सो प्रस्ता पठाइएको र अब बस्ने मन्त्री परिषदको बैठकले त्यसलाई पास गर्ने मन्त्रालय स्रोतले जनाएको छ।

‘प्रहरी प्रधान कार्यालयबाट यससम्बन्धी प्रस्ताव गृह मन्त्रालय आइसकेको छ अब मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भैरहेको छ’, मन्त्रालय स्रोतले भन्यो। हाल रिक्त पदमध्ये ४० प्रतिशतमा बढुवा र ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट भर्ना लिने गरिएको छ। यसले प्रहरीका जुनियर अधिकृतको बढुवा जाममा परेको छ।

सोही कारण यसलाई संशोधन गर्न लागिएको हो। गृह मन्त्रालयले लोकसेवा आयोगको राय लिएर नियमावली संशोधन प्रक्रिया अघि बढाउन लागेको हो। लोकसेवा आयोगले पनि आफ्नो राय दिइसकेकाले केही दिनमै नियमावली संशोधन गर्ने तयारी भएको हो।

नेपाल प्रहरीमा हाल कायम रहेको नियमावली अनुसार रिक्त पदमध्ये ६० प्रतिशत बढुवाबाट तथा ४० प्रतिशत भर्नाबाट पदपूर्ति गर्ने प्रावधान थियो। इन्सपेक्टरमा धेरै युवा भर्ना गर्ने उद्देश्यले नियमावली संशोधन भएपछि अहिले समस्या भएको हो।

नेपाल प्रहरीमा हाल इन्सपेक्टरका एक सय भन्दा बढी पद रिक्त रहेका छन्। रिक्त रहेका पदमा ६० जना भन्दा बढी बढुवा प्रकृयामा आउदा ४० जना नयाँ भर्ना खुलाइनेछ।

जसमा २०६३ सम्मका मात्र तीन सय १३ जना सइ प्रतिस्पर्धामा छन्। अहिले ४० जना बढुवा हुँदा सबैको बढुवा हुन अझै चार–पाँच वर्ष लाग्ने देखिन्छ। आगामी वर्षमा सइहरू एउटै पदमा २० वर्षसम्म रहने समस्या देखिएपछि नियमावली संशोधन गर्न लागिएको हो।

जुनियर अधिकृतहरुको बढुवामा देखिएको समस्या समाधान गर्न प्रहरी प्रधानकार्यालयले छलफल अघि बढाएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।

‘ केही कानुनी प्रकृयाहरु मिलाउनु पर्ने भएकाले प्रहरी प्रधानकार्यालय त्यसतर्फ लागेको छ’, प्रवक्ता कुँवरले भने। उनका अनुसार नियमावली संशोधन नै भए पनि समस्या समाधान भने हुँदैन। तीन सयजना प्रतिस्पर्धी रहेकोमा ४० जनाको ठाउँमा ६० जनाको बढुवा हुनेछ। समस्या समाधान गर्न सइ र इन्सपेक्टरको बीचमा नयाँ पद सिर्जना गर्नुपर्नेबारे बहस हुँदै आएको छ।

विगतमा करिअर प्लानिङअनुसार पद थपघट र भर्ना नहुँदा केही पदमा समस्या भएको हो। जवानबाट हबल्दार बढुवामा पनि १५ वर्षसम्म लाग्ने गरेको छ। भर्ना भएको १५ वर्षसम्म बढुवा नहुने समस्याले प्रहरीको मनोबल खस्किएको भन्दै उनीहरुले नेतृत्वलाई झक्झक्याउँदै आएका थिए। प्रहरी महानीरिक्षक शैलेश थापाले तल्लो तहका प्रहरी कर्मचारीहरुको पीरमर्का बुझ्न पाँच वटा समिति बनाएर प्रतिवेदन मगाएका थिए।

त्यसक्रममा उनीहरुले आफ्ना समस्याहरु समेत बताएका थिए। उनीहरुले ढिला बढुवा हुने र बढुवा पारदर्शी समेत नहुने गरेको उनीहरुले प्रहरी महानीरिक्षकले गठन गरेको सो सुझाव कार्यदललाई सुझाव दिएका थिए।

प्रहरीको योजना तथा विकास निर्देशनालय अन्तर्गत रहेको सो समितिले ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा गरिएको सर्वेक्षण मा करिब चार हजार तीन सय प्रहरीले आफ्नो धारणा राख्दा जुनियर अधिकृतलाई बढुवा ढिलो गर्ने र पारदर्शी समेत नहुने गरेको गुनासो गरेका थिए। प्रहरी प्रधानकार्यालयले सोही गुनासोलाई सम्बोधन गर्न पनि सइको बढुवाका लागि प्रहरी नियमावली संशोधन गर्नै तयारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *