सर्वोच्चको फैसलाको साइड इफेक्ट : एमाले र माओवादी ब्युँतिने चर्चा, संकटमा सत्तारुढ दल

डिसी नेपाल
२३ फागुन २०७७ १५:४२
1.4k
Shares

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विरुद्धमा फैसला गरेसँगै अब एमाले र माओवादी ब्युँतिने चर्चा शुरु भएको छ। तत्कालिन एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवास नेम्वाङले सर्वोच्चको फैसलाको पूर्णपाठ हेरेपछिमात्र केही भन्न सकिने प्रतिक्रिया दिए। उनले भने, ‘पूर्णपाठ मगाएको छु। अब पहिलाकै अवस्था (एमाले र माओवादी)मा फर्काउने कुरा छ भन्ने छ। हेरौं केके हुन्छ ?’

तर निर्वाचन आयोगमा हाल गोपाल किराँतीको नेतृत्वमा नेकपा माओवादी नामको र सन्ध्या तिवारीको नाममा नेकपा एमाले नामको दल दर्ता छ। त्यसैले यो विषय कसरी किनारा लाग्छ भन्ने विषय अन्यौल बढेको छ।

निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र माओवादी पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दल दर्ता गरेकोलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाममा निर्वाचन आयोगले अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार सर्वोच्चका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको सँयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाउँदै ओली–प्रचण्ड नेतृत्वको नेकपाको दर्ता खारेज गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

सर्वोच्चको यो फैसलासँगै व्यवहारिक रुपमा विभाजित बनेको सत्तारुढ दल नेकपाको विषय झन पेचिलो बनेको छ। हाल सत्तारुढ दल नेकपा पनि दुई समूहमा विभाजित छ। तर, निर्वाचन आयोगले विभाजनलाई कानुनी मान्यता दिएको छैन। अब सो नामको दल नै खारेज भई ऋषि कट्टेल नेतृत्वको नेकपा दर्ता हुने भएपछि केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेका नेकपाको भविष्य के हुन्छ भन्ने थप अन्यौल बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *