एक महिनाभित्र पार्टी एकता भइसक्छ : लालबाबु पण्डित

डिसी नेपाल
१६ फागुन २०७७ ११:००

काठमाडौं। पार्टी विभाजन पछि कुनै पनि समूहका नलागी एकताको अभियान चलाइरहेका नेकपा नेता लालबाबु पण्डितले अबको एक महिनाभित्र दुई समूहका विभाजित नेकपा एकीकरण हुने दाबी गरेका छन्।

कानुनी रुपमा नेकपा अहिले पनि एउटै रहेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता पण्डितले व्यवहारिक रुपमा अब एक महिनाभित्रै पार्टी एक हुने दाबी गरेका हुन्।

‘म अहिले पनि पार्टी एकताका लागि प्रयासरत छु,’ नेता पण्डितले डिसी नेपालसँग भने, ‘कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेस नेतृत्वमा सरकार बनाउने कुरा आउँदैन। सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले नै गर्ने हो। अबको एक महिनाभित्र पार्टी एक भइसक्छ।’

पार्टी एकताका धेरै आधार तयार भइसकेको दाबी गर्दै नेता पण्डितले सबै विषय अहिले नै सार्वजनिक नगर्ने बताए। ‘बनाउने थोरै हुन्छन्, भत्काउने धेरै हुन्छन्,’ उनले भने, ‘अहिले नै सबै कुरा प्रचार गर्यो भने बन्न लागेको विषय पनि बिग्रिन्छ। एकता अभियानको परिणाम अब एक महिनापछि देखिन्छ।’

पार्टी एकताका लागि आफू प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा प्रचण्ड–माधव नेपाल समूहका शीर्ष नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको बताए। पार्टी एकताको पक्षमा केही युवा नेतापनि सक्रिय रहेका छन्।

तर उनीहरुले एक समूहमा लागेर एकताको कुरा गरिरहेको उल्लेख गर्दै नेता पण्डितले आफू कुनै पनि समूहमा नलागी एकताको प्रयास गरिरहेको र आफ्नो प्रयासले सार्थकता पाउने दाबी गरे।

प्रचण्ड–माधव नेपाल समूहले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग भेट गरेको प्रति असन्तुष्टि जनाउँदै नेता पण्डितले आफ्नो दलमा स्पष्ट बहुमत हुँदाहुँदै अन्य दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गर्नु उचित नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *