विप्लव समूहसँग चाँडै वार्ता गर्छौँं: प्रधानमन्त्री

डिसी नेपाल
१६ फागुन २०७७ १६:३४

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीले भने । सरकारले २०७५ फागुनदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री ओली आइतबारै झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरे। उनले कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुलको पनि उद्घाटन गरे । त्यसपछि उनले आफ्नो गृहनगर दमक –१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन गरे ।

उनले सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुगेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *