जहाज होल्डिङ समस्या शून्यमा झार्ने गरी काम अगाडि बढाउन मन्त्री ढकालको निर्देशन

डिसी नेपाल
२२ चैत २०७७ १६:४६

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नृु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन्।

आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उनले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन आग्रह गरे। उनले नेपालमा इन्धनको मूल्य धेरै भएको भन्दै अन्तर्राष्ट्रिय स्तरको मूल्य बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिए। जहाज होल्ड हुँदा नेपालको हवाई क्षेत्रको बारेमा गलत सन्देश समेत जाने उनको भनाई छ।

उनले विमानस्थलमा पहँचको आधारमा मान्छे प्रवेश गराएर भिआइपी कक्ष भिड कक्ष जस्तो भएको बताए। यस्तो नगर्न र नगराउन उनले सबै पक्षलाई निर्देशन दिएका छन् ।

मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने दावी गरे। उनले भने त्रिभुवन विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक छ। यो विमानस्थल व्यवस्थित भयो भने देशका अन्य विमानस्थलको सेवा आफै चुस्त हुन्छन्। त्यसैले पनि यहाँको व्यवस्थापन उदाहरणीय हुन जरुरी छ।’

सेवा दिने कर्मचारीले गर्ने व्यवहार र विमानस्थलको शौचालय देशको स्वाभिमानसँग जोडिएको बताउँदै मन्त्री ढकालले त्यसमा विशेष ध्यान दिएर काम गर्न सबैलाई आग्रह गरे।

कोभिड–१९ ले सबैभन्दा धेरै मारमा परेका क्षेत्रमध्येको पर्यटन क्षेत्र पनि रहेको उनले बताए। पर्यटक आवागमन सम्बन्धी केही खुकुलो नीति ल्याउने अन्तिम तयारीमा रहेको अवस्थामा छिमेकी मुलुक भारत लगायतका देशहरुमा देखिएको कोरोना भाइरस संक्रमणको अर्को लहर फैलिएका कारण यथास्थितिमा केही परिर्वतन नहुने उनको भनाई छ।

आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै मन्त्री ढकालले मातहतका सबै पक्षलाई सुझाव र सल्लाह दिन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *