के गर्दै छन् सभापति देउवा ?

डिसी नेपाल
२७ फागुन २०७७ १७:२३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयदेखि, सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गर्दासम्म प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ठोस निर्णय लिन नसकेको भन्दै आलोचना भयो। अहिले नेकपाको वैधानिकताबारे फैसला गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि संसदमा फेरिएको समीकरणमा पनि कांग्रेस अझै अनिर्णित छ।

एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। यद्यपी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भने छैन।

संसदीय व्यवस्थामा विपक्षी दलको नेता भनेको प्राइममिनिस्टर इन वेइटिङ हो। तर अझै पनि भावी सत्ता समीकरणबारे काँग्रेस सभापति मौन जस्तै छन्। यतिमात्र होइन बुढानिलकण्ठको ढोकमा प्रधानमन्त्री पदले ढक्ढक्याउँदा पनि देउवाले ढोका नखोलेको चर्चा राजनीतिक वृत्तमा छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जसरी पनि वर्तमान सरकारलाई हटाउने पक्षमा छन्। उनी आफू प्रधानमन्त्री हुनु भन्दा पनि ओली सरकार बर्हिगमनलाई आफ्नो सफलता ठान्ने पक्षमा छन्। त्यसैका लागि दाहालको राजनीतिक भेटवार्तामा बाक्लिएको छ। तर शेरबहादुर देउवा सत्ता र सरकारको बिषयमा उदासीन देखिन्छन्।

देउवा हतारमा निर्णय नलिने मनशायमा रहेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक बताउँछन्।

संसदको तेस्रो शक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक संवादमा दौडधुप गर्दा प्रमुख प्रतिपक्ष दलका सभापतिको निश्क्रियता अचम्म लाग्दो छ। गठबन्धनका दलहरु नै प्रष्ट नभएकाले सभापति देउवा भदौमा हुने महाधिवेशन मै बढी केन्द्रित भएको नेता लेखक बताउँछन्।

कांग्रेसको भित्री चाहना के हो ?

प्रतिनिधिसभा विघटन भएदेखि पुनःस्थापनासम्म प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले हतारिएर निर्णय नगर्नुको प्रमुख कारण तत्कालीन नेकपाको वैधानिकता नै भएको नेता लेखक बताउँछन्।

‘अहिले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ सरकार समीकरणको लागि सभापति शेरबहादुर देउवासँग छलफल गर्न त आउनुभएको थियो। तर हामीभन्दा उहाँहरुको नै प्रष्ट राजनीतिक धारणा छैन,’ लेखकले डिसी नेपालसँग भने, ‘ओली सरकारलाई समर्थन फिर्ता नगरी नयाँ सरकार समीकरण भन्दै प्रस्ताव राख्नुले निर्णयमा पुग्न असहज भएको छ।’

अहिले तत्काल कांग्रेसले चाहँदैमा ठूलो चमत्कार नहुने भएकाले विधिविधान अनुरुप लोकतान्त्रिक ढङ्गबाट नै निर्णय लिने उनको भनाइ थियो।

लेखक भन्छन्, ‘जनताको म्यान्डेट प्रतिपक्ष नै हो तर सरकारको असक्षमता र अलोकप्रियताले मुलुकले गलत दिशामा गएको अवस्था छ । मुलक र सरकारलाई सहि दिशामा लान हामी अझै नयाँ राजनीतिक घटनाक्रमले सृजना गर्ने घटना पछि ठोस निर्णय लिने मनासय छौँ।’

उनले अगाडि थपे, ‘प्रतिपक्ष दलको सभापति र संसदीय दलको नेता नै शेर बहादुर देउवा हुन्। त्यसैले अहिले प्रधानमन्त्रीको प्रस्ताव आए पनि रानीतिक घटनाक्रम अझै प्रष्ट भएको छैन। हामी पर्ख र हेरको रणनीतिमै छौँ।’

भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने वाध्यात्मक परिस्थति भएकाले सरकारभन्दा महाधिवेशन केन्द्रित रहेको लेखक बताउँछन्।

नेता लेखकको भनाइसँग राजनीतिक विश्लेषक पुरञ्जन आचर्य पनि सहमत देखिन्छन्। उनले डिसी नेपालसँग भने, ‘सभापति देउवा अहिले प्रधानमन्त्रीभन्दा पनि १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुने विषयमा केन्द्रित भएको देखिन्छ।’

त्यसो त काँग्रेस यतिबेला सरकार बनाउनका लागि सक्रिय हुनुपर्ने अवस्था नै नरहेको उनको विश्लेषण छ। माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइनसकेको, माधव नेपालहरु वामपन्थी सरकारकै पक्षमा रहेको र जनता समाजवादी पार्टीले दोहोरो भूमिका खलिरहेको बेला काँग्रेसले सरकार बनाउनका लागि पहल गर्न नै नसक्ने उनको भनाइ छ। उनले भने, ‘जम्माजम्मी ६१ सिट रहेको पार्टीले सरकार बनाउनका लागि पहल गर्ने कुरा पनि भएन।’

यतिमात्र होइन देउवा प्रधानमन्त्रीका लागि अग्रसर भए काँग्रेस भित्रैबाट उनलाई रोकिने सम्भावना पनि रहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलहरुले देउवालाई सहज रुपमा प्रधानमन्त्री बन्न दिने अवस्था नरहेको विश्लेषक आचार्य बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *