फलफूल पसलको नाममा हुण्डी कारोवार गर्ने तीन जना पक्राउ

डिसी नेपाल
१६ फागुन २०७७ २१:४४

काठमाडौं । फलफूल पसलको नाममा हुण्डी कारोवार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले कुलेश्वरमा फलफूल पसल गर्ने तीन जनाको साथबाट करिब १९ लाख रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं परिसर महानगरीय वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले हुण्डि कारोबार गरिरहेको अबस्थामा नगद १८ लाख ७८ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका–१३ घर भइ हाल काठमाडौंको कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफुल बजारमा फलफुल पसल नं.३०९ र ३१० का सञ्चालक वर्ष ३७ का नवराज कार्की, सोही स्थान घर भइ तारकेश्वर नगरपालिका–१० बस्ने सोही नवराज कार्कीको पसलका कामदार वर्ष २४ का सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भइ कुलेश्वर बस्ने वर्ष ५६ को सत्य नारायण प्रसाद रहेको प्रहरीले जनाएको छ ।

वृत्तका प्रमुख डिएसपी अपील बोहोराले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । यसअघि पनि प्रहरीले कालिमाटीबाट हुण्डी कारोवारीलाई नियन्त्रणमा लिएको थियो । गत साउनमा महानगरीय अपराध महाशाखाको टोलीले विशालबजारबाट १९ लाख ९१ हजार नगदसहित स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *