हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

डिसी नेपाल
२१ फागुन २०७७ ८:१९

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ। खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ। मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन।

यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो। अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए।

यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ। प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। पिप्ले युवा क्लबले ट्र्याक मात्र नभई मैदानको दक्षिणतर्फ प्यारापिट पनि निर्माण गर्ने भएको छ । कङ्क्रिट प्यारापिटका लागि उपमहानगरबाट रु २० लाख बजेट उपलब्ध भएको छ।

मैदान सम्याउने र घाँस उमार्ने काममा हाल पिप्ले युवा क्लब व्यस्त छ। विगतमा कार, मोटरसाइकल सिक्ने मैदानका रूपमा प्रयोग हुँदै आएको क्याम्पाचौरलाई तारजाली लगाएर सुरक्षित गरिएको छ। पिप्ले युवा क्लबले मैदानबाहिर हरियाली बगैँचा पनि निर्माण गर्दैछ। रुख, फलफूलका बिरुवा रोपण गरेर मैदानलाई हरियाली बनाउने योजना क्लबको छ। डिभिजन वन कार्यालय मकवानपुरले बगैँचासहितको संरचना निर्माणका लागि रु १० लाख उपलब्ध गराएको छ। क्लबले खुला जिमहाउससमेत निर्माण गर्ने योजना बनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *