एनआरएनए अमेरिकाको फर्जी मतबारे छानविन समितिले प्रतिबेदन बुझायो

डिसी नेपाल
१६ फागुन २०७७ ६:३८

वासिंगटनडिसी । गएको निर्वाचनमा नक्कली मतदाता तयार गरी धांधली गरिएकोबारे छानविन गर्न गठित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को समितिले छानविन प्रतिवेदन बुझाएको छ ।
सन् २०१९ मा भएको एनआरएनए एनसीसीको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित बनेका सुनिल साहमाथि नक्कली मतदाता बनाई चुनाव जितेको आरोप लाग्दै आएको छ । एउटै व्यक्तिको परिचय पत्रमा तीनपटकसम्म मतदान गर्न सक्ने बनाएको, नक्कली नाममा विभिन्न इमेल आईडी बनाएर मत दिने व्यबस्था मिलाएको, आफ्नै परिवारका नाममा रहेको आईटी कम्पनीमार्फत मतदाता र सदस्यतासम्बन्धि काम गराई निर्वाचनमा धांधली गरेकोजस्ता आरोप हाल एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहमाथि लाग्दै आएका छन् । प्रमाणित नगरिएका २०९३ जनाको संख्यामा मतदाताहरुले मतदान गरेकोले निर्वाचनमा धांधली गरेको आरोप अध्यक्ष साहले आफ्नो दुईबर्षे कार्यकालभरि खेप्दै आएका छन् । यसबारे अमेरिकाको अदालतमा समेत मुद्धा विचाराधीन छ ।
नक्कली मतदाता बनाएर चुनाव जितेको विवादले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुमा संस्थाप्रति नै वितृष्णा बढेपछि एनआरएन, आईसीसीले यसबारे छानविन गर्न अक्टोबर २५, २०२० मा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । एनआरएन आईसीसीको अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजकत्वमा गठित सो समितिले २०९३ भोटका बारे वास्तविकता पत्ता लगाई आफ्नो प्रतिवेदन बुझाएको बताइएको छ । प्रतिवेदन एनआरएन आईसीसीलाई नै बुझाइएको छ ।
छानविनको काम पूरा भई प्रतिवेदन बुझाएकोबारे एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै संयोजक त्रिपाठीले अमेरिकाबासी नेपालीहरुलाई जानकारी गराएका छन् । उनले विज्ञप्तिमा आफूलाई दिइएको जिम्मेबारी पूरा गरेको उल्लेख गर्दै छानविनका क्रममा सूचना उपलब्ध गराएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

विज्ञप्तिमा छानविन समितिले विवादास्पद २०९३ भोटबारे के पत्ता लगायो ? भन्ने कुरा भने उल्लेख गरिएको छैन । राष्ट्रिय समन्वय परिषद् सुधारका लागि आफूलाई जिम्मेवारी दिएकोमा संयोजक त्रिपाठीले आईसीसीलाई धन्यवाद दिएका छन् ।
गत निर्वाचनमा फर्जी मतदाता प्रयोग गरी चुनाव जितेको विषयको छानविन प्रतिवेदन सार्वजानिक भए यसले गैरआवासीय नेपाली संघ अमेरिकाको अवको निर्वाचनमा निकै महत्व राख्ने निश्चित छ । प्रतिवेदनलाई आईसीसीले सार्वजानिक गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *