भक्तपुरमा मनाइयो फरक ढङ्गले होली

डिसी नेपाल
१५ चैत २०७७ २२:३७
60
Shares

भक्तपुर । ‘भिसीं द्यो या लगखङ लो वान ला, बिस्यु वाने माय्क स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभ्यायो कि, भाग्नु पर्ने गरी हेर्न आएको हो कि’ भक्तपुर नगरपालिका–९ तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गाइनेजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसंँगै बिदाइ गर्दथे । अहिले कतिपय स्थानीयवासीलाई त फागुसँग सम्बन्धित दाफा भजनका यस्ता गीतहरु पनि छन् भन्ने हेक्कै छैन ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्र्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै छ ।

नेवारी परम्परानुसार यसलाई चिर स्वायगु अर्थात लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा रहेको भक्तपुरका संस्कृत्विद् ओम धौभडेल बताउँछन् । लिङ्गलाई केही वर्ष काँधमा नबोकी सवारी साधनमा राखेर घुमाए पनि अहिले भने वर्षौदेखिको परम्परा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा पनि यो पर्वलाई लिने गरिन्छ ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बि’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन अहिले लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म लिङ्ग र योनीको पूजा एवं दर्शन पनि स्थानीयले गर्ने गरेका छन् ।

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन् ।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि भक्तजनको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलामा मन्दरसँगै झुण्ड्याउने गरेको मन्दिरका पुजारी केशरी कपाली बताउँछन् ।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दाहरू द्रौपतीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनीको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने जनविश्वास रहेको पुजारी कपाली बताउँछन् ।

साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात होली पर्व दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेन र द्रौपतीको यौन समागमसँग सम्बन्धित रहेने गरेको छ । चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होली भरी शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्ङग्रादेखि पशुपक्षीमा समेत छ । यौनबिनाको जीवन अधुरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ” स्थानीय ६९ वर्षीय कालुचा प्रजापति बताउँछन् ।

पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याइएको लिङ्गलाई हल्लाउने गर्दछन् । फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि भने होली समाप्त हुने गर्दछ ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने जन विश्वास अहिलेसम्म पनि रहेको पुजारी कपालीको भनाइ छ । त्यसो त भक्तपुरको होलीमा फरक किम्बदन्ती पनि पाइन्छ । संस्कृतविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा साह्रै नै कामुक एक युवकले दैनिक आफ्नो कामवासना तृप्त गर्न आफूले देखेका महिलाहरुलाई शिकार बनाउन थाल्यो । महिलाहरु त्यो पुरुषसँग त्रसित भएपछि एक महिलाले त्यो कामातुर पुरुषलाई सजाय दिने र त्रासबाट मुक्त बनाउने उद्देश्यले यौन सम्बन्धको प्रस्ताव गरिन् ।

त्यसपछि कामातुर पुरुष आफ्नो अगाडि आए पछि ती महिलाले लुकाएर राखेको घरेलु हतियारले पुरुषको लिङ्ग काटिदिइन् र त्यस पुरुषको काटिएको लिङ्ग यही हो भनी देखाउन नगर परिक्रमा गराइन्, त्रसित महिलाहरुले त्यस पुरुषबाट छुटकारा पाएकामा खुशीयाली मनाए । त्यसै बेलादेखि यसरी लिङ्ग प्रर्दशन गर्ने प्रचलन रहेको धौभडेलको भनाइ छ । भीमसेनको मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगतप्रकाश मल्ल निर्माण गरेको र भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ ।

मल्लको समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने संस्कृतिविद् धौभडेल बताउँछन् । वसन्त ऋतुको आगामन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ  । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *