बौद्धनाथ क्षेत्रमा टिकटक बनाउन प्रतिबन्ध !

फुर्पा शेर्पा
१० चैत २०७७ १२:४३

काठमाडौं। पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरुमा टिकटक भिडियो खिच्नेहरुको भीड बढिरहँदा यसले पर्यटक र श्रद्धालुलाई असहज बनाउन थालेपछि टिकटकरहरुमाथि कडाइ गर्न थालिएको छ । यही क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि बौद्धनाथ क्षेत्र भित्र टिकटक खिच्न प्रतिबन्ध लगाएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाका अनुसार बौद्धनाथमा टिकटक बनाउनेको भीड हुन थालेपछि त्यसले स्तुपा परिसरमा आउने पर्यटक र कोरा (परिक्रमा) गर्ने श्रद्धालुहरुलाई समस्या भएकोले टिकटकरहरुमाथि कडाइ गरिएको हो । ‘यो धार्मिक स्थल हो र यहाँ बिहान बेलुकी बालबालिकादेखि वृद्धवृद्धाहरु आउनुहुन्छ, कोही ध्यान गर्न आउनुहुन्छ । त्यही समयमा टिकटक खिच्दा समस्या भएकोले प्रतिबन्ध लगाएका हौं’ उनले भने ।

लामाका अनुसार बौद्धनाथ परिसरमा टिकटकरहरुको जानकारीको लागि चेतावनीमूलक बोर्ड राखिएको छ । बोर्डमा ‘यस विश्व सम्पदा क्षेत्रभित्र टिकटक खिच्न मनाही छ, अन्यथा नेपाल सरकारको नियम अनुसार कारवाही हुनेछ’ लेखिएको छ । यस्ता बोर्ड ४ ठाउँमा राखिएको छ । निर्देशक लामाका अनुसार कोरोना महामारी सुरु हुनुअघि दैनिक विदेशी पर्यटक मात्रै महिनामा ४ देखि ५ हजार आउँथे । महामारीमा विदेशी पर्यटक आवागमन बन्द भएकोमा अहिले दैनिक तीसदेखि चालिस जना विदेशी पर्यटक आउँछन् ।

कोरोनाका कारणले धेरै कामहरु रोकिएको बताउँदै लामाले भने, ‘लकडाउनपछि टिकट काउण्टर नै बन्द गरेका थियौं। बौद्धनाथ स्तुपा घुम्न टिकट लिइएको थिएन तर चैत १ बाट हामीले शुल्क लिन थालेका छौं।’ बौद्धनाथ क्षेत्रमा करिब पाँच वर्षदेखि व्यापार गर्दै आएका आकाश काखौहनले भने, ‘टिकटक बनाउन मानिसहरु आउने गरेको देख्दा रमाइलो नै लाग्छ। हामीलाई खासै समस्या भएको छैन।’

त्यस्तै बौद्धकी स्थानीय माया लामाका अनुसार टिकटक बनाउनु गल्ती होइन तर यसरी विश्व सम्पदा भित्र टिकटक बनाएको देख्दा भने राम्रो लाग्दैन । उनले भनिन्, ‘बौद्धनाथ क्षेत्र विकास समितिले बनाएको नियम मलाई ठिक लागेको छ, यसले पर्यटकहरुलाई र घुम्न आउने बालबालिकादेखि बुढाबुढीसम्मलाई अप्ठयारो हुने गरेको थियो।’ हामी आफैले कहाँ टिकटक बनाउन हुने र कहाँ नहुने भन्ने कुरा बुझ्नु पर्ने उनले बताइन् ।

केही समयअघि मात्रै न्यूरोडको ‘अम्रेला स्ट्रीट’मा फोटो खिचाउने र टिकटक बनाउनेको भिड हुने गरेको थियो । अहिले ‘आर्ट इन प्याराडाइज नेपाल’ नामक थ्रिडी म्यूजियममा पनि फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ। बालबालिकादेखि बुढाबुढीसम्मको रोजाइमा पर्न थालेको उक्त म्यूजियम राजधानीस्थित काठमाडौं मलमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *