वर्षौंदेखि श्रमिकको शव गाउँसम्म पुर्‍याउने काम गर्दै आएका एक युवाको कथा – Dcnepal

वर्षौंदेखि श्रमिकको शव गाउँसम्म पुर्‍याउने काम गर्दै आएका एक युवाको कथा

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका श्रमिकको उतै मृत्यु भएमा उनीहरुको शव परिवार बसेको ठाउँसम्म पुर्‍याइदिने व्यवस्था सरकारले गर्दै आएको छ।

विदेशबाट श्रमिकको शव काठमाडौं एयरपोर्टमा आएपछि सम्बन्धित ठाउँमा पुर्याउन नेपाल सरकारको श्रम तथा रोजगार प्रवद्र्धन बोर्डको सचिवालयद्वारा निःशुल्क शव वहानको व्यवस्था छ।

श्रमिकका शव निःशुल्क रुपमा सम्बन्धित ठाउँमा पुर्याउने काम चार वटा कम्पनीका २० वटा गाडीले गर्दै आएका छन्। तर, यही कुरा कतिपयलाई थाहा नभएर गाडी भाडा तिरेर वा गाडी रिजर्भ गरेर शव गाउँघरसम्म पुर्याइरहेका हुन्छन्।

जुन एयरपोर्टमा रहेका बिचौलियाहरुको कारणले पीडितलाई त्यसरी पैसा तिर्नुपर्ने अवस्था आएको बताउँछन् चार कम्पनीमध्ये बुद्धछाप ढुवानी सेवाका सञ्चालक मिङ्मा लामा स्याङतान।

यिनै विषयको सेरोफेरोमा रहेर उनै लामासँग डिसी नेपालले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं। निःशुल्क शव वहान कम्पनीका लामा सो काममा आवद्ध भएको १० वर्ष भएपनि कम्पनीअन्तर्गत शव वहान चलाएको भने पाँच वर्ष भएको बताउँछन्।

उनी भन्छन्, ‘कम्पनी दर्ता गरेको पाँच वर्ष भएपनि काम गरेको १० वर्ष भयो। त्योभन्दा अगाडि कम्पनी चाहिँदैन थियो। व्यवस्थित तरिकाले गर्नको लागी कम्पनी दर्ता गर्नु परेको हो। पहिला कम्पनी दर्ता नगर्दै मैले काम गरिराखेको थिए। यो काम हामीले सरकारसँग जिम्मा लिएर गरेको हो। एउटा कम्पनीको पाँच वटा गाडी छ। हामी चारजनाको पाँच–पाँच वटा गरी २० वटा गाडी छन्। २० वटा गाडी जतिबेला पनि तयारी अवस्थामा राखिएको हुन्छ। पीडितले बोर्डमा गएर सम्पर्क गर्ने हो अनि बोर्डले चाहीँ हामीलाई सम्पर्क गरेपछि शव भनेको ठाउँ वा जिल्लामा पुर्याइदिन्छौं।’

कतिपय गाउँबाट एयरपोर्टसम्म पनि आउन नसक्ने अवस्थाका पीडितको भने सबै प्रक्रिया आफैंले पूरा गरिदिएर शव घरसम्म पुर्याउने काम गरेको बुद्धछापका सञ्चालक लामा बताउँछन्। उनी भन्छन्, ‘उनीहरुको शव हामी आफैंले रिसिभ गरेर अलि विश्वासिलो ड्राइभर छ भने उसँग मात्रै पठाइदिन्छु, नत्र म आफैं जान्छु।’

उनले अगाडि भने, ‘हामी लास पुर्याउने काम मात्रै नगरेर शवका सम्बन्धित मान्छेलाई रिसिभ पेपर, क्रियाखर्च, इन्स्युरेन्स कहाँबाट लिने लगायतका सबै प्रक्रियाहरु सिकाइदिन्छौं। पीडितलाई यहाँ जानु, यो डकुमेन्ट बोकेर आउनु र तपाईँले चेकमार्फत पैसा पाउनु हुन्छ। हकदार को हो, उसको नाममा पैसा आउछ, भनेर सिकाउछौं। यस्ता कुराहरु धेरैलाई थाहा हुँदैन। हामीले जानकारी दिन्छौं र बाँकी काम चाहीँ श्रम कार्यालयले गर्छ।’

लामाका अनुसार कतिपयले शव जसले रिसिभ गर्छ उसैले इन्स्योरेन्स लगायतको पैसा पाउँछ भन्ने सोच लिएका हुन्छन्, जसले गर्दा घर र माइती पक्षका परिवारबीच झगडासमेत हुने गर्छ।

पीडितले वास्तविकता नबुझेकाले आफूले समेत दुःख भोग्नु परेको बताउँदै उनी दुखेसो गर्दै भन्छन्, ‘उनीहरुको झगडाले गर्दा ड्राइभरले दुःख पाउँछ। मेरो घरमा शव आइपुगेन भनेर यता अफिसमा गुनासो गरिदिन्छन्। इन्स्युरेन्स लगायतको पैसासम्बन्धी परिवारलाई गलत भ्रम हुन्छ। अनि हामीले उनीहरुलाई यस्तोयस्तो तरिकाले पैसा चेकमार्फत हकदारले पाउने हो आदि सबै कुरा सम्झाएर रिसिभ पेपरमा ल्याप्चे हान्न लगाउछौं। तिनीहरुले बुझेको व्यहोरा ठिक हो कि होइन प्रमाणित गरेपछि मात्रै शव झार्छौ। भोलिका दिनमा शव झारेपछि पनि हाम्रो घरमा लास झरेन, आएन भन्न पाइदैन भनेर त्यो हिसाबले आफ्नो प्रक्रिया पूरा गर्छौ। शव रिसिभ गर्दा धेरै कुराको जोखिम हुन्छ। भोली केही परेको खण्डमा हामीले झेल्नुपर्ने हुन्छ।’

उनी सबै कुरा थाहा हुँदाहुँदै पनि कतिपय घटनाको अपजस आफूले भोग्नु परेको बताउँछन्। लामा आफूहरुलाई परेका घटना यसरी सुनाउँछन्, ‘विदेशमा थर र ठेगाना फरक तर नाम भने एउटै भएको दुई व्यक्तिको शव प्याकिङ गर्ने बेलामा सट्टापट्ट भएछ। यहाँ आएपछि डकुमेन्ट सबै मिलेको शवको बाक्सा सम्बन्धित ठाउँमा पुर्यायौं। त्यतिबेला त्यो लास फेरि पीडित आएर रिसिभ गरेको भए हामीलाई समस्या पर्दैन थियो। कसरी पर्यो हामीलाई थाहा भएन भन्न मिल्थ्यो। तर हामी आफैले रिसिभ गरेर पठाएका थियौं। बाक्सा फुटाएर हेर्ने कुरा पनि आएन।’

उनले अगाडि भने, ‘डकुमेन्टमा लेखेको आधारमा बाक्सा खोजेर गाडीमा लोड गरेरे लगेका थियौं। ठेगाना लगायत सबै मिलेको भित्रको शव मात्रै नमिलेको रहेछ। पछि उता दूतावासमा खबर गरेपछि मिस्टेक भएको थाहा भयो। दुबैको एउटै कम्पनीमा मृत्यु भएको रहेछ, अनुहार नचिन्ने भएकाले सट्टापट्टा गरी धुनषाको महोत्तरी र महोत्तरीको धनुषामा परेछ। तर, जिउ चाहीँ चिनिने रहेछ। यस्तो पनि हुन्छ।’

उनी थप्छन्, ‘त्यस्तै अर्को विदेशमा मोरङको मान्छेको मृत्यु भएर ल्याएर जलाइसक्यो। त्यो साथीको कम्पनीमार्फत पुर्याएको शव थियो। पछि जलाएको पाँच वर्ष पछाडि त्यो मान्छे कतारकै जेलमा रहेको थाहा भयो। शव जलाइसक्यो, वर्ष पनि कटिसक्यो। त्यसपछि फेरि फोन आयो। त्यो मान्छे को हो थाहा भएन, हामीले त जलाई हाल्यौ, हाम्रो मान्छे जेलमा पो रहेछ, भनेर। जेलबाट आएको उसको फेरि न्वारनलगायत कर्मकाण्ड पूरा गरिएछ। तर, उता जलेको शव कसको हो आजसम्म थाहै भएन। दुर्घटनामा मृत्यु भएर पठाएको शव कस्को हो, विदेशीको पर्यो कि, कसको पर्यो थाहा भएन। त्यो भएर शव रिसिभ गर्दा हामीलाई एकदमै जोखिम हुन्छ।’

शव लिनको लागि काठमाडौंसम्म भाडा तिरेर आउन सक्ने कतिपयको अवस्था पनि हुँदैन। त्यस्ता पीडितलाई भने आफूहरुले वडाको सिफारिसलगायतका कागजपत्र बनाउन सल्लाह दिने गरेको र आफूले एयरपोर्टबाट शव रिसिभ गरेर पुर्याउने गरेको लामाले बताए। शव लिएर गाउँ पुगेपछि पनि पछि आफैलाई अप्ठ्यारो पर्न सक्छ कि भनेर सम्बन्धित मान्छे हो होइन भनेर सबै परिक्षण गराउने गरेको र निश्चित भएपछि शव बुझेको हस्ताक्षर गर्न लगाएर आफूहरु त्यहाँबाट फर्किने गरेको उनले बताए।

एयरपोर्टमा पनि धेरै झमेला सहँदै आएको बताउने लामा भन्छन्, ‘शव एयरपोर्टबाट रिसिभ गर्न पनि धेरै गाह्रो छ, सबै कुरा लिखित रुपमा दिनु पर्छ। त्यो शव भोलिको दिनमा केही भयो भने हामीलाई समाउछन। श्रमले त पूरै जिम्मा हामीलाई दिएको हुन्छ। अर्कोतिर एयरपोर्टमा अइसकेको शव दिनलाई पनि दुई–तीन घण्टा लागाइदिन्छन्। भित्र गएर पनि घुमिराख्नु पर्छ, कहिले कम्प्युटर चलेन, कहिले ह्याङ भयो भन्छन्।’

त्यस्तै, एयरपोर्टमा शव लिन आउने मान्छेको व्यवहार देखेर कहिलेकाहीँ दुःख लाग्ने गरेको बताउने उनी भन्छन्, ‘शवका आफन्तलाई देखेर कतिपय ठाउँमा धेरै दुःख लागेर आउँछ। आफन्तहरु नै शव छुन मान्दैनन्, तपाईंहरु आफै गाडीमा हालिदिनु न, बाक्सामा औषधि के–के हालेको होला, छाला बिग्रिन्छ, पन्जा लगाएका छैनौं, भन्छन्। तपाईँको शव हामीले रिसिभ गर्ने, हातले उठाउने आदि यत्रो वर्षदेखि गर्दै आएका छौं, केही भएको छैन त, भन्दै सम्झाउछौं। हाम्रो डिउटी हो घरसम्म पुर्याउनलाई, तपाईँहरु यहाँ नआएको भए त ठिकै थियो, यताउती मान्छे बोलाएर भएपनि लोड गथ्र्यौं। तर तपाईहरु स्वयम् यहाँ हुँदाहुँदै अर्कै मान्छे बोलाएर लोड गर्न त सक्दिन भन्दासमेत उनीहरु परपर भाग्ने गर्छन्। त्यस्तै, कतिपयले पीडित हौं, हामीले जे भने पनि यिनीहरुले गर्नु पर्छ भन्ने सोच राखेर हामीप्रति अलि नराम्रो व्यवहार गर्ने, हेपेर बोल्ने पनि गर्छन्।’

गाउँसम्म शव पुर्याउन जाँदा कोही मलामीले राम्रो व्यवहार गर्ने गरेको र कसैले भने एकदमै नराम्रो व्यवहार गरेको सुनाउँदै उनी भन्छन्, ‘मलामी आएकाले शव लादा बाटोमा खाना मात्रै नभएर रक्सी, बियरसमेत खाइदिने र ड्राइभरलाई पैसा तिर्न लगाउने गर्छन्। कोही चाहीँ सोझा हुन्छन्, सरले जे भन्नु हुन्छ त्यसै गर्छौं भन्दै गाडी चलाएर जाने ड्राइभरलाई गाह्रोसाह्रो भयो होला भनेर चियाखाजा खानु भनेर पैसा दिनसमेत खोज्छन्। तर उनीहरुसँग हामीलाई खाना खर्च चाहियो, भाडा चाहियो भन्ने माग हुँदैन, हामीले त्यो गर्न पनि मिल्दैन। किनकि हामीलाई त सेवा गरेवापत सरकारबाट वर्षवर्षमा पैसा अइराखेको हुन्छ।’

वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले धेरै कुराहरुमा सुविधा दिदँै आएको छ। तरपनि ती सुविधा बारे जानकारी नभएका वा पीडितलाई अरु पीडा थप्ने काम बिचौलियाहरुले गर्दै आएका छन्। यस्तै कुराहरुप्रति लामा दुखेसो गर्दै भन्छन्, ‘एयरपोर्टमा त हरेक किसिमका मान्छे आएका हुन्छन्। म्यानपावरका कर्मचारीहरु पनि आइराखेका हुन्छन्। श्रम गरेवापत फ्रि सुविधा दिएको हुन्छ तर ५० हजार रुपैयाँ हाम्रो इन्स्युरेन्सबाट काट्छ रे नि?, काट्छ कि काट्दैन भनेर पीडित हामीलाई सोध्छन्। हामी उनीहरुलाई सबै सुविधा पाउनु हुन्छ, एजेन्टले कमिसन खान त्यस्तो भनेको भनेर सम्झान्छौं।’

एयरपोर्टभित्र धेरै किसिमका एजेन्टहरु हुने गरेको बताउँदै उनले भने, ‘उनीहरु त्यसको लागि मात्र बसेको हुँदैन जुन पाउँछन त्यसैमा कमिसन हानिहाल्ने हुन्छन्। शव लान सुविधाको गाडी पाइन्छ भन्ने कुरा थाहा नहुने मान्छेलाई अनेक भनेर भाडाको गाडी मिलाइदिने गर्छन्। पीडितले सुविधाको गाडी छ छैन भनि सोधिखोजी गर्दा विचौलियाले भड्काउने र तिनीहरुको प्रक्रिया धेरै लामो छ, त्यसको लागी तपाईंहरुले दुई दिनसम्म बस्नु पर्छ बरु पैसा तिरेर अहिल्यै लानु भनिदिन्छन्। एकदिन किन खाडी मुलुकको लास लगेको हाम्रो सुविधाको गाडी त्यत्तिकै खाली बसेको छ भन्दा त्यो गाडीको ड्राइभरले मलाई एजेन्टले बोलाएर आएको हो, पैसा दिन्छ भन्यो। एजेन्टहरुले श्रमिकका परिवारलाई यसरी पनि ठगिराखेका हुन्छन्। एजेन्टले हाम्रो प्रोसेसलाई लामो देखाइदिएर अत्याइदिने र श्रमिकको परिवारलाई भाडा तिर्न लगाएर लास पठाइदिने गर्छन्।’

काम भनेको यस्तै हो। दुख पनि छ, सुख पनि छ। सबै पीडित राम्रै हुन्छ भन्ने पनि छैन, सबै पीडित नराम्रो हुन्छ भन्ने पनि छैन। तरपनि पीडित हो भनेर आफूहरु सहेर काम गर्ने गरेको उनी सुनाउछन। बोर्डप्रति कुनै गुनासो छ कि भनि सोध्दा उनले भने, ‘त्यो विषयमा अहिले चलिराखेको दर १०–१२ वर्ष अघिदेखिकै हो। खासमा प्रतिशतको हिसाबले दुई–दुई वर्षमा बढ्नु पर्ने हो। हुनत दर नबढाउनुको कारण काममा प्रतिस्पर्धा भएर होला। त्यसैले हामीले पनि दर बढाउनको लागि पहल गरेका छैनौं। अर्कोतिर सेवा गर्ने काममा पैसा बढाइदे भन्न पनि मिलेन।’

उनी थप्छन्, ‘यसमा काम गर्दा हामीलाई घाटै चाहीँ भएको छैन। तर कुनैकुनै वर्ष आफ्नो लगानी अनुसार नाफा भएन भन्ने हुन्छ। मार्जिन कुनै बेलामा ७०–८० प्रतिशत हुन्छ भने कुनै बेला २०–२५ प्रतिशतमा चित्त बुझाउनु पर्छ। सधैं गरिराख्नु पर्ने काम भएकाले त्यस्तो कुरालाई हामी ध्यान दिदैनौं। किनकि यो काम कहिले कम कहिले धेरै हुने हो।’

कहिले काहीँ महिनामा १६–१७ वटा शव सम्बन्धित ठाउँमा पुर्याइराखेको बताउने उनले गाउँमा शव पुर्याउदा वर्षाको समयमा भने धेरै गाह्रो हुने जनाए। बर्षाको समयमा आफ्नो दुई वटा गाडीसमेत बगाएको तर त्यसबेला मान्छेलाई चाहीँ केही नभएको बताउँदै उनले पछि गाडी निकाल्दा कामै नलाग्ने भएको र इन्स्युरेन्स गरेको पैसासमेत गरेजति नपाएको गुनासो गरे।

केही समयअघि कोरोनाका कारण मलेसियामा जम्मा भएर बसेका शवहरु आएको बेला चारवटै कम्पनीको सबै गाडी प्रयोग भएको उनले जनाए। उनका अनुसार एउटा गाडीले लामो दूरीमा शव पुर्याएर फर्कदा तीन–चार दिन लाग्ने हुन्छ। र, त्यसै समयमा अर्को शव आयो भने अर्को गाडीको व्यवस्था हुनै पर्ने हुन्छ, जसले गर्दा सबै कम्पनीको २० वटै गाडी बोर्डमा नियमित रुपमा दर्ता गराउनै पर्ने हुन्छ।

चारवटा कम्पनीले वर्षमा कम्तिमा पनि सात सयदेखि ११ सय वटा शव बोक्ने गरेको उनले जानकारी गराए। उनले भने, ‘शव बोक्ने काममा हामी चार जनाकै कम्पनीले अलगअलग समस्या झेलेका छौं। सबै कुरालाई राम्रो भए पनि नराम्रो भएपनि सधैभरि हामीले झेरिराख्ने होइन भन्ने सोच्छौं। ठाउँमा लास पुर्याएपछि त सकिइगयो नि पीडितले हामीलाई कराइराखोस भन्ने लाग्छ। सक्दो आफ्नो तर्फबाट सम्झाउछौं, सम्झियो भने सम्झिइ गयो सम्झिएन भने एकछिन कराउछ अनि आफै चुप लाग्छ।’

यो कामले गर्दा दशैं तिहारलगायतका चाडवाड कहिल्यै पनि मनाउन नपाएको उनले गुनासो गरे। साउन लागेपछि अरब देशमा इदलगायतका चाडवाड सुरु हुने भएकाले त्यो समयमा मुसलमानको देशबाट शव आउन बन्द हुने र उता जाम भएर बसेको शव यता दशैंतिहार तिर आउने हुनाले आफूले मुख्य चाडपर्व मनाउन नपाएको बताए। उनले भने, ‘त्यो बेला अरु ड्राइभरहरु पनि छुट्टिमा जाने भएकाले आफू भने अनिवार्य काठमाडौंमा बस्नुपर्ने बाध्यता हुन्छ। त्यस्तो बेलामा आफै बसेर भएपनि काम गर्नु पर्छ। लास आउदैछ भनेपछि म छुट्टीमा छु भोलि गरौं न भन्न पनि मिलेन।’

यो काम पनि हो र धर्म कमाउने अवसर पनि हो तर मान्छेहरुले लास बोक्दाखेरी यिनीहरुले टन्नै पैसा कमाइहाल्छ भन्ने सोचाइ राखेको गुनासो गर्दै उनी भन्छ, ‘वैदेशिक रोजगारीका लागी खाडी मुलुक गएका सबैलाई चाहे वैधानिक होस या अवैधानिक उसले गाडीको सुविधा भने निःशुल्क पाउने व्यवस्था सरकारले गरेको छ। श्रमले हामीलाई अवैधानिक भए पनि खाडी मुलुकबाट आएको शव सम्बन्धित ठाउँमा पुर्याउनु भनेको हुन्छ।’

शव लिन आएका आफन्तलाई एयरपोर्टमा शव आएर कागज हातमा परेपछि मात्र फोन गर्नु भन्दा पनि ड्राइभरलाई सुत्नै नदिने गरी आधा–आधा घण्टामा फोन गरेर हैरान पार्ने गरेको उनले बताए। उनले भने, ‘त्यस्तो बेलामा फोन अफ गर्न पनि मिलने, त्यसले गर्दा रातभरि सुत्न पनि सकिँदैन। निद्रा पुग्दैन, लामो बाटो जानुपर्छ भन्दा पनि बुझ्दैनन र फोन गरी राख्छन्। हामीलाई अनेक दुःख छ।’

उनले भोगेको दुःख यसरी पोखे, ‘एक पटक वर्षाको समयमा ताप्लेजुङको शव लादा बाटोमा तीन–चार जना चढेछन्। मैले ड्राइभरलाई लामो बाटोमा शवसँग दुई जनाभन्दा बढी नहाल्नु भनेको थिए। त्यतिबेला ड्राइभर पनि नयाँ थियो। शव लिन आउनेले दुई चार हजार दिन्छु भनेर फकाए होला र इलामबाट मान्छे हालेछ। पछि पाँचथरको फिदिममा भाइको लाससँगै दाईले गाडीबाटै फालहानेर आत्महत्या गरे भनेर खबर आयो। अनि तुरुन्तै गएर बुझ्दा पछाडि गाडीमा सुतिराखेको मान्छे लडेको रहेछ, उसले रक्सी पनि खाएको रहेछ। हामफालेको चाहीँ होइन रहेछ। त्यो घटना घटेपछि ड्राइभरलाई ३५ दिन थुनामा राख्यो। त्यतिबेला बोर्डले पनि कुनै सुनाई गरिदिएन, पहिल्यै भनेको हुँदै हो जे गर्नु पर्ने हो आफै समाल भन्यो। अनि कम्पनीका सबै साथीभाई गएर पीडितलाई ड्राइभरले पनि जानीजानी मान्छे हालेको होइन, खास गल्ती तपाईहरुको छ भनेपनि पनि कानुनी रुपमा बस्नैपर्ने भएकाले ड्राइभरलाई ३५ दिन थुनियो। र, पीडितलाई पाँच लाख रुपैयाँ दिएर गाडी लिएर आयौं।’

त्यसैगरी, पशुपतिमा जलाउने पैसा नभएर गाडीबाट चार घण्टासम्म शव झार्न नमानेको उनले सुनाए। त्यसबेला पनि गएको ड्राइभरलाई दुई हजार चन्दा दिनु र अरु त्यहाँ भएका मलामीसँग पैसा उठाएर लास जलाउनु भन्ने सल्लाह दिएपछि भने शव झारेर दाहसंस्कार गरेको उनले बताए। यस्ता कुराहरु हामीले कत्ति भोगेका छौं कत्ति, तर के गर्ने सबैलाई सुनाउँदै हिड्ने कुरा आएन भन्दै उनले शव लिन आउने धेरै पीडितलाई आफूले व्यक्तिगत रुपमा आर्थिक सहयोगसमेत गरेको उनले सुनाए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो