ओली समूहको संसदीय दलको बैठकमा पनि ११५ जना उपस्थित!

डिसी नेपाल
२२ फागुन २०७७ १६:३७

काठमाडौं। सत्तारुढ दल नेकपा आधिकारिक रुपमा एउटै पार्टी भए पनि गतिविधि भने दुई पार्टीको जस्तै छ। त्यसैले दुबै समूह छुट्टा छुट्टै बैठक गरिरहेका छन्। प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्यो भने प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिबार बालुवाटारमा बस्यो।

यी दुबै बैठकमा सहभागी हुने सांसदहरुको संस्था भने दुबैतर्फको दावीअनुसार ११५–११५ रहेको छ। जबकी एकीकृत नेकपाको सांसद संख्या जम्मा २२० मात्र हो। यसरी हेर्दा दुई मध्ये कुनै एक समूहले वा दुबै समूहले बैठकमा सहभागी सांसदहरुको संख्या ढाँटिरहेका छन्।

शनिबारको बालुवाटार बैठकमा ११५ जना सांसद उपस्थित रहेको ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘अरुको कुरा हामीलाई थाहा छैन, आजको बैठकमा ११५ जनाको उपस्थिति थियो।’

उनले बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई संसद बैठकमा गम्भीर भएर प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘हामीलाई प्रधानमन्त्री हटाउनु छैन, त्यसैले कुनै निर्णय गर्ने भन्ने कुरा भएन। संसदको अधिवेशन शुरु हुने भएकाले त्यसमा कसरी प्रधावकारी रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो। प्रधानमन्त्री ज्यूले छोटो मन्तव्य दिँदै सांसदहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुन भन्नु भएको छ।’

उता शुक्रबारको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा ११५ जना उपस्थित रहेको सो बैठकको अध्यक्षता गरेका झलनाथ खनालले डिसी नेपालसँग दावी गरेका थिए।

शुक्रबार बेलुका भैंसेपाटीस्थित वामदेव गौतमको निवासमा पुगेर प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा उपस्थित हुन गौतमलाई आग्रह गरेकाले शनिबारको बैठकमा गौतम उपस्थित हुने चर्चा थियो। तर, गौतम बालुवाटार नभएको गौतम निकट स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *