ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजना गरिँदै

डिसी नेपाल
१९ चैत २०७७ १६:२८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन–२०२१, सिजन वान’ आयोजना गर्न लागेको छ।
नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सिंगिङ आइडल आयोजना गर्न लागिएको हो।

युवा विभागका संयोजक राज रेग्मीका अनुसार यस प्रतियोगितामा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअल माध्यममार्फत् सहभागी हुनसक्ने छन्। सार्क मुलुक बाहेकका, विश्वभरका ६ वटा क्षेत्रीय समिति अन्तर्गत गैरआवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ।

प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन भने ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति भएको खण्डमा प्रति एक राष्ट्र बराबर एक प्रतियोगी थप हुनेछन्। कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गर्ने छन्।

प्रतियोगी छनोट प्रक्रिया:
प्रतियोगितामा तीन चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ। पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ। डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई र रेकर्डका लागि आयोजक कमिटिलाई पनि सीसी गरी पठाउनु पर्नेछ।

प्रत्येक क्षेत्रीय समितिले छनोट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना rycmiddleeast@nrna.org र rcmiddleeast@nrna.org मा आगामी १० अप्रिलसम्ममा पठाउनु पर्नेछ।

आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनोट गरी ओपनिङ राउण्डमा लैजाने छ।

छनोट भएका ३७ जना प्रतियोगीहरूको नामावली आगामी अप्रिल १३ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने छ।

ओपनिङ राउन्डलाई तीन चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनोट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गराउने नियम तय भएको छ।

ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउनेछन्।

फाइनल राउन्डलाई तीन चरणमा विभाजित गरिनेछ। जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट चार जना प्रतियोगीहरू बाहिरिने छन्। नौ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउने छन्।

दोस्रो चरणबाट थप चार जना प्रतियोगी बाहिरिने र अन्तिममा पााच जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने छन्। प्रतियोगीले ग्राण्ड फिनालेमा एक–एक वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा एक जना प्रतियोगी बाहिरिने र चार जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार होस्ट कन्ट्रीको भूमिकामा रहेका छन्। एनआरएनएका अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार रहेको सो प्रतियोगिताको मुख्य सहकार्य क्षेत्रीय संयोजक प्रविण गुरुङले गर्ने छन्।

आईडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ तय गरिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ। प्रतियोगिता आगामी अप्रिल १६ र १७ तारिख हुनेछ।

कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोजकुमार श्रेष्ठ(गोर्खाली) र राजेन्द्र अर्याल(जोन) एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्य गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *