संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास छः प्रचण्ड

डिसी नेपाल
११ फागुन २०७७ १६:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले आज पेरिसडाँडामा आयोजना गरेको ‘२० औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गरे ।

सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केहीदिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उनले भने, “ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।”

संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पारे ।

नेकपा मजदूर फ््रयाक्सन इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरे। “जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विनापारिश्रमिक कामबाट निष्काशित हुनु परेको छ”, उनले भने । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *