देश समृद्धितर्फ लागेको छ : मन्त्री गुरुङ

डिसी नेपाल
१२ चैत २०७७ २२:४१

चरिकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा साकार अघिबढेको बताएका छन्। दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा उनले सरकार समृद्ध नेपाल निर्माण अभियानमा सरकार लागिपरेको बताए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमले अभियान अघि बढाउन सहयोग पुगेको तर्क गरे।

नेपाली नागरिकले स्थायी सरकार चाहेको र त्यसका लागि आफूहरूलाई दुई तिहाइको बहुमत दिएर सरकारमा पठाएको हुँदा यो सरकारको विकल्प नभएको उनले बताए। जनताले आफ्ना पक्षमा काम गर्न बहुमतसहित सरकारमा पठाएको उल्लेख गर्दै उनले कोही व्यक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने स्पष्ट पारे।

मन्त्री गुरुङले भने, “सरकार परिवर्तनका लागि सबै शक्ति लागिपरेको भए पनि यो सरकारले नेपालीलाई सुखी र समृद्ध बनाउन धमाधम गरिरहेको छ।” उनले राजनीतिक कारणबाट नागरिकलाई निरास नहुन आग्रहसमेत गरे। मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार दोलखाबाट शुरुआत गरेको स्मार्ट दोलखा निर्माणका लागि भौतिक पूर्वाधारको काम धमाधम भइरहेको र एफटिटिएचको काम शुरुआत भएको बताए।

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा रहेको र स्थानीय तह तथा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको विस्तार तथा प्रविधिको विकास गराई प्रविधिमार्फत विश्वको जुनसुकै ठाउँमा हुने सिकाइ ग्रामीण तहको विद्यालयमा बसेरसमेत सहज तरिकाले अध्ययन गर्न सकिने व्यवस्था मिलाउने योजनामा आफू रहेको उनले बताए।

गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले स्थानीय सरकारको गठनपश्चात् आफूहरूले शून्य लेवलबाट विकासको काम शुरुआत गरेको र हाल हरेक क्षेत्रमा सम्मान तरिकाले विकासको काम गरिरहेको उल्लेख गरे। अन्य क्षत्रमा जस्तै खेलकूदका क्षेत्रमा पनि विगतका वर्षदेखि नै बजेट विनियोजन गर्दै उनले खेलकूदका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *