मेयर्स कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

डिसी नेपाल
२९ फागुन २०७७ १५:४०

काठमाडौं। नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए। दिपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे। एपीएफका अविनास बोहरा र भुवन कार्कीले १र१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो। एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८–१८ रन बनाए।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए। कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे। कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४–४ विकेट लिए। गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए। पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट लिए।

उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ। प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *