धमाधम वितरण हुँदै मेलम्चीको पानी

उपेन्द्र शाही
१७ चैत २०७७ ६:४६

काठमाडौं। अनामनगरमा बसोबास गर्दै आएका गोरखाका ४२ वर्षीया श्याम बस्नेतलाई अझै पनि ताजा छ, रेडियो कान्तिपुरको कार्यक्रम टाक्क टुक्क। रेडियोमा बज्ने व्यंग्यात्मक कार्यक्रममा उनले पहिलो पटक सुनेका थिए, मेलम्ची। उक्त हास्यव्यंग्य कार्यक्रममा ‘ए बुढा मेलम्चीको पानी आएपछि कपडा धोउँला’ भनेको उनलाई अहिले जस्तै लाग्छ।

मेलम्चीको पानी आइतबार सबैभन्दा पहिले अनामनगर क्षेत्रमा आयो। लामो समय उखान टुक्का र हाँसी मजाकमा उडाईएको मेलम्चीको पानी धारामा आउँदा उनी मक्ख देखिन्थे। पानीको अभावले राम्रोसँग कपडा धुन र नुहाउन समेत ठूलो समस्या जस्तो लाग्थ्यो। धेरै सुनियो मेलम्चीको कुरा तर, अन्ततः धारामा पुगेको छ। म त एकदमै खुशी छु’, उनले आफ्नो अनुभव यसरी सुनाए।

‘धेरै सरकार आए, धेरै सरकार गए तर सबैजसो पार्टीका चुनावी नारा हुने मेलम्ची भने आएन। पानी काठमाडौं आएको भन्ने त छ खोइ हाम्रो धारामा पानी पुगेको छैन। काठमाडौं आइसकेको भन्ने कुरा छ, यो त हल्ला होइन होला अबको केही दिनमा धारामा पानी आउँछ भन्छन् खोइ हेराैं,’ उनी हुन् राजधानी काठमाडौंको खुमलटारमा बस्दै आएका ५७ वर्षीया नुरकाजी श्रेष्ठ।

यी त प्रतिनिधि पात्र हुन् जसले मेलम्चीको पानीको लामो प्रतिक्षा गरे। पानीको समस्याले पिरोली रहेका काठमाडौंवासीहरु लामो समयदेखि पानीको काकाकुल खेप्दै आएका छन्। मेलम्चीको पानी दशौंको देखिको प्रतिक्षा पछि धारामा पुगे पछि काठमाडौंबासी हर्षित छन्।

आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौं पुग्यो। काठमाडौं मात्रै पुगेन पानी आइतबारदेखि काठमाडौंबासीका धाराधारमा पुगेको छ। आइतबार पहिलो दिन दिउसो दुई बजे पानी सबैभन्दा पहिले महांकाल र अनामनगर वितरण केन्द्रबाट वितरण गरिएको थियो। त्यसपश्चात साढे ७ बजे मिनभवन बानेश्वरबाट पानी वितरण गरिएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश राइले उपत्यकामा पानी धमाधम वितरण भइइरहेको बताए। सुरुमा  ४ करोड पानी आएको र अब बढाउँदै लिइने उनको भनाई छ। उनले अबको २० दिनभित्र मेलम्चीबाट आएको १७ करोड लिटर पानी नै वितरण गर्ने बताए।

यस्तै उनले केयूकेएलले नयाँ निर्माण गरेको खुमलटार वितरण केन्द्रबाट मंगलबारबाट पानी वितरण हुने बताए। उनले भने, ‘अहिले मेलम्चीबाट आएको ४ करोड लिटर पानी वितरण गर्दै आएका छौं। अब मंगलबारदेखि नै सम्भवत साढे ६ करोड लिटर पानी वितरण गर्ने छौं। अबको २० दिनभित्र मेलम्चीबाट आएको सबै १७ करोड लिटर पानी नै उपभोक्ताका धाराधारामा पुर्याउने हाम्रो प्रयास छ।’

‘विभिन्न वितरण केन्द्रबाट पानी धमाधम वितरण भइरहेको छ। सामान्यतया पानी एक दिन बिराएर धारामा आउने छ। सबै ठाउँ तिर पानी पुर्याउनु पर्ने भएकोले छोटो समय मात्रै पानी उपलब्ध हुने छ। अब बाँकी रहेका वितरण केन्द्रबाट क्रमश पानी वितरण गर्ने तयारी छ,’ उनले भने।  पानी दिन बिराएर वितरण गरिने उनले बताए।

अब क्रमश त्रिपुरेश्वर, क्षेत्रपाटी महाराजगंज, भक्तपुर र ललितपुर शाखाबाट पानी वितरण हुँनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *