म ‘वेटिङ प्राइममिनिस्टर’ हुँ तर बन्दिन : देउवा

डिसी नेपाल
२२ फागुन २०७७ १५:४१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री दौडमा नरहेको बताएका छन्। नेकपा भित्रको विवादका कारण केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने चर्चाका बीच देउवाको यो भनाइ आएको हो।

नेकपा अहिले दुई समूहमा विभाजित भए पनि आधिकारिक रुपमा पार्टी विभाजन भने भइसकेको छैन। तर, प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। र सो समूहले देउवालाई प्रधानमन्त्री बन्न अफरसमेत गरेको चर्चा छ। यस्तो परिस्थितिमा देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको अभिव्यक्ति दिएर राजनीतिमा अर्को तरंग ल्याइदिएका छन्।

शनिबार देउवा निवास बुढानिलकण्ठमा पार्टी नेता नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन गर्दै देउवाले पार्टी भित्रैका नेताहरुमा देउवा प्रधानमन्त्री बन्ने चिन्ता लागेको भन्दै आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका हुन्।

उनले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्राइममिनिस्टर हुने भए पनि आफू त्यसको लोभमा नरहेको बताए। उनले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट दिएको उल्लेख गर्दै आफूमा प्रधानमन्त्री बन्ने कुनै लोभ नरहेको बताए।

आइतबार प्रतिनिधिसभाको अधिवेशन शुरु हुँदैछ। अधिवेशन शुरु भएसँगै सरकार ढाल्ने र बनाउने खेल शुरु हुने अनुमान छ। तर, सबैभन्दा पेचिलो मुद्दा सत्तारुढ दलको विवाद छ। पार्टी विभाजनकै तहमा पुगे पनि निर्वाचन आयोगले निर्णय नदिँदा नेकपाको अवस्था अहिले स्पष्ट छैन। जसको प्रभाव आइतबार शुरु हुने संसदमा पनि पर्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *