फुटपाथको पीडा :चुस्त व्यवस्थापन नहुँदा सबैलाई पिरलो

उपेन्द्र शाही
२० फागुन २०७७ ७:००

काठमाडाै। घडीमा साँझको ५ बज्यो। घाम अस्ताउन थाल्यो। रामेछाप दोरम्वाका ४७ वर्षीया मानबहादुर थापाको दिन सुरु भयो। सधैँ झैँ उनी त छाड म छाड गरेर न्यूरोडको सडक पेटीमा कपडा मिलाउँदै कराउन थाल्छन्, ‘५ सयको दुईटा ५ सयको दुईटा।’

फुटपाथ पसल गरेर पाँच सदस्यीय परिवारको जीविको धान्दै आएको १६ वर्ष भयो उनले। उनका तीन छोरी र एक छोरा छन्। एक छोरी र श्रीमतीलाई गाउँमै छोडेका उनी दुई छोरी र एक छोरासँगै काठमाडौं बस्दै आएका छन्।

‘लकडाउनले पिरोल्नु पिरोल्यो। भात खानै गाह्रो छ। २/४ पैसा कमाई हुन्छ कि भन्ने आशले बन्द कपडाको पोको फेरि खोलेको हुँ,’ उनले भने, ‘भाडा तिर्न सकेको छैन, अझै तीन महिनाको भाडा व्यापार भएपछि तिर्ने सर्तमा घरबेटीलाई मनाएको छु ।’

त्यही भीडमा व्यापारी बनेका थिए सिराहा गोल बजारका १० वर्षीया देभनाथ साह। सिरानीको व्यापार गर्दै बसेका उनले यो व्यापार थालेको एक महिना बितेछ। ‘उ त्याँ पर मेरो दाइ छ उसले झोला बेच्दै छ,’ उनले भने, ‘कहिले काँही व्यापार हुन्छ, कहिले हुँदैन।’

ललितपुरको मंगलबजारमा फुटपाथ पसल गरिरहेकी बबिता कार्की मंगलबार साँझ ग्राहक कुरिरहेकी थिइन्। ‘लामो समय लकडाउनले व्यापार गर्न पाइएन भएको पैसा सबै सकियो। स्थिति डामाडोल छ,’

रोजगारीका लागि काठमाडौं उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन्। नगरपालिकाको डरले उनीहरु दिउसोभर लुकामारी गरिरहन्छन् भने बिहान र बेलुकीको २/२ घण्टा व्यापारले जीविको चल्नै मुस्किल भएको गुनासो गर्छन्।

उनले भनिन्, ‘महानगरले समान राख्न दिदैँन। बेलुका पाँच बजेदेखि खोल्न त पाइन्छ तर मान्छेहरु त्यति धेरै हुँदैनन्। छोरा छोरी पाल्नु यही व्यापारको भरमा हो। विदेश गएका श्रीमान पनि समस्यामा छन्। यो २ घण्टाको व्यापारले कति हुनु। सरकारले केही गरेर खानपनि नदिने भयो। कमसेकम दिउँसो पनि पसल सञ्चालन गर्न दिए हुन्थ्यो नि।’

‘दिनभरि नगरपालिकासँग लुकामारी चलिरहन्छ। पाँच बजे पछि मात्रै २ घण्टा समान राख्न दिएको छ। यसरी त कसरी चल्ला? हामी यही व्यापारको भरमा खाने हो। यही व्यापारको भरमा सुत्ने हो। कहिलेकाँही त त्यही पनि स्यालले कुखुरा झम्टिएजस्तो नगरपालिकाले लगेर जान्छ। खोज्न जाँदा केही भेटिदैँन, उही कुखुराको रौँ जस्तो।’

उनी हुन् गोर्खाका ५० वर्षीया रंगडोल लामा। घर परिवारको गुजारा चल्दै आएको थियो। उनी भन्छन्, ‘लकडाउनले सखापै पार्यो नि। हामीलाई कसले हेथ्र्यो र ? नेताहरुलाई आफ्नै पेट भरे पुग्ने।’

काठमाडौं उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने यस्ता हजारौँ मानिस छन्। भीडभाड हुने ठाउँमा फुटपाथ व्यापारीको संख्या बढ्दो छ। बालबालिकादेखि वृद्धसम्म थरी थरीका मानिसहरुले थरीथरीका समान राखेर सडकपेटीमा बसेको देखिन्छ। सडकमा व्यापार कोही कसैले रहरले गर्दैन। जिवीकोपार्जनको अन्य विकल्प नभएपछि मान्छे सडकको विकल्प रोज्न बाध्य हुन्छन्।

चुस्त व्यवस्थापन नहुँदा पिरलो सबैलाई

साना खुद्रा व्यवसायीले छरपस्टरूपमा चारपाङ्ग्रे ठेला, साइकल, डोकामा सामान राखेर सडकपेटी, चौतारालाई नै ‘सटर र पसल’ मान्दै व्यवसाय चलाउँदै आएका छन्। सामान्यतया सडकको पेटीमा विना इजाजत, विना सहमति, विना जानकारी अवैधानिक रुपमा व्यापार संचालन गर्ने व्यापारलाई फुटपाथ व्यापार भनिन्छ।

खासमा यो व्यापार गर्न आफ्नो व्यवसाय कतै दर्ता गर्न पनि पर्दैन, कसैको स्वीकृति पनि लिन पर्दैन र कसैलाई बिक्री गर्ने सामानको गुणस्तर पनि जाँच गर्न पर्दैन। यसको चुस्त व्यवस्थापनमा ध्यान नपुग्दा यसले सबैलाई पिरलली रहेको छ।

यसरी एकातिर रोजगारीका लागि काठमाडौं उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन्। नगरपालिकाको डरले उनीहरु दिउसोभर लुकामारी गरिरहन्छन् भने बिहान र बेलुकीको २/२ घण्टा व्यापारले जीविको चल्नै मुस्किल भएको गुनासो गर्छन्।

अर्कोतिर फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन्। सडकपेटीहरुमा भएको भद्रगोल फुटपाथले मान्छेहरु साँघुरो बाटामो ठेलमठेल गर्दै अगाडि बढिरहेका हुन्छन्।

यो समस्याले पैदलयात्रुलाई पिरोली रहेको हुन्छ। सवारी चालकको र स्थानीय व्यापारीहरुलाई पनि यस्तो भिडले प्रभाव पारिरहेको हुन्छ।अन्तर्राष्ट्रियस्तरमा समेत फुटपाथका कारण नकारात्मक छाप पर्न जान्छ। यहाँ घुम्न आउने पर्यटकसमेत अव्यवस्थित फुटपाथले हैरान हुनु पर्ने अवस्था छ।

अर्कोतिर काठमाडौं उपत्यकाका स्थानीय जनप्रतिनिधिहरुले फुटपाथलाई आफ्ना नीति तथा कार्यक्रमको प्राथामिकतामा राखेको देखिन्छ। समय समयमा फुटपाथ व्यवस्थापनमा स्थानीय सरकारहरुले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन।

सरकारले फुटपाथ व्यवसायीहरुलाई निश्चित ठाउँमा वैधानिक रुपमा व्यवस्थापन गर्न सक्नु पर्छ। यसले सम्बन्धित व्यापारीको रोजी रोटी खोसिने डर हुँदैन। यस्तै सस्तो खोज्ने उपभोक्ताको चाहना पनि पूर्ति हुन्छ भने सरकारको स्वस्थ र सफा सहरको रणनीति पनि साकार हुन्छ।

यसरी फुटपाथ भद्रगोल बन्दै गएको अवस्थामा भविश्यमा ठूलो समस्याको रुपमा खडा हुने पर्यटन व्यवसायी विश्वास न्यौपाने बताउँछन्। मानिसहरुले सस्तो किन्न पाउनु पर्छ बेच्नेले पनि बेच्न पाउनु पर्छ। यसलाई हटाउने भन्दा पनि उचित व्यवस्थापनको खाँचो छ। फुटपाथ व्यवसायलाई एकीकृत गरी कडाइका साथ कार्यन्वयन भएमा यो समस्या हल हुन सक्छ। तर, हिजो भन्दा आज, आज भन्दा भोली यो समस्या झन विकराल हुँदै गएको छ। यसले चिन्तित तुल्याएको छ।

कार्यक्रम बनेन अझै

विगतमा डण्डा बर्साएर फुटपाथ हटाउने असफल प्रयास गरिएको हो। तर, यसको व्यवस्थापनको बारेमा स्थानीय सरकारहरुले अझै चुस्त रणनीति तय गर्न सकेका छैनन्।

अहिले फुटपाथलाई कव्जा र जफतको रणनीतिमा सरकारले काम गरिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए। उनले फुटपाथ व्यवस्थापन महानगरको प्राथामिकता रहेको बताए। यो विषयमा छलफल भइरहेकोले छिट्टै नयाँ रणनीतिमार्फत फुटपाथ व्यवस्थापन गरिने उनको भनाइ छ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटा भने महानगरले फुटपाथमा निगरानी तिव्र पारेको बताउँछन्। दिनमा ५० जना सम्मको समान जफत भइरहेको उनको भनाइ छ। उनले भने, ‘समानहरु जफत गरिरहेका छौँ। पक्राउ परेको समान लिलाम गर्ने, नष्ट गर्ने, जरिवाना लगाएतका नीति अपनाएका छौं।’

उनले गत वर्ष मात्रै ७२ लाखको समान लिलाम गरिएको बताए। अनुगमनका लागि महानगरले ट्याक्स फोर्सको रुपमा १७ जनालाई खटाएको छ।

यस्तै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजनको भनाइ पनि उस्तै छ। उनले भने, ‘पहिले हामी फुटपाथहरुसँग कडा रुपमा प्रस्तुत भएका हौँ। जनताबाट त्यसको चर्को आलोचना भयो। कसैले ताजा तरकारी खान पाएनौँ भने, कसैले केही। त्यसपछि हामी फुटपाथ हटाउने भन्दा पनि व्यवस्थापन गर्नेतिर केन्द्रित छौँ। हाल विहान तरकारीको लागि ५ बजेदेखि ७ बजेसम्म र बेलुका पनि सोही समयमा पसल सञ्चालन गर्न दिएका छौँ। यसको दीर्घकालीन समाधानका लागि महानगरले उचित कदम चाल्ने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *