महामारी झेलेर उठ्न लागेको चितवनको पर्यटनमा अर्को धक्का

डिसी नेपाल
१७ चैत २०७७ १३:१८

काठमाडौं। नेपालको आकाश अहिले प्रदूषणमय भएको छ । विशेष गरेर राजधानी काठमाडौं धुलोको तुवाँलोमय बनेको छ। तुवाँलेले पर्यटकीय नगर चितवनलाई समेत प्रभावित पारेको छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको चितवन कोरोना भाइरसको समस्या झेलेर भर्खर उठ्न लागेको बेला केही दिनयता आकाशमा बसेको तुवाँलो अर्काे चुनौतीको रुपमा देखा परेको छ।

लामो समयको लकडाउनले चितवनको पर्यटन व्यवसाय धराशायी बनेको थियो। ‘अहिले हामी विस्तारै पुरानै अवस्थामा आउन खोज्दै थियौँ । अर्को प्रकृतिक संकट सृजना भएको छ’ क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले भने ।

उनले भने ‘एक सातायता आकाश सबै प्रदुषणको तुवाँलोले ढाकेपछि आँखा पोल्ने समस्या भएको छ। त्यसले पनि मानिसहरुको आवत जावत एकदमै न्यून भएको छ ।’ कोभिडका कारण वाह्य पर्यटकको आगमन ठप्प नै भएको बताउँदै उनले आन्तरिक पर्यटकको आवागमन सन्तोषजनक नै भए पनि तुवाँलोको कारण फेरि आन्तरिक पयृटन प्रभावित भएको बताए ।

सौराहामा पर्यटकहरु विशेष गरी वन्यजन्तु हेर्न, बोटविरुवा हेर्न आउँछन्। तुवाँलेले सबै क्षेत्र ढाकेपछि टाढाको दृश्य देख्न सकिदैन त्यसैले पनि पर्यटक आगमन न्यून भएको छ। स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै पनि मानिसहरु बाहिर ननिस्केको भट्टराईले बताए।

चितवन फरेष्ट रिसोर्टका म्यानेजर अशोक भुसाल पनि आकाशको तुँवालाले पर्यटक आवागमनलाई प्रभावित पारेको बताउँछन्। उनी भन्छन् ‘तुवाँलोले पर्यटन क्षेत्र मात्र हैन स्वास्थ्य क्षेत्रमा समेत उच्च जोखिम बढाएको छ। पर्यटकहरु अनौठो र सुन्दर चिजहरुमा आकर्षित हुने हो। तर धुलोले सबै ठाउँ प्रभावित बनाएको अवस्था छ। त्यसैले स्वभाभिक रुपमा पर्यटकको आवागमनमा कमी भएको छ । यसले चितवनको पर्यटन व्यवसायमा ठूलो असर पारेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *