‘केपी ओली र प्रचण्डलाई हेर्ने कांग्रेसको दृष्टिकोण समान छ’

डिसी नेपाल
१३ फागुन २०७७ १४:४८

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै देशको राजनीतिले नयाँ मोड लिएको छ। दुई समूहका विभाजित नेकपाका दुवै समूह यतिबेला कांग्रेसलाई फकाउन लागि परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पदमा बसिरहन पनि कांग्रेसकै समर्थन आवश्यक पर्छ भने उनलाई हटाउन पनि कांग्रेसकै समर्थन चाहिन्छ।

तर कांग्रेसले सरकारका विषयमा के गर्ने भन्ने बारेमा केही निर्णय गरेको छैन। कांग्रेसभित्र सरकारमा सहाभागी नहुने पक्षको बाहुल्यता धेरै छ। तर आधिकारिक रुपमा कुनै पनि निर्णय गरेको छैन। यसै सेरोफेरोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरसँग डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले गरेको कुराकानीको संपादित अंशः

नेपाली कांग्रेस सभापतिको भित्री मनस्थिती हेर्दा निर्वाचनमै जाने जस्तो देखिन्थ्यो। अदालतले संसद पुनःस्थापना गरेसँगै अब नेपाली कांग्रेसको राजनीतिक रणनीति कस्तो होला?

अहिले नै केही भनिहाल्ने अवस्था छैन। पार्टी भित्र आन्तरिक सल्लाह र संवाद भइराखेको छ। सभापतिले निर्वाचनमै जाने भनेको होइन। तर, अदालतले निर्वाचनको पक्षमा फैसला आयो भने चुनाव लड्नु भनेर नेता कार्यकर्ताहरुलाई अपिल चाँही गर्नु भएको हो।

सभापतिको एउटै लक्ष्य के हो भने हामी लोकतन्त्र र कानुनी राज्यमा विश्वाश गर्ने भएकाले सर्वोच्चमा बिचाराधीन मुद्दालाई जे फैसला गरे पनि हामी स्वागत गर्छौँ भन्नु भएको हो। यो नै हामी लोकतन्त्रवादीहरुको संस्कार हो।

यो अप्ठेरो अवस्थालाई सहजतामा ल्याउन कांग्रेस गम्भिर छ। देशको इतिहासको हरेक कठिन कालखण्डमा कांग्रेसको नेतृत्वमा मात्र देशले निकाश पएको छ र अहिलेको राजनीतिक भूमरीबाट निकाश दिन पनि हामी सल्लाह र संवाद गर्दै छौँ।

सरकारका विषयमा पार्टीले चाँडै बैठक बसेर आफ्नो धारणा सार्वजनिक गर्छ। वर्तमान राजनीतिक घतनाक्रमलाई नियाल्दा कम्युनिष्ट भित्र विमति र असमझदारी मात्र छ। कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्व र सत्ता स्वार्थको लडाईँले देशले धोका खायो। यसको निक्र्यौल भएपछि कांग्रेसको थप रणनीति बन्छ।

नेकपाको औपचारिक फुट या जुट पछिको निर्णय पछि मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने या नगर्ने निर्णय गर्ने मनाशय देखिन्छ। यो निर्णयले कांग्रेसलाई दीर्घकालीन फाइदा हुन्छ ?

हामीले हाम्रो फाइदा भन्दा पनि देश र जनताको फाइदा हेर्ने हो। केपी ओलीजीले के सम्म भन्न भ्याए भने विपी कोइराला भएको भए एमाले हुन्थे। प्रचण्डजीले अब कांग्रेस टर्च लाईट बालेर खोज्नुपर्छ भने। त्यस्तो तल्लो स्तरको टिप्पणी गर्नुमा उहाँहरु कोही पनि चुक्नु भएन।

त्यसैले हाम्रो लागि सबै कम्युनिष्टहरु एउटै तराजुमा मापन हुन्छ। हाम्रो दृष्टिकोणमा एउटालाई सहजता र अर्कोलाई असहजताको व्यवहार छैन। त्यसैले उहाँहरुले आफ्नो असमझदारी के हो? जनता र हामीलाई प्रष्ट पार्नु पर्यो।

त्यस पछि हामी सरकारमा जान पनि सक्छौँ, नजान पनि सक्छौँ। तर संविधान जोगाउन हामी जस्तो सुकै समर्पण गर्न पनि सक्छौँ। त्यसैले अब बस्ने पधाधिकारी र केन्द्रीय समितिको बैठकले नै आगामी बिषयको निर्णय गर्छौँ।

नेकपा (प्रचण्ड–नेपाल) समूह बाट सभापतिलाई सरकारको नेतृत्व गर्न प्रस्ताव आएको छ यो विषयको कहिले निर्णय होला?

उहाँहरुबाट तपाईँ प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्ताव आएको छैन। यो कुरा बाहिरको अड्कलवाजी मात्र हो। खास कुरो के हो भने परिस्थति जे जस्तो भए पनि देश अप्ठेरो अवस्थामा छ।

यो अप्ठेरो अवस्थालाई सहजतामा ल्याउन कांग्रेस गम्भिर छ। देशको इतिहासको हरेक कठिन कालखण्डमा कांग्रेसको नेतृत्वमा मात्र देशले निकाश पएको छ र अहिलेको राजनीतिक भूमरीबाट निकाश दिन पनि हामी सल्लाह र संवाद गर्दै छौँ।

यदि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्यो भने नेकपाको कुन समूहसँग सहकार्य गर्छ ?

सरकारमा जानु मात्र हाम्रो प्राथमिकता होइन। र, मैले अघि नै भनिसकेँ कम्युनिष्टप्रति हाम्रो तराजु एउटै छ। उहाँहरुले जनताको अभिमतलाई किन अपमान गर्नु भयो? देशलाई किन बर्बाद पार्नु भयो? त्यो प्रमुख विषय हो। त्यो कुराहरु चाडो टुङ्याउनु पर्छ। स्वर्थ, सत्ता, पद के को लडाईँ हो? एउटा निष्कर्षमा पुगेर जनता देश र हामीलाई प्रष्ट पानुपर्यो।

एमसीसीको सम्झौता कंग्रेसकै सरकारको पालमा भएको हो। एमसीसी संसदबाट पारित गर्ने विषयमा प्रधानमन्त्री ओली लागीपर्नु भएको छ। कांग्रेस पनि पारित गर्ने विषयमा सकारात्मक छ। यही विषयले केपी शर्मा ओली समूहसँग सहकार्य गर्ने सम्भावना कत्तिको छ?

सहकार्य जो सँग पनि हुन सक्छ। प्रचण्डजी र केपीजीलाई हेर्ने दृष्टिकोण समान छ। अहिले हामी सरकारमा जाने कि समर्थन मात्र गर्ने या, अन्य विकल्प बारे ठोस निर्णयमा पुगेका छैनौँ। त्यसैले यो र त्यो पक्ष भनेका छैनौँ ।

एमसीसीलाई हाम्रो पर्टीका केही साथीहरुबाट पनि र नेकपाका दुबै समूहका नेताहरुबाट पनि अतिरन्जित बनाइएको छ। एमसीसीलाई नै मापदण्ड बनाएर सरकारलाई समर्थन या नेतृत्व गर्ने भन्ने कुरा हुँदैन।

प्रचण्डबाट २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वानमा पार्टीलाई धोका भयो भनेर गम्भीर समीक्षा भएको थियो। यस हिसाबले उहाँको पक्षसँग सहकार्य गर्ने सम्भावना कस्तो छ ?

राजनीतिक रुपमा प्रचण्डजीले धेरै धोका दिएका छन्। उहाँ अस्थिर राजनीतिज्ञ नै हो। उहाँलाई जंगलबाट शान्तिमा ल्याउने गिरिजाप्रसाद कोइरालासम्मलाई धोका दिन सक्नु हुन्छ।

उहाँले छोरी जिताउन हामीसँग सहकार्य गर्नुभएको थियो। बीचमै छाडेर जानु भयो त्यसको क्षति हामीले व्यहोर्नु पर्यो। त्यसैले अब प्रचण्डजी संस्कारको राजनीति सहित प्रस्ताव गर्न सक्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *