साहित्यमा सदैव आफू अलग बन्ने चुनौती रहिरहन्छ : डा. उप्रेती – Dcnepal

साहित्यमा सदैव आफू अलग बन्ने चुनौती रहिरहन्छ : डा. उप्रेती

नेपाली साहित्यको आकाशमा एउटा अलग नाम हो डा. टंक उप्रेती। डा. उप्रेतीले आमसञ्चार र पत्रकारितामा विद्यावारिधि गरेका छन्। नेपाल टेलिभिजनको स्थायी कर्मचारी उप्रेतीले २०४६ सालदेखि निरन्तर नेपाली साहित्यमा कलम चलाइरहेका छन्।

नेपाली निबन्ध र कविताहरुमा कलम चलाइरहेका उप्रेतीले ‘अनुभूतिका अक्षरहरु’, ‘शब्दहरुको नेपथ्य’, ‘गजुर पग्लिएर’ (लामा कथा संग्रह), ‘निगुरोको खरानी’ (लामा कथा संग्रह) र ‘यतै कतै’ (सामूहिक कविता संग्रह) प्रकाशित गरिसकेका छन्।

अझै पनि कविता संग्रह प्रकाशन हुने पाइपलाइनमा रहेको उप्रेतीको भनाइ छ। उप्रेतीले नेपाली साहित्यको पुरस्कारमा प्रतिष्ठा बाँकी नरहेको बताएका छन्। साहित्यकारले सदैव आफू अलग बन्ने चुनौतीको सामना गर्नुपर्छ भन्ने उनै साहित्यकार उप्रेतीसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको अन्तवार्ताको सम्पादित अंश:

संचार र साहित्यिक जीवनमा हुनुहुन्छ। दुईवटा जीवनलाई सँगै कसरी लैजानु भएको छ ?

प्रत्येक व्यक्तिको जीवनमा जिम्मेवारीको हिसावमा विभिन्न आयामहरु हुन्छन्। जस्तो व्यक्तिगत पारिवारिक जीवनको कुरा केही समय त्यसले पनि माग गर्छ । त्यसैगरी पेशाको जिन्दगी त्यसले पनि केही समय माग गर्छ र महत्वपूर्ण समय त्यहाँ पनि लगानी हुन्छ र पत्रकारिताको जीवन चाहिँ पेशागत र अलिकति बढी व्यवस्थापनमा जुट्नुपर्ने जीवन हो र सिर्जना भन्ने कुरा साहित्यिक लेखनको पक्ष रह्यो। अब सिर्जना भनेको छैन । मेरो बुझाईमा सिर्जना हुन केही न केही नयाँ कुरा हुनुपर्छ किनभने भनिएकै छ कि चिजहरूको र कामहरुको पुनरावृत्ति भनेको सिर्जना हैन । सिर्जना भनेको कुनै न कुनै हिसाबमा त्यसमा नयाँपन आवश्यक हुन्छ। नयाँपन दिन नसक्ने हो भने चाहे त्यसको विचारको हिसाबमा चाहे कलाको हिसाबमा सिर्जना गर्ने प्रविधिको हिसाबमा समयको बर्बादी मात्र हो भन्ने मलाई लाग्छ।

यो पत्रकारिता जीवन र साहित्यले एकअर्कालाई कत्तिको सहयोग गर्छन् ?

एकदमै सहयोग गर्छ । सिर्जना भनेको त्यत्तिकै हावामा हुने कुरा होइन । त्यसको जरा आखिर जमिनमा हुन्छ । जमिन भनेको समाज हो समाजमा मानिसहरु हुन्छन्। त्यो मानिस बुझ्न, समाज बुझ्न, समाजका प्रविधिहरु बुझ्न, समाजका बेथितिहरु बुझ्न, बिकृतिहरु बुझ्न, पत्रकारिता एकदमै महत्वपूर्ण छ । त्यतिमात्र होइन खबरदारी गर्न समेत पत्रकारिता एकदमै महत्वपूर्ण माध्यम हो। जसलाई ‘वाच डग र फोर्थ स्टेट’ भनिन्छ। आम जनताको लागि यी महत्वपूर्ण माध्यम हुन् भने हाम्रो पेसा त जनतासम्म पुग्ने पुलको काम गर्ने, कन्टेन्टलाई अन्तरवस्तुको उत्पादन नै गर्ने कुरामा नै हामी सक्रिय छौं । त्यसकारणले गर्दा यो समाजका तन्तुहरुलाई जति राम्रोसित बुझ्न सकिन्छ यसलाई सुधार्ने कुरामा त्यत्तिकै योगदान दिन सकिन्छ ।

हाम्रो समाज विरामी छ। त्यहाँ विकृति छन्, विसंगति छन्, त्यहाँ निराशाहरु छन्, सुशासन छैन लगायतका विषयहरुमा साहित्य र सिर्जनाको माध्यमले सामाजिक सांस्कृतिक रुपान्तरणको लागि उद्देश्यमूलक ढंगले लेखिने र सिर्जना गरिने भएकोले त्यो चाहिँ महत्वपूर्ण छ। यो दुवैको सन्तुलन मिलाएर यदि गम्भीरतापूर्वक काम गर्ने हो भने समाजको लागि महत्वपूर्ण योगदान एउटा साहित्यकारले र पत्रकारले गर्नसक्छ भन्ने मेरो विश्वास छ ।

यहाँले पत्रकारितामा विद्यावारिधि गर्नु भएको छ। तर, साहित्यमा कविका रुपमा चिनिनु भएको छ। निबन्ध संग्रह पनि छ। कविता र निबन्ध विधामा कुन सजिलो ?

सजिलो त दुवै सजिलै छन्। तर, तुलनात्मक रुपमा हेर्नेहो भने मेरो कविता संग्रह अलि बढी आएका छन्। करिब आधा दर्जन किताबहरु सार्वजनिक भइसकेको अवस्था छ । किताबहरु सबै सार्वजनिक हुने पाइपलाइनमा छन्। रचना भइसकेको अवस्था हो र प्रकाशनको योजना बनाउनुपर्ने अवस्था हो । अब संख्यात्मक हिसाबमा हेर्ने हो भने निबन्ध चाहिँ एउटा मात्र छ र केही निबन्धहरू फुटकर पनि छन्। दुइटैमा विचार लेख्ने हो दुइटैको प्रस्तुतीकरण कलात्मक हुनु पर्छ । दुइटै सिर्जनाका अलग–अलग क्षेत्रहरु हुन् । विधाका हिसाबमा केही फरक विशेषताहरु त्यसमा छन् । दुइटै फिक्सन होइनन्। दुईटै रियालिटी राइटिङ हो ।

खास गरिकन छ छोटा कविताको कुरा गर्दा मन–मस्तिष्कमा झिल्काहरु आउँछन्। अनुभूतिका झिल्का, विचारका झिल्का, आशाका झिल्का, प्रतिरोधका जिल्ला यस्तो किसिमको झिल्काहरु जब आउँछ त्यतिबेला कविताले आफ्नो स्थान ग्रहण गरी हाल्छ । जतिबेला छोइने भएर आउँछ विचार र अनुभूतिहरू त्यतिबेला अभिव्यक्ति दिने हो। लामा कविताको हकमा कुरा गर्ने हो भने यस्ता छोटाछोटा विचारहरु धेरै मथिंगलमा चलिसकेपछि, मनमा धेरै विचारहरु खेलिसकेपछि, अनुभूतिहरु खेलिसकेपछि पनि तिनले एउटा लामो स्वरुपमा ग्रहण गर्दा, विचार अनुभूति प्रसङ्ग उनीहरुलाई लम्ब्याउँदै लम्ब्याउँदै लम्ब्याउँदै पूर्णता नपाउन्जेलसम्म आउने ‘आर्गुगेन्ट, काउन्ट आर्गुमेन्ट’ भित्राउने विचार प्रतिविचार, त्यहाँ भित्र आउने अनुभूति, अनुभूतिका विभिन्न आयामहरु, हरफमा नयाँ बिम्ब, नयाँ कला र नयाँ प्रविधिको प्रयोग गर्दै लामा कविताहरु जन्मिने हुन्।

यहाँका कविता छोटा छन्। छोटा कविता लेख्दा भन्न चाहेजतिको भाव आउछ ?

तपाईँ आएको सशक्त विचार, सशक्त अनुभूति झ्याप्पै छोटै कविताले पनि लिनसक्छ । कविताको आकार महत्वपूर्ण होइन। महत्वपूर्ण चाहिँ तपाइको अनुभूति हो तपाईंको विचार हो, तपाईको कविता हो । छोटा कवितामा तपाईको विचार अटेन भने लम्बिएर आफै लामा हुन्छन्। लामा कविता भनेर लेखिएका गद्यमा होस्, पद्यमा होस् लामा÷लामा चिजहरु लेखिएका छन्। तर त्यो कविता आफैँमा कविता नभएको भन्ने थुप्रै उदाहरणहरु छन्। कविताको आकारले म्याटर गर्दैन। त्यो कविता हुनु प¥यो। कुनै हाहाकार लामा हुन्छन् कुनै आकार छोटा हुन्छन्। तपाईले तान्का सुन्नु भएको होला हाईकु सुन्नु भएको होला। एकलाइने कविता पनि छन्। त्यसकारणले गर्दा आकार महत्वपूर्ण होइन्। त्यसको विचार र अभिव्यक्ति कवितामा नयाँपन महत्वपूर्ण हो भन्ने मेरो बुझाई छ।

साहित्यका विभिन्न विधाहरु छन्। अन्य विधाहरुतर्फ नगएर कविता नै लेख्नुपर्ने कारण के ?

हजारौं वर्ष लागेर बनेको नेपाली सभ्यताका विभिन्न आयामहरु हुन्। त्यहाँका मिथकहरु त्यहाँका कथाहरु, त्यहाँका सभ्यताका विभिन्न आयाम र जराहरू नेपाली कवितामा पनि बढ्दो क्रममा प्रतिबिम्बित भइराखेको अवस्था देखिन्छ। स्वभाविकरुपमा नेपाली पनलाई नेपाली कवितामा अझ बढी ल्याएको छ नेपाली कवितालाई समृद्ध बनाएको छ।

एउटाका माध्यमको हिसाबमा अहिलेसम्म कविता जति पावरफुल माध्यम संसारमा छैन । किनभने, त्यो शिल्पको हिसावमा पनि एकदमै परिष्कृत छ, एउटा बिम्बले त्यो पछाडि संसार बोक्न सक्छ । अगाडि विम्बको आकृति देखिन्छ, त्यसको पछाडिको कलात्मकतामा विचारको पहाड देखिन्छ। कविता जटिल छ भन्ने पनि छ। कविताको स्तरसम्म, त्यो लेभलसम्म पुगेर, मनन गरेर त्यसको आनन्द लिन सक्ने आफ्नो लेबल छैन भन्ने बुझ्नुपर्दछ। लाईट चिजमा अल्मलिने मान्छेले त्यहाँसम्मको यात्रा तय गर्न सकेको हुँदैन। कोही पनि आफूलाई परिष्कृत गर्दै, माझिँदै, बुझाइको तहलाई उन्नत बनाउँदै बनाउँदै जब कवितासम्म पुग्छ । संसारको श्रेष्ठ अभिव्यक्ति दिने मान्छे कवि हो। संसारमा एकदम थोरै मान्छेहरुले मात्र कविता बुझ्ने गरेका छन्। हाइ लेबलका व्यक्तिहरु कवि हुन्। जनसंख्याको धेरै मानिसहरुले उपन्यासमा मनोरञ्जन गरिरहेका छन्, उनीहरुले कविता बुझ्न सक्दैनन् किनभने कविता त्यो भन्दा धेरै माथि हो।

साँच्चिकै सिर्जनशील कवि परम्परागत विम्बमा अल्झिँदैन। तिनको परम्परागत अर्थहरुमा मात्रै अल्झिदैन। उसले नयाँ कुराको अनुसन्धान गर्छ । बिम्बहरु आफै सिर्जना गर्छ । मेरो एउटा कविता संग्रह छ, ‘निगुरोको खरानी’ । निगुरो के हो भन्दा सामान्य एउटा आधार हो वनस्पति । माटोबाट उम्रिएर एउटा आकार लिन्छ। तरकारीको रुपमा प्रयोग गर्ने चलन छ। तर, माटो भनेको जनता मान्ने हो भने, एउटा निगुरो यसरी जन्म लिन्छ, त्यसले यसरी हाइट लिन्छ। संसारले एउटा आशाको दृष्टिले उसलाइ हेरि राखेको अवस्थामा जतिबेला जनताको लागि काम गर्ने समय आउँछ त्यतिबेला उसले टाउको निहुराउँछ । नेपाली राजनीतिको बिडम्बना हो यो। र, त्यस्तो किसिमको प्रवृतिलाई खरानी नबनाउँदासम्म नेपाली जनताको मुक्ति छैन ।

नेपाली कविताको स्थान कहाँ छ ?

नेपाली कवितालाई बुझ्दा, नेपाली भाषामा लेखिएको कविता र नेपाली भाषामा भन्दा अन्य भाषाहरूमा नेपालभित्र लेखिएको कविता र नेपाली भाषामा लेखिएका नेपालबाहिरका कविता, भारतीयले लेखेका नेपाली भाषाका कविता र नेपालीहरु जो अहिले संसारभर छरिएर रहनु भएको नेपाली भाषामा साधना गरिरहनुभएका कविता। नेपाली भाषामा लेखिएका कविताहरू विविधतापूर्ण छ साथै एकदमै बढिराखेको छ जसरी नेपालको सांस्कृतिक विविधता छ, जातीय विविधता छ, नेपालको भाषिक विविधता छ । हजारौं वर्ष लागेर बनेको नेपाली सभ्यताका विभिन्न आयामहरु हुन्। त्यहाँका मिथकहरु त्यहाँका कथाहरु, त्यहाँका सभ्यताका विभिन्न आयाम र जराहरू नेपाली कवितामा पनि बढ्दो क्रममा प्रतिबिम्बित भइराखेको अवस्था देखिन्छ। स्वभाविकरुपमा नेपाली पनलाई नेपाली कवितामा अझ बढी ल्याएको छ नेपाली कवितालाई समृद्ध बनाएको छ।

पुरस्कारमा पनि लेनदेन हुन्छ। एउटाले अर्कोलाई दिन्छ। उसले फेरि उसैलाई फिर्ता गर्छ। पुरस्कार पाउनकै लागि साहित्यकारहरु वर्षभरी उनीहरुको पछि लागिरहेका हुन्छन्। पछिल्लो समय पुरस्कारमा कुनै पनि प्रतिष्ठा जोडिएको छैन। र अर्को कुरा असल साहित्यकारले केही पाउँछु भन्ने अपेक्षाले साहित्य गरेको पनि हुँदैन।

अभिव्यक्ति र सिर्जनात्मक, सदनात्मक बिषयको कुरा गर्ने हो भने पनि हिजोभन्दा आज अझ बेजोड भएरहेको छ। यद्यपि पछिल्लो समयमा लेखिएका कविताहरू माथि गहन अनुसन्धान, अध्ययन विश्लेषण हुन बाँकी नै छ। अहिले सर्वाधिक समृद्ध कविताहरु जन्मेको अवस्था हो। नेपाली भाषामा र नेपालभित्र नेपाली भाषा भन्दा बाहेकका अन्य भाषाहरूमा पनि कविताहरू निरन्तर लेखिराखिएका छन्। संख्यात्मक हिसाबमा बढिराखेका छन्। त्यसले केही न केही गुण लिएर आएको छ। नेपालीबाहेक देश भित्र अन्य भाषाहरूमा लेखिएको कविताहरु र त्यो सभ्यताबाट पनि नेपालीभाषामा जुन बिम्बहरु, जुन मिथकहरु आएको छ तिनले पनि नेपाली भाषालाई झन् समृद्ध बनाएको छ।

साहित्यलाई समाजको ऐना भनिन्छ। हामीले मार्ग निर्देशक बनाएर हिँड्ने दिन कहिले आउँछ ?

यो निरन्तर चलिराखेको प्रक्रिया छ। सुरु भइसकेको छ । ठू्लाठूला राजनीतिक आन्दोलनमा पनि कविताहरु प्रस्तुत गरिएका छन्। कविताले जुन मान्छेलाई शक्ति दिएको छ, नाटकहरु मञ्चन गरिएका छन्। त्यो शक्तिले परिवर्तनका एजेण्डाहरुलाई माथि ल्याउने काम भएको छ। पञ्चायतकालको कुरा गर्नुहोस २०६२÷६३ सालको कुरा गर्नुहोस्। चाहे राणा कालको कुरा गर्नुहोस्। ४६ सालमा मेरो पहिलो कविता प्रकाशन भएको हो। ‘एउटा प्रश्न चिन्ह’ भन्ने पहिलो कविता हो। त्यो ४६ सालको मंसिरमा प्रकाशित भएको हो । मेरो मनमा आँधी तुफान चलिराखेको थियो । त्यतिबेलाको सत्तासँग असन्तुष्टि र नयाँ किसिमको प्रजातान्त्रिक प्रणालीको लागि एउटा प्रश्न चिन्ह भन्ने कविता थियो। त्यस्तो हरेक काल खण्डका हरेक कविहरूको मन–मस्तिष्कमा आँधी तुफान आएको छ र परिवर्तनका एजेण्डाहरुमै कलम चलाइएको छ।

यसको अर्को पाटो पनि छ। मेजोरिटी लेखकहरु भनेको सधै समाजमा भएका विकृती बिसंगतीको अपोजिसनमा हुन्छन्। उनीहरु परिवर्तनका एजेन्डाहरुका संवाहक हुन्छन्। भुल्न नहुने कुरा अझै केही भाट प्रवृत्तिका लेखहरु, साहित्यकारहरु पनि त्यही समाजमा सँगसँगै हुन्छन्। तिनले जहिले पनि सत्ताको सेवा गर्छन। भक्तिगान गरिराखेका हुन्छन्। मेजोरिटी धार भनेको अहिले पनि परिवर्तनको कुरा हो, अहिलेपनि र सामाजिक सांस्कृतिक र विचारको रुपान्तरणको कुरा हो र त्यो निरन्तर चलिरहने प्रभाव हो।

कविता लेखेर कति पुरस्कार पाउनु भयो ?

यसो छ, समाज हाम्रो विकृत छ। विकृत समाजमा पुस्कार प्रतिष्ठाको इन्डिकेटर रहेन। त्यो हुने गथ्र्यो कुनै बेला। अहिले पुरस्कार मिलाएर लिने चिज भएको छ, साहित्यमा कलामा, सिर्जनात्मक क्षेत्रमा गुठियार छन् जसले दर्जनौ पुरस्कार आफैले चलाउँछन् । पुरस्कारमा लालायित हुने स्रष्टाहरु छन् जुन् पुरस्कार थाप्न गुठियारको ढोकामा बिहानदेखि रातिसम्म लाइन लागिराखेका हुन्छन्।

त्यसकारणले गर्दा पुरस्कारमा गर्व छैन । अहिले एउटा यथार्थ तीतो लाग्छ मान्छेलाई तर यथार्थ त्यो हो। पुरस्कारै नपाउने र पाए पनि छिटफुट मात्र पुरस्कार पाउने कविमध्ये म हुँ। मैले पुरस्कार पाएकै छैन भन्ने सम्झिँदा पनि हुन्छ । मैले पुरस्कारका लागि कसैलाई अनुरोध पनि गरेको छैन र गर्ने पनि छैन। पुरस्कारमा पनि लेनदेन हुन्छ। एउटाले अर्कोलाई दिन्छ। उसले फेरि उसैलाई फिर्ता गर्छ। पुरस्कार पाउनकै लागि साहित्यकारहरु वर्षभरी उनीहरुको पछि लागिरहेका हुन्छन्। पछिल्लो समय पुरस्कारमा कुनै पनि प्रतिष्ठा जोडिएको छैन। र अर्को कुरा असल साहित्यकारले केही पाउँछु भन्ने अपेक्षाले साहित्य गरेको पनि हुँदैन।

साहित्यकार बन्न कति सजिलो छ र अप्ठेरो छ ?

तपाईँ लेख्नु हुन्छ, लेख्न सक्नु हुन्छ, त्यो कुनै गाह्रो कुरै छैन। सजिलो र गाह्रोको भन्दा पनि स्थापित र प्रकाशनको विषयमा गाह्रो भए पनि क्षमता र इनर्जी भएको नयाँ जेनेरेसलाई इनर्जीले नै स्थापित गराउँछ। साहित्यको माध्यमबाट समाजमा अगाडि निस्केर प्रश्न गर्ने क्षमता राख्नु हुन्छ। म साहित्यकार हो भन्ने क्षमता राख्नु नै एउटा ठूलो स्थापित हुने संकेत हो।

अहिले त आफ्नो कुरा आफै राख्ने प्लेटफर्म पनि छन्। मुख्य समाचार पत्रहरुमा प्रकाशनमा समस्या होला। पुस्तक प्रकाशनमा पनि समस्या हुन सक्छ। तर, पहिलेको भन्दा अहिले धेरै सजिलो छ। सामाजिक सञ्जालले पनि राम्रो लेख्ने श्रष्टालाई स्थापित गराएको पाइन्छ। अप्ठेरो पाटो भनेको अध्ययनशील हुन हो। रिपिटेसन अफ वर्क साहित्य हैन। नयाँ कुरा के भइरहेको छ भनेर त थाहा पाउनु प¥यो नि। अहिलेसम्म कवितामा के लेखिएको छ भन्ने कुरा थाहा पाउनु प¥यो। कसको ट्रेन्ड के हो र त्यो भन्दा म के अर्थमा फरक हुन्छु भन्नेतर्फ जानु अप्ठेरो हो। साहित्यमा सदैब आफू अलग भन्ने चुनौती ररिरहन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो