निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

डिसी नेपाल
१७ चैत २०७७ १६:०१

काठमाडौँ। सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ। चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो। निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी छ चिनियाँ जहाज छ। यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो।

एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’ वापत अनुदानमा प्राप्त गरेको थियो। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाज वापत थप एक एमए ६० जहाज र तीन वटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेश्नल’ बाट खरिद गरेको थियो।

‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालीमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो।

निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो।

चिनियाँ जहाजँमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन्। एक बिग्रिएको छ। नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ। बाँकी पाँच वटा विमानको लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ।

निगमले २०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो। २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो। निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो।

सरकारले केही महिनादेखि उक्त जहाज व्यवस्थापनका लागि प्रक्रियागत चरण र सुक्ष्म अध्ययन विश्लेषणपछि व्यवस्थापनका लागि निर्णय गरेको थियो। निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ।

प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिज आउट गर्ने बताइन्। निगमलाई सरकारले लिज आउट नभएमा विक्रेता/उत्पादकसँगको समन्वयमा नेपाल सरकारलाई र निगमलाई अधिकतम हित हुने गरी ती जहाज विक्रीको प्रक्रिया अघि बढाउनुपर्नेछ।

निगमको आर्थिक अवस्थालाई विश्लेषण गर्दा चिनियाँ विमानबाट निगमलाई आयको तुलनामा व्ययभार प्रत्येकवर्ष थप्दै लगेको देखिन्छ। हाल सरकारको व्यवस्थापनसम्बन्धी निर्णयले निगमलाई ठूलै राहत भएको निगमले उल्लेख गरेको छ। चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग आन्तरिक उडानका लागि अहिले मात्र दुई थान टुइनअटर जहाज छन्।

निगमले देशका प्रमुख गन्तव्य र क्षेत्रीय उडानसमेत सञ्चालन गर्दै आएको छ। निगमले अन्तराष्ट्रियतर्फ दुई वटा न्यारो बडी ए ३२० जहाज र दुई वटा वाइड बडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *